लेखनाथ पत्रकारिता पुरस्कारबाट परशुराम सम्मानित

आदर्श समाज संवाददाता
पौष १६, २०७७
pashuram sar 1

लेखनाथ । लेखनाथ पत्रकारिता पुरस्कार–२०७७ बाट परशुराम शर्मा आचार्य सम्मानित भएका छन् । कविशिरोमणि लेखनाथ पौडेलको १३७ औं जन्मजयन्ती अवसरमा बुधबार अर्घौअर्चलेमा आयोजित मूल समारोहमा उनलाई ११ हजार १ सय ११ सहित सम्मानपत्रले सम्मान गरिएको हो ।

साहित्यकार प्राडा रविलाल अधिकारी, पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेल, जन्मस्थल विकास समिति अध्यक्ष विश्वप्रकाश लामिछाने र लेखनाथ साहित्य प्रतिष्ठान अध्यक्ष पदमराज ढकाल र लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष बलराम ढकालले उनलाई संयुक्त सम्मान गरे ।

नेपाल टेलिभिजनका कास्की संवाददाता आचार्य २०५३ सालदेखि निरन्तर पत्रकारतामा क्रियाशील छन् ।

कार्यक्रममा प्राडा अधिकारीले शास्त्रीय धाराका शिखरपुरुष लेखनाथको योगदानको चर्चा गर्दै उनका साहित्यिक कृतिमा व्यक्त भावले समेत कवि प्रगतिवादी सोचका भएको प्रष्ट पारे । कविको जन्मस्थल अर्घौअर्चलेलाई साहित्यिक पर्यटकीय क्षेत्रका रुपमा विकास गराउनुपर्नेमा जोड दिँदै उनले त्यसको लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।
पोखरा २७ का वडाध्यक्ष गुरुङले अर्घौअर्चलेको विकासमा महानगरतर्फबाट सहयोगी रहने बताए ।

पोखरा ३० का वडाध्यक्ष पोखरेलले आन्तरिक एवं बाह्य पर्यटनको विकासका लागि साहित्यिकस्थल एक भएको विचार राखे ।
आयोजक लेखनाथ साहित्य प्रतिष्ठान अध्यक्ष ढकालले सबैको साथ र सहयोगले अर्घौअर्चले चिनाउन सकिएको बताए ।

कार्यक्रममा कविशिरोमणि जन्मस्थल विकास समिति अध्यक्ष विश्वप्रकाश लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य बावुराम गिरी, लेखनाथ उद्योग बाणिज्य संघ अध्यक्ष बलराम ढकाल, सम्मानित पत्रकार परशुराम शर्मा आचार्य, लेखनाथ पत्रकार मञ्च अध्यक्ष भीमपाणि बराल, मञ्चका सचिव विष्णुहरि पौडेल, सामुदायिक सेवा केन्द्र कास्की अध्यक्ष सोमनाथ बास्तोलालगायतले लेखनाथका कृतिले सृजना र प्रगतिवाद सोचको विकास गराएको बताए ।

सो अवसरमा सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानद्वारा स्थापित मधुमाया ढकाल पुरस्कारबाट रञ्जना कुइँकेल, सविन अधिकारी फणीन्द्रकुमारी पुरस्कारबाट समीक्षा सुवेदी र चन्द्रकान्त ढकाल शिक्षा पुरस्कारबाट श्रीकृष्ण पौडेललाई सम्मान गरिएको थियो ।

कविशिरोमणि जन्मस्थल विकास समिति अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पोखरा २७ का अध्यक्ष गुरुङ र सञ्चालन प्रतिष्ठान सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै