जगत कल्याणको दुग्ध प्रशोधन केन्द्र सञ्चालन

आदर्श समाज सम्वाददाता
असार ११, २०७९
Jagatkalyan Dughda Sahakari

लेखनाथ । जगत कल्याण दुग्ध उत्पादक सहकारी संस्था पोखरा ३० खुदीले दुग्ध प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । विश्व बैंकको ऋण सहयोगमा लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको तर्फबाट ५० प्रतिशत रकम अनुदान र सहकारी र किसानहरुको ५० प्रतिशत लगानीबाट प्रशोधन केन्द्र सञ्चालमा ल्याइएको हो ।
जम्मा ६२ लाख लागतमध्ये आयोजनाको ३१ लाख रुपैयाँ अनुदान र बाँकी ३१ लाखमा किसानहरुको २० प्रतिशत लगानी र महालक्ष्मी विकास बैंकको ३० प्रतिशत ऋण लगानी रहेको सहकारीका अध्यक्ष कलाधर लामिछानेले जानकारी दिए ।
सहकारीमार्फत् किसानहरुबाट दुग्ध संकलन गरी विभिन्न उद्योगहरुलाई बिक्री वितरण गर्दै आएको सहकारीले अब भने आफ्नै प्रशोधन केन्द्रबाट दूध, दही, घिउ, पनिर, खुवा, आइसक्रिमलगायत दुग्धजन्य पदार्थ उत्पादन गरी बिक्री वितरण गर्नेछ ।
संकलन गरिएको दुध उद्योगलाई बिक्री गर्दा किसानहरुले समयमै पैसा प्राप्त गर्न नसक्ने एवं सहकारीसमेत समस्यामा पर्ने सक्ने अवस्था आएपछि सहकारीको आफ्नै प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष लामिछानेले बताए ।
प्रशोधन केन्द्रको बिहीबार निरीक्षण गर्दै गण्डकी प्रदेश भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. हरिबहादुर केसीले उत्पादनमा वृद्धि गरी आत्मनिर्भर उन्मुख गराउने प्रदेश सरकारको नीति रहेको बताउँदै समग्र कृषिको उत्पादन, बजारीकरण र किसान केन्द्रित कार्यक्रमहरु ल्याइने जानकारी दिएका थिए ।
प्रशोधन केन्द्र सञ्चालनमा आएपछि आफूहरुको दुग्ध उत्पादनले राम्रो बजार पाउनुका साथै उचित मूल्यसमेत पाउने किसान तिलकुमारी अधिकारीले बताइन् । सहकारीका सचिव कृष्णप्रसाद ओझाले संस्थाको गतिविधिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा विश्व बैंकका प्रतिनिधि पूर्णबहादुर क्षेत्री, आयोजनाका निर्देशक डा. उमेश दाहाललगायतले बोलेका थिए । केन्द्रबाट उत्पादित वस्तुहरुको बजार व्यवस्थापनका विषयमा पानी पँधेरो ट्रेड लिंकका सञ्चालक कुलदीप भण्डारीले आफ्ना १८ वटा आउटलेटबाट बजारीकरण गरिने जानकारी दिंदै गुणस्तरमा कुनै सम्झौता नर्गनका लागि सुझाव दिएका थिए ।
केन्द्रबाट उत्पादन परिक्षण गरिसकिएको र व्यावसायिक रुपमा यथाशीघ्र उत्पादनहरु उपभोक्तामाझ आउने बजार संयोजक रामहरि ओझाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width