खानेतेलको मूल्य आकाशियो, खाद्यान्नमा उस्तै

धनबहादुर गुरुङ
असार १, २०७८
Oil Photo

पोखरा। गत साता खानेतेल किन्न पुगेकी कमला थापा मूल्य सुनेरै तीनछक परिन् । सनफ्लावर तेलको प्रतिलिटर रु.२७० ।

सधैँ खाइरहने तेलको मूल्य झन्डै दोब्बर बढेको सुनेर आत्तिइन् पनि । स्याङ्जा घर भई पोखरा बगरमा भाडामा बसोबास गर्ने कमलालाई एकै पटक खरिद गर्ने बानीले लकडाउनको बीचमा तेल किन्न परेको थिएन । अहिले स्टल सकिएपछि मात्र पसल किराना पसल गरेकी थिइन् । लकडाउन अघिसम्म १ सय ४० मा खाएको तेल एक्कासि बढेर २ सय ७० पुगेको रहेछ ।

‘ज्यादिबिधि महँगी बढेछ । लकडाउनमा अरुमा पनि अलिअलि बढेकै छ तर तेलमा त हदै भयो,’ उनले गुनासो गरिन्, ‘यसरी मूल्यवृद्धिपछि पोखरामा कमाएर खानेलाई त साहै्र गाह्रो पर्ने भयो ।’ दाल चामललगायत खाद्यान्न, तरकारी तथा फलफूल पहिलाभन्दा १ देखि ५० रुपैयाँसम्म बढी मूल्यमा किन्नुपरेको बताउँछिन् ।

उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले खानेतेल, खाद्यान्न, तरकारी र फलफूलमा मूल्यवृद्धि भएको गुनासो दिनहुँ आउने गरेको बताउँछन् । सबैभन्दा बढी खाने तेलमा मूल्य बढेको गुनासो आउने गरेको उनले बताए । ‘तेलमा मूल्य बढेको छ, त्यो हामीलाई प्रस्टै थाहा छ,’ उनले भने, ‘अन्य खाद्यान्नमा पनि थोरै मात्रामा बढेको उपभोक्ताले गुनासो गर्ने गरेका छन् ।’ मञ्चले समय समयमा समिति बनाएर अनुगमन गरिरहेको उनले जानकारी दिए ।

खानेतेल, खाद्यान्न, तरकारी र फलफूलमा मूल्यवृद्धि भएको गुनासो दिनहुँ आउने गरेको छ ।

उपभोक्ता मञ्चसहित उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाण्ज्यि संघ, जिल्ला प्रशासन र जिल्ला प्रहरी मिलेर बजार अनुगमन पनि गरिरहेको छ । ‘खानेतेलको मूल्यवृद्धि भयो भनेर अत्यधिक गुनासो आएपछि ३ पटकसम्म गरेका छौं,’ उनले भने, ‘यो त साहै्र भयो भनेर मन्त्री विकास लम्साल पनि अनुगमनमा खटिनुभएको थियो ।’ अनुगमनकै क्रममा कम्पनीबाटै प्रिन्टेड मूल्य बढाएर आएको भेटेको कोइरालाले बताए ।

प्रिन्ट बढाएर लेख्ने अनुमति कस्ले दियो ? भन्ने कुरामा समितिको आपत्ति थियो । प्रिन्ट बढाउने अधिकारको विषयमा आफूहरुले अनुगमन गर्न नसकेको उनले स्वीकारे । किनभने तेल कम्पनी प्रदेश बाहिर रहेको तर आफ्नो अधिकार क्षेत्र गण्डकीमा मात्र रहेकोले समस्या भएको उनको भनाइ छ । ‘हामीले गण्डकी प्रदेशभरि अनुगमन गर्छौंै,’ उनले भने, ‘तेल उत्पादन कम्पनी भैरहवा, वीरगञ्ज र विराटनगरमा देखियो । यो ३ वटै हाम्रो प्रदेशभन्दा बाहिरको कुरा ।’ सबैतिर बुझ्दा तेलको मूल्य बढ्ने २ कारण भएको उनले बताए । एक–भारतको किसान आन्दोलन हुँदा कच्चा पदार्थमा भएको मूल्यवृद्धि र अर्को–ढुवानी खर्चमा वृद्धि ।

ढुवानी के कति लाग्यो, कति मूल्यमा कच्चा पदार्थ ल्यायो भन्ने अनुगमन भन्सारमा हुने भएका कारण आफूहरुको क्षेत्राधिकार बाहिर रहेको उनले बताए । प्रदेशमा रहेर प्रिन्टेड मूल्य, खरिद र बिक्री बिल हेर्दा ठिकै देखिएका कारण कारबाही गर्न नसकिएको उनले स्वीकारे । कम्पनीबाटै एकाएक प्रिन्टेड मूल्य बढाएर आएको प्रति भने आपत्ति उनले आपत्ति जनाए । कच्चा पदार्थको मूल्य बढेका कारण मूल्यवृद्धि भएको बताउने कम्पनीहरुले छानविन गरेर कारबाही गर्न सरकारलाई चुनौती समेत दिएको उनले जानकारी दिए ।

पछिल्ला दिनमा खाद्यान्न र फलफूलको मूल्यवृद्धि भएको गुनासो आउने गरे पनि धेरै मात्रामा महँगी नबढेको उनको भनाइ छ । ढुवानी खर्च बढेको कारण ब्रान्ड अनुसार केही मात्रामा मूल्य बढेको हो । ‘अरु खाद्यान्नमा २÷३ रुपैयाँ, ५ रुपैयाँ यसरी नै ब्रान्ड हेरेर बढेको छ,’ उनले भने, ‘खर्च चाँही ट्रान्सपोटेसनका कारण बढेको हो भन्ने कुरा आइरहेको छ ।’

ढुवानी कसरी बढ्न गयो भन्नेमा अनुगमन गर्ने कोइरालाले बताए । लकडाउनकै बीचमा पेट्रोलियम पदार्थको पनि भाउ निकै बढेको छ । लकडाउनअघि १ सय २० मा पाइने पेट्रोल १ सय २५ पर्छ भने १ सय ४ को डिजल १ सय ८ रुपैयाँ प्रतिलिटर पर्छ । अनुगमना त्रुटि भेटिए कानुन अनुसार अनुसन्धानपछि कारबाही गरिने उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक नारायण आचार्यले बताए । अनुसन्धानपछि आफूखुसी महँगी बढाएकोे पाइए उपभोक्ता हकहित संरक्षण ऐन, २०७५ अनुसार कारबाही हुने व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width