‘खोप नदिए ग्यास दिन्नौं’

आदर्श समाज सम्वाददाता
असार १०, २०७८
khop

पोखरा । आफूहरुको लागि कोरोनाविरुद्धको खोप प्राथमिकतामा नराखेको भन्दै ग्यास विक्रेता आन्दोलित भएका छन् । उनीहरुले बिहीबारदेखि खाना पकाउने एलपी ग्यास आपुर्ति ठप्प पार्ने चेतावनी दिएका हुन् ।
अग्रपंक्तिमा खटिने विभिन्न क्षेत्र प्राथमिकतामा राखे पनि जनताको दैनिक जीवनयापनमै प्रत्यक्ष जोडिएको क्षेत्रलाई बेवास्ता गरिएको भन्दै एलपी ग्यास विक्रेता संघ कास्कीले प्रशासनमा ज्ञापनपत्र बुझाएको छ । संघले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएको हो ।
तिनै तहको सरकारलाई खोपमा प्राथमिकतामा राख्न अनुरोध गरिएको भए पनि बेवास्ता गरिएकाले आपूर्ति नै रोक्नु परेको संघका अध्यक्ष बालकृष्ण कोइरालाले बताए । खोपको प्राथमिकतामा राख्न जिल्ला स्वास्थ्य कार्यालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको भए पनि उपेक्षा गरिएको संघका अध्यक्ष कोइरालाले जानकारी दिए ।
कास्कीका प्रजिअ गौतमले सरकारको ध्यानाकर्षण आफूले पनि गराउने तर ग्यास आपूर्ति नरोक्न आग्रह गरेका थिए ।
‘कोरोनाको पहिलो र दोस्रो लहरमा पनि नागरिकको जीवनयापनमा समस्या नपरोस् भनेर रातदिन आपूर्ति कम हुन लिएनौं । सरकारले अत्यावश्यक पदार्थ भन्छ तर खोपमा प्राथमिकतामा राख्दैन, यो निकै विडम्बनापूर्ण छ,’ संघका सचिव कुशल पौडेलले भने, ‘बाध्य भएर खोपको प्रबन्ध नहुँदासम्म आपूर्ति ठप्प पार्ने निर्णयमा पुग्यौं ।’
कास्कीमा ५० वटा ठूला र ३ सय साना डिलरबाट दैनिक १५ हजार ग्यास आपूर्ति हुँदै आएको छ । करिब ८ सय जना मजदुर ग्यास आपूर्तिमा दैनिक खटिने सचिव पौडेलले जानकारी दिए । कास्कीमा १८ कम्पनीका ग्यास आपूर्ति हुँदै आएको छ ।

बागलुङमा पनि आन्दोलन
आमउपभोक्ताको घरघरमा ग्यास ढुवानी गर्दै आएको एलपी ग्यास विक्रेता संघ बागलुङले कोरोना खोपको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
एलपी ग्यास बिक्रेता संघ अध्यक्ष हरिप्रसाद आचार्यले प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै ग्यास ढुवानी गर्दा आफूहरू प्रत्यक्ष रूपमा जोखिममा परेको भन्दै कोरोनाविरूद्व खोप लगाई सुरक्षित रूपमा काम गर्ने वातावरण मिलाइदिन माग गरे । प्रजिअ कार्कीले बागलुङमा कोरोना भाइरसविरूद्वको खोप लगाउनु पर्ने प्राथमिकतामा ग्यास बिक्रेता पनि पर्ने हुँदा आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बिक्रेतालाई कोरोना खोप लगाएर सुरक्षित गर्न माग गरे । बागलुङमा एलपी ग्यास बिक्री वितरण गर्ने २५ डिलर र ५० भन्दा बढी सहडिलर छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै