पोखरा । शिशुलाई काखमा च्यापेर देवी विक यतिखर चुनावी प्रचारमा होमिएकी छन् । कास्कीको मादी गाउँपालिका २, ताङतिङकी देवी स्थानीय तह चुनावको उम्मेदवार हुन् । गत महिनामात्र सुत्केरी भएकी उनलाई शिशुको स्याहारसुहार गर्नु त छँदैछ, दलित महिला सदस्य उम्मेदवार भएकोले मतदातासमक्ष नपुगी भएको छैन ।
मादी गाउँपालिका वडा २, ताङतिङकी देवीलाई कांग्रेसले दलित महिला सदस्य उम्मेदवार बनाएको हो । सुत्केरी भएको एक महिना नपुग्दै उनी चुनावी प्रचारमा होमिएकी हुन् । एकमहिने शिशुलाई एउटा हातले अडेस दिंदै अर्को हातले भोटको पर्चा बाँड्दै बित्छ, अचेल उनको दैनिकी । मादी–२ मा पर्ने घ्याम्राङ, सेतिखोला, रोयाफाँट लगायत गाउँ डुल्दा बच्चा साथैमा हुन्छ । र, ताङतिङकै वरपरका घर डुल्दा परिवारका सदस्यले सघाउँछन् ।
वैशाख ३० मा हुने चुनावका लागि वडामा १ जना दलित महिला सदस्य राख्नुपर्ने बाध्यकारी व्यवस्था छ । प्लस टु सकाएकी २४ वर्षीया देवी कांग्रेसकी सक्रिय कार्यकर्ता भएकोले टिकट पाएकी हुन् । अवसर पाए गाउँको विकास गर्छु भन्ने सोच राखेर चुनावमा होमिएको उनले बताइन् ।
यसअघिको स्थानीय तह चुनावमा मादी २ मा नेकपा एमालेले वडामा नेतृत्व लिएको थियो । एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो वडामा महिला र दलितका लागि सोचेजस्तो काम गर्न नसकेकाले आफै यो पटक नेतृत्वमा पुग्न चाहेको उनको धारणा थियो ।
चुनावी प्रचारमा जाँदा गाउँको नजिकै भए बच्चालाई छाडेर जाने तर धेरै नै समय लाग्ने स्थानमा बोकेरै हिंड्ने गरेको उनले बताइन् । वडा सदस्य जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्न र महिलाको समस्याप्रति ध्यान दिने देवीको प्रतिबद्धता छ । उनको आत्मविश्वास र साहसबाट गाउँले प्रभावित भएको वटाध्यक्षका उम्मेदवार भोजबहादुर गुरुङले बताए ।
एक महिनाकी सुत्केरी देवी विक मादी २ मा दलित महिला सदस्यको उम्मेदवार हुन्
‘म अहिले एक महिनाकी सुत्केरी हुँ । हजुरहरूले यस्तो सुत्केरी मान्छे किन उठेको होला नभनिदिनु होला,’ उनले भनिन्, ‘बच्चा रुँदा गाह्रो त हुन्छ तर म केही गर्छु भनेर आएकी छु । म गाउँ र टोल विकासका लागि अगाडि सरिरहेकी छु ।’
अघिल्लो निर्वाचनमा मादी २ अध्यक्षमा नेकपा एमालेबाट एकजंग गुरुङ निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवार भोजबहादुर गुरुङलाई १ सय ३ मतले पराजित गरेका थिए । एकजंगले ३ सय ९९ मत ल्याउँदा भोजले २ सय ९६ मत प्राप्त गरेका थिए । भोज अहिले पनि वडाध्यक्षका उम्मेदवार दोहोरिएका छन् ।
मादी २ मा मतान्तर धेरै नभएकोले माहोल कांग्रेसतर्फ भएकोले आफूहरूले जित्ने अध्यक्षका उम्मेदवार भोजबहादुर गुरुङले दाबी गरे । ‘यसअघिको नेतृत्वले उल्लेखनीय काम नगरेकाले मतदाता एमालेको नेतृत्वबाट रुष्ट छन्,’ उनले भने, ‘यो पटक हामीले जित्छौं, अनि देवीजस्ता धेरैको महिलाको सपना पूरा हुन्छ ।’
मादी गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फबाट कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका लालबहादुर गुरुङ उम्मेदवार छन् । गठबन्धन नगरिएको मादी २ मा भने कांग्रेसका भोजबहादुर गुरुङ अध्यक्षसहित सदस्यमा राम गुरुङ, कृष्णप्रसाद सापकोटा, महिला सदस्य मुहानकुमारी गुरुङ र दलित महिला सदस्य देवी बिक सबै कांग्रेसबाट चुनावी घरदैलोमा जुटेका छन् ।
उता, एमालेबाट गाउँपालिका अध्यक्षमा शिवबहादुर गुरुङ ‘महेन्द्र’ र उपाध्यक्षमा कल्पना गुरुङ प्रतिस्पर्धामा छन् । राप्रपाबाट अध्यक्षमा लीलामोहन कुइँकेल र उपाध्यक्षमा सरला पौडेल लगायतले उम्मेदवारी दिएका छन् । मतदान मिति नजिकिंदा उनीहरु पनि घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । गाउँपालिकामा १२ वडा छन् । यसअघि गाउँपालिका अध्यक्षमा एमालेका वेदबहादुर गुरुङ श्याम र उपाध्यक्षमा विष्णुमाया आचार्य पौडेलले जितेका थिए ।
Related News
सम्बन्धित समाचार
वर्ष खेलाडीको चर्चा
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
राेहितलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१