पोखराको सुन्दरतामा रमाए राजदूत

आदर्श समाज सम्वाददाता
असाेज ११, २०७८
rajdoot~2

पोखरा । नेपालस्थित विभिन्न राष्ट्रका ११ राजदूतसहित कुटनीतिक नियोगका पदाधिकारी सम्मिलित विशिष्ट पाहुनाको टोली पोखराको सुन्दरतामा रमाएको छ । गण्डकी प्रदेश सरकारको पहलमा ३ दिनका लागि यहाँ आएको २५ सदस्यीय टोलीले सोमबार हाइकिङ गर्नुका साथै डेभिडफल अवलोकन गर्दै फेवातालमा डुंगा सयर ग¥यो । कोरोनाका कारण थलिएको पोखराको पर्यटन क्षेत्र ४१ औं विश्व पर्यटन दिवसमा विशिष्ट पाहुनाको आगमन र यसले दिएको सकारात्मक सन्देशले पर्यटन व्यवसायी उत्साहित बनेका छन्।

विशिष्ट पाहुनाले सोमबार नागडाँडा, कास्कीकोटहुँदै सराङकोटसम्म हाइकिङ गरे । ४ घन्टासम्मको हाइकिङका क्रममा उनीहरुले गाउँले परिवेशमा रमाउँदै यहाँको सुन्दरताको प्रशंसासमेत गरे । नेपालका लागि इजिप्टका राजदूत माइकल पोखरामा पहिलो पटक भ्रमण गरेको बताउँदै यहाँको मनोरम दृश्यले आफूलाई मोहित तुल्याएको प्रतिक्रिया दिए । जर्मनका राजदूत डा. थोमसले मनोरम हिमश्रंखलाले आफूलाई मोहित बनाएको उल्लेख गर्दै पोखराको सुन्दरता अतिद्वीय रहेको बताए । उनले भावी पुस्ताका लागि सांस्कृतिक सम्पदा बचाएर राख्नुपर्ने सुझाव दिए।

संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्तिले टिकटक समेत बनाएर पोखराको सौन्दर्यताबारे बखान गरेकी थिइन्।

उनीहरुले उत्तरको माछापुच्छे«, अन्नपूर्ण, धौलागिरि लगायत हिमश्रृंखला, स्थानीय ग्रामीण बस्ती, फेवाताल, पोखरा बजारको मनोरम दृश्य नजिकबाट अवलोकन गर्ने मौका पाए । दिउँसो डेभिजफल हुँदै बेलुका फेवातालमा उनीहरुलाई डुंगा सयर गराइएको छ । राति वाराहीचोकमा दैनिक हुने आरतिमा सहभागी गराउनुका साथै रेवानको मिनी सडक महोत्सव अवलोकन गराइएको थियो । पाहुनालाई स्थानीयले ठाउँठाउँमा पूmलमाला र पञ्चेबाजासहित भव्य स्वागत गरिएको थियो । अघिल्लो दिन आइतबार उनीहरुको स्वागतमा प्रदेश सरकारले रात्रिभोज गरेको थियो । सो क्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनीहरुको स्वागत गर्दै प्रदेश सरकारले यहाँको अर्थतन्त्र माथि उकास्न छिट्टै लगानी सम्मेलन गर्न लागेको जानकारी दिएका थिए ।

४१ औं विश्व पर्यटन दिवसमा विशिष्ट पाहुना आगमनले पर्यटन व्यवसायी उत्साहित छन्।

गण्डकी प्रदेश सरकारको पहलमा आएका कतार, साउदी अरेयिबा, दुवई, उत्तर कोरिया, दक्षिण कोरिया, फिनल्याण्ड, श्रीलंका, थाइल्याण्ड, बंगालदेश, इजिप्ट, जर्मनी, मलेसिया लगायत देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि मंगलबारमात्र फर्किने कार्यक्रम रहेको गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले जनाएको छ ।

एकै पटक दर्जन राजदूतहरुलाई पोखरामा बोलाएर गण्डकी प्रदेश सरकारले ‘पोखरा घुम्न खुला छ’ भन्ने सन्देश दिएको छ । नेपाल पर्यटन बोर्ड पोखरा शाखाका प्रमुख काशीराज भण्डारीले यो सन्देशले आगामी दिनमा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन हुनेमा आशावादी रहेको बताए ।

पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड १९ महामारीको कारण थला परेको पर्यटन क्षेत्र राजदूत तथा उच्च पदस्थ पाहुनाको भ्रमणले पर्यटन क्षेत्र ठूलो राहत पुग्ने बताए । टान पोखरा अध्यक्ष सुशीलराज पौडेलले पदयात्रामार्ग सुरक्षित रहेको कारण पनि अबको सिजनमा पर्यटक आउनेमा आफूहरु उत्साहित रहेको बताए ।
पोखरा नेपालकै प्रमुख पर्यटकीयस्थल हो । यहाँको पर्यटन व्यवसाय कोरोना महामारीका कारण २०७६ अन्त्यदेखि नै मारमा परेको छ । यस वर्ष साढे ४ महिनाको लकडाउन पूर्ण रुपमा हटाउँदै जिल्ला प्रशासन कार्यालय कास्कीले असोज १ देखि सबै क्षेत्र पूर्ण रुपमा खुला गरेको छ ।

तस्बिर सौजन्यः प्रदीप पौडेल, राधिका शर्मा कँडेल ।

Related News

सम्बन्धित समाचार

hero news full width