कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा निर्वाचित युवराज कुँवर दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको तर्फबाट सोही गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका छन् । उनी केही महिना अगाडिमात्रै उनी कांग्रेस महाधिवेशन प्रतिनिधि तथा जिल्ला उपसभापति निर्वाचित भएका थिए । २०४६ सालको जनआन्दोलनसँगै राजनीतिमा क्रियाशील कुँवरसँग क्षेत्रीय सचिवदेखि क्षेत्रीय उपसभापतिको जिम्मेवारीसमेत बहन गरेको अनुभव छ । उनी कुँवरसँग आसन्न स्थानीय तह निर्वाचन सम्बन्धमा आदर्श समाज प्रतिनिधिले गरेको कुराकानी :
गाउँपालिका अध्यक्षको ५ वर्षे कार्यकालमा के के काम गर्नुभयो ?
जब नेपाली कांग्रेसले २०७४ सालमा मेरो टिमलाई टिकट दियो । त्यसपछि निर्वाचन जित्यौं । त्यस पूर्व अन्नपूर्ण गाउँपालिका १ देखि ११ वडासम्मको अवस्था अत्यन्तै जटिल थियो । भूकम्पबाट प्रभावित देशभरिको अवस्था अन्नपूर्णमा पनि थियो, नाकाबन्दीको प्रभाव पनि राम्रै थियो । त्यसका बाबजुद पनि जब निर्वाचित भयौं । त्यसपछि विकास र जनताका न्यूनतम आवश्यकतामा अगाडि बढयौं । अन्नपूर्ण गाउँपालिकाका वडा केन्द्रसँग बाटो पुर्याउन सफल भयौं । सुरुको १ वर्ष सिक्दै कामको सुरुआत गरेका थियौं । दोस्रो वर्ष काम गर्न जब हामी बामे सरेका थियौं । कोभिडको प्रभाव पर्यो । त्यसबेला पनि अन्नपूर्णका कुल २३ हजारमध्ये १८ वर्ष माथिका जनता सबैलाई कोभिड खोप लगाउन सफल भयौं । ५ वर्षको अवधिमा कुल १८ किलोमिटर सडक ढलान पनि गर्यौं । नागडाँडा स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शड्ढयाको अस्पताल निर्माण कार्यको सुरुआत पनि गर्यौं । अस्पताल निर्माणबारे धेरैले धेरै कुरा गर्न सक्छन् । मेरो सरकारले ल्याएको हो भन्न पनि भ्याउँछन् । यो अस्पताल बनाउने भन्ने २०७७/०७८ को अर्थमन्त्रालयबाट निस्कने रातो बुकमा थियो । यो कुनै पार्टीले ल्याएको होइनन्, गाउँपालिकाको पहलमा आएको हो, कसैले दाबी नगरे हुन्छ । म त्यसको प्रतिवाद गर्न पनि सक्छु ।
अन्नपूर्ण गाउँपालिका मूलतः पहाडी बेल्ट हो । त्यहाँ पानीको ठूलो समस्या थियो । यो समस्या समाधानका लागि भइराखेको स्रोतलाई नै व्यवस्थापन गरी करिब ९० प्रतिशत घरकुरियामा १ घर १ धारा सम्पन्न भइसकेको छ । आगामी ५० वर्षसम्मको दीर्घकालीन योजनाका लागि वडा १ देखि ७ सम्म समेट्ने गरी बुहद् लान्द्रुक खानेपानी योजना अब चाँडै नै अगाडि बढ्दै छ ।
अन्नपूर्णको पर्यावरण, शिक्षा, स्वास्थ्य, पर्यटन, विकास देखेर यहीँ बसौं बसौं लाग्ने बनाउन प्रयासरत रहनेछु
११ वटै वडामा स्वास्थ्य इकाइ बनेका छन् । ती इकाइबाट स्वास्थ्यकर्मीले सेवा दिन थालिसकेका छन् । ५ वर्षको कार्यकालमा कुल १ सय १० नयाँ कक्षाकोठामात्रै बनेनन्, १४ माविमा आइसिटीदेखि विज्ञान प्रयोगशाला पनि सम्पन्न गरिएको छ । हामीहरु आइसकेपछि घान्द्रुक, तिखेढुंगाजस्ता ठाउँमा पनि १० जोड २ कक्षा पठनपाठन सुरुआत गरेका छौं । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयमार्फत् कृषि उत्पादनका लागि भवन शिलान्याससहित बाली विज्ञानको पठनपाठन पनि सुरु भइसकेको छ । १ घर १ फलफूल, १ विद्यार्थी १ फलफूल अभियानअन्तर्गत झण्डै साढे २ लाख बिरुवा वितरण पनि गर्यौं ।
औषधीको रुपमा समेत प्रयोग गर्न मिल्ने कुरिलोका कुल ३५ हजार बिरुवा घरघरै लगेर रोपण गरियो । प्रत्येक वर्ष आलुको बिउ वितरण गरेका छौं । यस वर्षमात्रै कूल २८ हजार केजी बिउ आलु वितरण गरेको छु । कोदोलगायत पुराना खाद्यवस्तुलाई संरक्षण गर्दै आत्मनिर्भरतातर्फ गाउँपालिका गइसकेको छ । मासुजन्य पदार्थमा पालिकालाई आत्मनिर्भर बनाएको छु । हिजो प्रत्येक गाउँवासी पोखराबाट गाउँ फर्कंदा प्लास्टिकमा तरकारी ल्याउने गर्नुहुन्थ्यो । अहिले त्यो अवस्था छैन । तरकारीमा पनि करिब ७० प्रतिशत आत्मनिर्भर भइसकेका छौं । पर्यटन विकासका लागि म्याराथन प्रतियोगिताको सुरुआत पनि भएको छ ।
आसन्न निर्वाचनमा तपाईंका एजेन्डाहरु के के छन् ?
सर्वप्रथम गाउँपालिकाबाट विस्थापन भएका तरुण, युवा साथीहरुलाई फर्काइ विभिन्न सीपमूलक तालिम मार्फत् उनीहरुलाई रोजगारीको व्यवस्थापन गर्नु छ । हामीसँग खेतीयोग्य तथा कतिपय बाँझो जमिन पनि छ । ती युवालाई बाख्रापालन, पशुपालन तथा तरकारी खेती तालिम दिनु छ । कुल ८ सयदेखि ८ हजार ९१ मिटर उचाइसम्म फैलिएको गाउँपालिकामा ३ किसिमको हावापानी छ । हिमाली बेल्टमा खसी, बोका, चौरी पाल्ने तथा पर्यटन प्रवद्र्धन गर्ने योजना छ । पहाडी बेल्टमा फलफूल लगाउने, मैदान एरियामा तरकारीलगायत अन्न उत्पादन गरेर युवालाई व्यवस्थापन गर्नु छ ।
अन्नपूर्णमा धेरै योजनालाई पूर्णता दिनु छ । १५ शैयाँको अस्पताल निर्माण, कुल ४४ करोड लगानीको बृहत् लान्द्रुक खानेपानी योजना, टोल स्तरमा मोटर बाटो लैजान सहजीकरण गर्नुछ । शिक्षा खोज्न बाहिर जान नपरोस् भनेर क्याम्पस (डिग्री) सम्मको पढाइ त्यही व्यवस्थापन गर्नु छ । बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान भनेर मात्रै भएन, धेरै विज्ञानहरु थप्नु छ । पर्यावरणीय हिसाबको लेखाजोखा गरी अन्य थुपै सडकहरु निर्माण गर्नु छ । फेवाताल जोगाउनु पनि छ । त्यो पोखरा महानगरपालिकाले हेर्दैन । हामीले नै जोगाउनुपर्छ । करिब ७० प्रतिशत फेवा पुर्ने अँधेरीखोलाको पहिरो व्यवस्थापन गर्नुछ । यसका अलवा अन्य धेरै कामहरु गर्नुछ ।
एकपटक अध्यक्ष भइसकेको तपाईंलाई अन्नपूर्णवासीले भोट किन दिने ?
कास्कीमा ५ स्थानीय तह छन् । यसअघि ४ पालिकाको मूल नेतृत्व एमालेले जितेको छ । अन्नपूर्णको अध्यक्षमात्रै कांग्रेसले जितेको हो । अन्नपूर्णमा गरिएको विकासको मोडल हेनुहोस् ।कांग्रेसले अगाडि सारेको विकासको मोडल र अन्य पार्टीले जितेको पालिकाको विकासको मोडलबीच तुलना गर्नुहोस् । कति बिग्रिएको र भत्किएको छ त्यहाँ । त्यही भएर पुनः नबिग्रियोस्, नभत्कियोस् भनेर कांग्रेसलाई मत दिने हो । यसअघिका संघीय र प्रदेश सरकारको साढे ३ वर्षको अवस्था र तत्कालीन बेलाको देशको आर्थिक मन्दीको अवस्था तपाईंले पनि देख्नुभएको छ ।
१ गिलास पानी एउटैले खाने होइन, अर्को गिलास पनि थप्ने हो । गिलासको पानीमा झगडा गर्ने त हुँदै होइन । बरु त्यसमा १० गिलास पानी थपेर ११ जनाले पिउने सिद्धान्त कांग्रेसको हो । नेपालको परिवेश र माटोलाई कांग्रेस र विपीको समाजवादभन्दा अरुले व्यवस्थापन गर्न सक्दैनन् । त्यसका लागि पनि नेपाली कांग्रेसको रुख चिन्हमा जनताले अत्यधिक मत दिन्छन् भन्ने लाग्दछ । व्यक्तिगत मलाई भोट दिने होइन, कांग्रेसलाई मत दिने हो । म त पार्टीको एउटा प्रतिनिधिपात्र मात्रै हुँ ।
कतिपय नेता सहरमा बसेर गाउँको राजनीति गर्नुहुन्छ । त्यस्ता नेतालाई तपाईं के भन्नुहुन्छ?
नेपाली केही नेता भनाउँदा साथीहरु महलमा बसेर गरिबमाथि राजनीति गर्नुहुन्छ । हामी झुपडीमा बसेर झुपडीको राजनीति गर्दछौं । म धनीको राजनीति गर्दिनँ । नवधनाढ्यहरु सहरस्थित महलमा बस्नुहुन्छ । तर गरिबको दुवाई दिनुहुन्छ । उहाँहरुले हालसम्म के गर्नुभयो त गरिब र दलितका लागि ? बरु अन्नपूर्ण गाउँपालिकाले ५ वर्षको अवधिमा २ सयभन्दा बढी गरिबका लागि घरको व्यवस्था ग¥यो । हामीले उहाँहरुलाई घरघरै पानीको धारोको व्यवस्था गरिदिएका छौं । घरमै पानी आएको छ, तरकारी लगाएर खानोस् भनेर करिब १ हजार दलितको घरमा म आफैं गएँ पनि । न्यून आय भएका किसानलाई साग लगाएर खानुहोस् भनें पनि । तपाईं तिउन, गोलभेंडा आदि तरकारी यही उत्पादन गरी खानुहोस् पोखराबाट किनेर ल्याएर नखानुहोस् भनें पनि । म पनि न्यून आय भएको मान्छे हुँ । मलाई महलमा बसेर झुपडीको राजनीति गर्नु छैन ।
चुनाव नजिकिएको छ, चुनावी अभियान कसरी अगाडि बढाउनु भएको छ ?
चुनावी रणनीति त पार्टीले बनाउँछ । म त सो पार्टीको एउटा प्रतिनीधि पात्र मात्रै हुँ । म, उपाध्यक्षका प्रत्यासीलगायतले रुख चिन्हमा भोट दिनुहोस् भन्दै हिँडेका छौं । पार्टीले नै चुनावी घरदैलोलाई व्यवस्थापन गरेको छ । म सम्पूर्ण मतदातालाई नेपाली कांग्रेसको रुख चिन्हमा मत दिएर आगामी ५ वर्षसम्मका लागि पनि गाउँपालिकाको नेतृत्व गर्न अवसर दिनुहुन्छ भन्नेमा पूर्ण रुपमा विश्वस्त छु । यस बीचमा अन्नपूर्णलाई नेपालकै बस्न लायक गाउँपालिका बनाउने इच्छा, आकांक्षा तथा सपना मेरो छ । यहाँबाट अमेरिकालगायत विकसित देश जाने नेपालीले पनि अन्नपूर्णको पर्यावरण, शिक्षा, स्वास्थ्य, पर्यटन, विकास देखेर आफ्नै गाउँपालिका बसौं बसौं लाग्ने बनाउन म प्रयासरत रहनेछु ।
Related News
सम्बन्धित समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
hero news full width
मुख्य समाचार
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१