सरकारले सच्यायो निर्णय: कोरोना परीक्षण र उपचार निःशुल्क

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७७
ministry 1

पाेखरा, २५ कात्तिक । केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण र उपचार अब निःशुल्क हुनेछ।

यसअघि सर्वोच्च अदालतले असोज १५ मै कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उच्याउन दबाब परेको थियो।

बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट्र र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको बताइएको छ।

यस्तै, सरकारका मन्त्रीहरुको १ वर्षसम्मको ५० प्रतिशत तलब कोरोना कोषमा जम्मा गरिने भएको छ । यसअघि दशैँ भत्ताबापतको रकम पनि कोरोना कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको थियो।

यस्तै बंगलादेशसँग मल किन्ने, कोरोना भ्याक्सिन नेपाल ल्याउनका लागि सम्बन्धित देश र कम्पनीहरूसँग पहल गर्ने पनि बैठकले छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार बैठकले बंगलादेशसँग मल किन्नका लागि सैद्धान्तिक स्वीकृति दिएको हो। बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने निर्णय भएको हो । सुरूमा बंगलादेशसँग मल पैंचो ल्याएर पछि तिर्ने सहमति भएको थियो। तर बंगलादेशले पैंचो नदिएपछि सरकारले किन्ने निर्णय गरेको हो।

समयमा नआएकै कारण यसपटक किसानले धानका लागि आवश्यक मल पाएका थिएनन् । धान पाकिसकेको हुँदा अब ल्याउन लागिएको मल भने गहुँका लागि हो।

यसैगरी, बैठकले नेपालमै मल कारखाना खोल्न आवश्यक तयारी गर्ने निर्णय समेत गरेको छ । मल कारखाना खोल्ने प्रक्रिया अघि बढाउन योजना बनाएर प्रस्ताव पेश गर्न अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ । कृषि मन्त्रालयले मल कारखानाका लागि प्रारम्भिक खाका तयार पारिसकेको छ । त्यसकै आधारमा तीन मन्त्रीले प्रस्ताव तयार पार्ने जनाइएको छ।

यसैबीच, नेपालमा हाल कोरोनबाट सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ रहेको छ । उनीहरुमध्ये २९ हजार ८ सय ३६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४ सय ११ जनाको सघन उपचार कक्ष र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै, देशभर ९ सय ६७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर भएको छ । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार १ सय ७७ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५ सय २० पुरुष गरी उक्त संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएका संख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित देखिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width