भूमि अधिकार मञ्चको तीनबुँदे माग

आदर्श समाज सम्वाददाता
असार १४, २०७९
Bhumi

पोखरा । भूमि अधिकार मञ्च कास्कीको प्रतिनिधि मण्डलले पोखराका ३३ वटै वडाका वडा अध्यक्षहरुलाई आफ्नो माग पत्र पेश गर्ने अभियान सुरु गरेको छ ।

सुरुमा पोखरा महानगर पालकिाका मेयर धनराज आचार्यलाई आफ्ना समस्या र मागप्रति ध्यानाकर्षण गराएको मञ्चले अब हरेक वडाका वडा अध्यक्षलाई पनि आफ्नो वडाका समस्या समाधान गर्न दबाब दिने जनाएको छ ।

यसका लागि समस्या स्मरण गराउँदै तीनबुँदे माग पत्र पेश गर्ने अभियान सुरु गरेको मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए । पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मरासिनीलाई माग पत्र हस्तान्तरण गरेर अभियानको सुरु भएको मञ्च कास्कीका संस्थापक अध्यक्ष एवं प्रदेश सदस्य रामबहादुर लामिछानेले बताए ।

मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ सहित मञ्चका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य रामबहादुर लामिछाने, केन्द्रीय सदस्य कन्या गुरुङ, गण्डकी प्रदेश सदस्य टेकबहादुर पुन, जीतबहादुर मुक्त्तान, कास्की जिल्ला सदस्य नंनबहादुर श्रेष्ठ, पोखरा महानगर अध्यक्ष लेखमाया थापा, उपाध्यक्ष भीम दर्जी लगायतको प्रतिनिधि मण्डलले पोखरा वडा ९, १०, १५, १, ६, १६ र १९ को कार्यालयमा गई वडा अध्यक्षहरुलाई मागपत्र पेश गरेका हुन् ।

पत्रमा पोखरा महानगरपालिका र ३३ वटै वडाहरुमा राष्ट्रिय भूमि आयोगको सहजीकरण समितिमा मञ्चको तर्फबाट १ महिला र १ पुरुषलाई मनोनीत गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई भोगाधिकार आधारमा सोही स्थानमा जग्गाको नाप नक्सा गरी निस्सा उपलब्ध गराई पुर्जासहितको व्यवस्था गर्न र २०६८ सालमा नेपाल सरकारले गठन गरेको सुकुमबासी समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीको छानविन गरी उक्त वस्तीहरुमा जग्गा नाप नक्सासमेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुँदा उक्त प्रमाणलाई आधारमानी निजहरुलाई सोही स्थानमा श्रेस्ता कायम गरी पुर्जा वितरण गरियोस् भन्ने माग पत्रमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width