विभूति शिक्षा सदन नयाँ व्यवस्थापनमा

आदर्श समाज सम्वाददाता
फागुन २, २०७७
vibhuti (2)

पोखरा । विभूति शिक्षा सदन, रामबजारले वसन्तपञ्चमी अवसरमा निःशुल्क आँखा शिविर तथा विशेष अक्षरारम्भ तथा सरस्वती पूजा गर्ने भएको छ ।
साविकको लेखनाथ विभूति बोर्डिङ स्कुल र हिमालयन आँखा अस्पताल पोखराको संयुक्त आयोजना तथा पोखरा वडा १५ को समन्वयमा सो कार्यक्रम गर्न लागिएको पत्रकार सम्मेलनमा जनाइयो ।

पूर्वीय दर्शनका व्याख्याता चैतन्य कृष्णको प्रमुख आतिथ्यतामा सरस्वती पूजा, विशेष हवन तथा अक्षरारम्भ हुने प्रिन्सिपल विनोदकुमार अधिकारीले जानकारी दिए । उनले विभूति शिक्षा सदनलाई ५ वर्षभित्र पोखराकै नमुना विद्यालय बनाउने उद्घोष गरे । संस्कृत दर्शनका ज्ञाता अधिकारीले आधारभूत तहदेखि नै वैदिक शिक्षा सुरु गरिने समेत बताए ।

विद्यालय सञ्चालक समिति अध्यक्ष गोपालप्रसाद भट्टराईले व्यावसायिक, सीपमूलक तथा प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउँदै फरक सोच, शैली र नयाँ व्यावस्थापनका साथ पोखराबाट विश्वबजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गरिने बताए ।

कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य रेखा थापा कार्की, अर्का संस्थापक सुशीला केसी अधिकारीले बोलेका थिए ।

२०५१ सालमा स्थापित विद्यालयमा हाल करिब ४ सय विद्यार्थी पढ्छन् । विद्यालयमा ३५ जना शिक्षक छन् ।

नयाँ व्यवस्थापन साथ सञ्चालनमा आएको विद्यालयले वैदेशिक भाषा, मोबाइल मर्मत, सफ्वेयर निर्माण, कम्प्युटर प्रोग्रामिङ , डिजिटल मिडिया तथा मार्केटिङ, फोटो तथा भिडियोग्राफी तालिम समेत दिने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width