राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी

साधन राम्जाली
असाेज १२, २०७८
khhelkud (2)

म्याग्दी, १२ असोज । गण्डकी प्रदेशमा यस वर्ष हुने नवौैं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थालिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी फागुनमा प्रतियोगिता सञ्चालन गर्ने प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको हो ।

परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले पहिलो चरणमा खेल पूर्वाधार, प्रशिक्षक, रेफ्री लगायत जनशक्तिको अवस्थाको स्थलगत अध्ययन सुरु गरेको जानकारी दिए ।

उनीसहित गण्डकी प्रदेश खेलकुद परिषद् उपाध्यक्ष भोजबहादुर गुरुङसहितको टोलीले मंगलबार म्याग्दी, बागलुङ, पर्वतका खेलमैदान र कवर्ड हलको निरीक्षण, जिल्ला खेलकुद विकास समिति र खेल संघका पदाधिकारीसँग छलफल गरेको छ । कुन जिल्लामा कुन खेल सञ्चालन गर्न उपयुक्त हुन्छ ? भन्ने पहिचानका लागि राष्ट्रिय रेफ्री, खेल संघका पदाधिकारी र प्राविधिक टोलीसहित यसअघि लमजुङ, गोरखा र तनहुँमा टोलीले सम्भाव्यता अध्ययन गरिसकेकोे छ ।

साथै टोलीले बेनीको कालीपुलमा रहेको बास्केटबल, खुलामञ्च र चुत्रेनीको खेलमैदान निरीक्षण गरेको छ । गत वर्ष फागुन २१ देखि सञ्चालन गर्ने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कोरोना भाइरस महामारीका कारण स्थगित भएको थियो ।

आगामी फागुन ६ देखि १६ सम्म आयोजना गर्न खेलकुद मन्त्रालयलाई राखेपले प्रस्ताव गरेको सदस्य गुरुङले बताए । कोरोना संक्रमणको दर घटेको, पूर्वाधार तयार भएको, कोरोनाविरुद्धको खोपको पहुँच बढेको र अर्थ मन्त्रालयले बजेटको व्यवस्था गरेकाले फागुनसम्म प्रतियोगिता गर्न सकिने उनको भनाइ छ ।

खेलकुद मन्त्री नियुक्त हुने वित्तिकै समय घोषणा गरेर पालिका, जिल्ला र प्रदेशस्तरीय छनौट प्रतियोगिताको काम अघि बढाउने भएकाले तयारी गर्न खेलाडीलाई सदस्य गुरुङको आग्रह छ ।

राखेपले गण्डकीका ११ वटै जिल्लामा विभिन्न खेल आयोजना गर्ने योजना बनाएको छ । यद्यपि अधिकांश खेल प्रदेश राजधानी पोखरा महानगरभित्रै हुने छन् । पौडीको पूर्वाधार तयार भएको र सुटिङका लागि पनि पूर्वाधार निर्माण प्रक्रिया अघि बढेको सदस्य गुरुङले बताए । मुख्य खेलस्थल रुपमा रहने कास्कीको पोखरा रंगशाला निर्माण सकिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width