पोखरा। कोरोनाको तेस्रो भेरियन्ट संघारमा सरकारी अस्पताल भरिन थालेका छन् । दोस्रो भेरियन्ट सुरु हुँदाताका गत बैशाख तेस्रो सातातिर जसरी अस्पताल भरिभराउ थिए, सोही अवस्था दोहोरिन थालिसकेको छ ।
कोरोना नियन्त्रणका लागि सरकारको स्मार्ट लकडाउनले संक्रमण वृद्धि गर्न सघाउ पुगिरहेको पाइन्छ । फलस्वरुप गण्डकी प्रदेश राजधानी पोखरामा सञ्चालित कोरोना डेडिकेटेट अस्पतालमा आइसियु र भेन्टिलेटर पाउन मुस्किल परिसकेको छ ।
संक्रामक रोग तथा सरुवा रोग अस्पताल, पोखराका निर्देशक डा. विकास गौचनको व्यस्तता बढ्न थालेको छ । बेड लगभग भरिएका छन् । उपचारार्थ आएका बिरामीलाई अचेल बेड मिलाउन हम्मेहम्मे परिसकेको छ, उनलाई । संक्रमितमध्ये अधिकांश अक्सिजन दिनुपर्ने खालका छन् ।
अस्पतालको बेड संख्या ५० हो तर परिआएको खण्डमा ५२/५३ वटासम्म बेड अस्पतालले व्यवस्थापन गर्न सक्छ । यहाँका ६ आइसियु र ३४ एचडियु बेड फुल छन् । बाँकी जनरल बेडमा उपचार गरिरहेका छन् । ‘जनरलमा संक्रमित आउने र निको भएर जाने क्रम चलिरहन्छ,’ उनले भने, ‘पछिल्लो समय बिरामी बढेका छन्, हामीले क्षमताभन्दा बढीलाई सेवा दिनुपरेको छ ।’ जनरल वार्डमा अक्सिजन चढाउन समस्या भएको समयमा आइसियु र एचडियुमा बेड व्यवस्थापन गर्न गाह्रो परेको डा. गौचन सुनाउँछन् ।
कोरोनाको दोस्रो लहर उच्च रहेको बेला ५६ जनासम्म राखेर उपचार गरिएको डा. गौचनले बताए । केही घटेजस्तो भइ निषेधाज्ञा समेत खुकुलो हुँदै जाँदा अचेल कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको उनले बताए । लकडाउन खुकुलो बनाइनु र स्वास्थ्यका मापदण्ड पूरा नगर्दा संक्रमित बढेको हुन सक्ने उनको भनाइ छ । सरकारले काम गरिरहे पनि व्यवस्थित रुपमा खोपको पहुँच पुर्याउन नसकेको उनको भनाइ छ । नागरिकले पनि स्वास्थ्य मापदण्डमा ख्याल नगर्दा संक्रमण बढेको उनको आकलन छ ।
पछिल्लो समय अस्पतालमा अक्सिजन ग्यास खपत समेत बढेको छ । केही दिन अघिसम्म दैनिक ५० सिलिन्डर खपत भए पनि अचेल दैनिक १ सय हाराहारीमा ग्यास सिलिण्डर आवश्यक परेको डा. गौचनले जानकारी दिए । यसरी नै संक्रमित बढ्दै जाने र सजगता नअपनाउने हो भने स्थिति झनै भयावह बन्न सक्ने उनको दाबी छ ।
गत असारमा गण्डकी प्रदेशमै पहिलो पटक गोरखा र स्याङ्जामा गरी ५ जनामा कोरोनाको डेल्टा भेरियन्ट देखा परेको थियो । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार स्याङ्जामा २ र गोरखामा ३ जनामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ संक्रमण फेला परेको हो ।
प्रदेशको ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समेत पछिल्ला दिन कोभिडका बिरामी बढ्न थालेका छन् । केही दिनयता छिमेकी जिल्लाबाट बिरामी आउन थालेसँगै संक्रमित चाप बढेका कोरोना फोकलपर्सन डा. शरदचन्द्र बरालले जानकारी दिए । बेड खाली नभएकाले लक्षण देखिएकालाई रिपोर्ट नआउँदासम्म इमर्जेन्सी वार्डमै राखिएको उनले बताए । ‘कोरोनाको दोस्रो भेरियन्ट सुरु भएदेखि हाम्रो हस्पिटलमा बेड खाली छैन,’ उनले भने, ‘तेस्रो भेरियन्ट देखिने बेला भइसक्यो । अहिले झनै संक्रमित बढेको बढ्यै छ । तेस्रो भेरियन्ट झनै शक्तिशाली हुने भएकोले सचेतना जरुरी छ ।’
हाल अक्सिजन सिलिन्डर खपत ३ सयभन्दा बढी हुने गरेको उनले बताए । बीचमा खपत घटेर १ सय ५० सिलिन्डर पुगेकोमा अचेल बढेको उनको भनाइ छ । अस्पतालका ३० कोभिड एचडियु बेड २ सातादेखि भरिन थालेका हुन् । सरकारीमा पर्याप्त आइसियु बेड नहुँदा संक्रमितले निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । भेन्टिलेटर भने अस्पतालमा थपिने क्रम जारी छ ।
हाल गण्डकीभर सरकारी, सामुदायिक र निजीमा गरी २ सय १४ कोभिड आइसियु बेड र ८३ भेन्टिलेटर छन् । सरकारीमा आइसियु ६० र भेन्टिलेटर ३० बेड छन् । केही जिल्ला अस्पतालमा भेन्टिलेटर रहे पनि जनशक्ति अभाव छ । त्यसकारण आइसियु सञ्चालन हुन सकेका छैनन् । मनाङ र मुस्ताङका जिल्ला अस्पताल, बन्दीपुर अस्पताल, शिशुवा कोभिड अस्पाल र मातृशिशु अस्पतालमा आइसियु र भेन्टिलेटर दुवै छैनन् । लमजुङ, पर्वत र गोरखामा २ देखि ५ बेडका कोभिड आइसियु छन् । ती पनि जनशक्ति अभावमै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।
प्रदेश सरकारले सञ्चालन गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा ६ आइसियु बेड र ७ भेन्टिलेटर छन् । बागलुङस्थित धौलागिरि अस्पतालमा ४ आइसियु बेड र ४ भेन्टिलेटर, नवलपुरको मध्यविन्दु अस्पतालमा ५ आइसियु र ३ भेन्टिलेटर, म्याग्दीको बेनी अस्पतालमा ५ आइसियु बेड, दमौली अस्पतालमा ७ आइसियु र ४ भेन्टिलेटर, जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा २ भेन्टिलेटर छन् । समयमै ख्याल नगर्ने हो भने कोरोनाको डेल्टा भेरियन्टले विकराल रुप लिने चिकित्सकको आकलन छ । कोरोनाका बिरामी जाँच गर्दागर्दै चिकित्सक थाकिसकेको डा. बरालको भनाइ छ । ‘स्वास्थ्यकर्मी थाकिसके । त्यसरी काम गरिरहनु भएको छ,’ उनले भने, ‘कोरोना झन् बढ्न थालेको अवस्था छ, बिरामी दिनानुदिन बढिरहेका छन् ।’
Related News
सम्बन्धित समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१