पोखरा – ९ मा विवेकशील साझाको वडा समिति, संयोजकमा सूर्यभक्त सिग्देल

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७८
surya bakta sigdel

पोखरा। विवेकशील साझा पार्टीको पोखरा महानगर ९ मा वडा समिति घोषणा गरेको छ । मङ्गलबार जुममार्फत् भर्चुअल भेलाको आयोजना गरी वडा समितिको संयोजकमा निवृत्त उपप्राध्यापक तथा समाजिक अभियन्ता सूर्यभक्त सिग्देललाई संयोजकमा चयन गरिएको छ । भेला जुम एपमार्फत आयोजना गरिएको थियो । पार्टीको इतिहासमा भर्चुअल भेलामार्फत् गठन भएको यो पहिलो भौगोलिक समिति हो ।

मानवशास्त्रका शोधकर्ता सिग्देल त्रिवि प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाईको पूर्व सचिव तथा मातृभूमिको लागि नेपाल नामक अभियानको अभियन्ता समेत हुन् । मानवशास्त्र विषयमा झण्डै आधा दर्जन पुस्तक, स्थलगत अनुसन्धानत्मक रिपोर्ट, शैक्षिक जर्नलहरूमा अनुसन्धानात्मक आलेखहरु प्रकाशित गरिसेकेका प्राध्यापक सिग्देल पोखराका प्राज्ञिक क्षेत्रमा चिरपरिचित नाम हो ।

विवेकशील साझा पार्टी पोखरा महानगरका संयोजक अजय श्रेष्ठको संयोजकत्वमा आयोजित सो भर्चुअल भेलाले २१ सदस्यीय वडासमिति गठन गरेको छ जसको सदस्यहरूमा डिलकुमारी गुरुङ, गंगादेवी पौडेल, पूर्णबहादुर भुजेल, हरिबहादुर भुजेल, शोभा अधिकारी, सिता नेपाली, सानुमान जलारी, कृष्ण सिग्देल, महेशकुमार सिग्देल, इन्द्रबहादुर खवास, तुलसिराम सुवेदी, गंगा सुवेदी, शिवराज सिग्देल, देवि सिग्देल, शान्ती जलारी, किर्तिबहादुर जलारी, मिनबहादुर केसी, लिलामणि सिग्देल, कृष्णप्रसाद पोखरेल र शारदा सिग्देल रहेका छन् ।

कार्यक्रममा विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा सङ्गगठन विभाग प्रमुख निर्देश सिलवालले गण्डकी प्रदेशले नगर र जिल्ला तहको भौगोलिक समितिहरू र प्रदेशभित्रका सबै केन्द्रीय सदस्यहरुबिच जुन किसिमको सहकार्य र समन्वय गरी सङ्गठन बिस्तार गरिरहेको छ त्यो सिङ्गो पार्टी पङ्क्तीको लागि प्रेरणादायी भएको बताए ।

सो अवसरमा पोखरा ९ का वडा समिति संयोजक सिग्देलले आँफू लोकतन्त्रको पक्षपाति र योद्धा भएको स्मरण गराउँदै विवेकशील साझा पार्टीले टेकेको लोकतन्त्रको जग र जमिनबाट विश्वस्त भएर पार्टीमा आवद्ध भएको बताए । अहिले सङ्गठनको आवश्यकताले वडा तहको जिम्मा लिए पनि पार्टीको वैचारिक नीति र लाइनलाई अझ सुस्पष्ट गराउने जिम्मेवारीमा दत्तचित्त भएर लाग्ने बताए ।

भर्चुअल भेलालाई सम्बोधन गर्दै पार्टीका सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक महेश भण्डारीले युवाहरूको जोशमात्रै होइन सूर्य सिग्देलजस्ता अनुभवी प्राज्ञिकहरूको होश पनि साथमा रहेको बताउँदै सुशासन र डेलिभरीको राजनीतिको लागि अब विवेकशील साझा निर्विकल्प पार्टी रहेको ठोकुवा गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू दीपक पौडेल, अर्जुन खनाल, रजनी केसी, प्रदेश सदस्य तथा प्रदेश सचिवालय प्रमुख सुदीप ओझा, प्रदेश सदस्य तथा उद्यमशीलता विभाग प्रमुख दिनेशकुमार थापा, कास्की संयोजक फणिन्द्र अधिकारी, पोखरा महानगरका पूर्व संयोजक मनकाजी गुरुङ्ग, जिल्ला सदस्य ईश्वर चालिसे, पोखरा महानगर सह(संयोजक बिपना कुँवर लगायतका नेताहरुले नवघोषित कार्यसमितिलाई शुभकामना सन्देश दिएका थिए ।

पार्टीका पोखरा महानगर संयोजक अजय श्रेष्ठले कोभिडको बन्दाबन्दीमा भर्चुअल भेलाको आयोजना गरी अन्य वडामा पनि समिति बिस्तार कार्यलाई निरन्तरता दिने जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै