पोखरा, १ असाेज । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण ६ महिनासम्म थन्किएका मध्यम तथा र लामो दूरीमा चल्ने सार्वजनिक यातायात आजदेखि संचालनमा आउँदैछन् । सरकारले आफ्नो माग सम्बोधन गरेकोमा यातायात व्यवसायीहरु पनि उत्साहित हुँदै संयोगवश विश्वकर्माको पूजा गरी गाडी चलाउने तयारीमा छन् । तर कोरोना संक्रमण जोखिम अझै नहटिसकेको र संक्रमण भय जारी रहेको हुँदा आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु जरुरी देखिन्छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ देखि लामो दूरीका यातायात संचालन तथा आन्तरिक हवाई गर्न सकिने निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउन सक्नेछन् । आन्तरिक हवाइजहाज र लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदण्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने छन् । लामो समयसम्म हवाइजहाज र लामो दूरीका यातायात सञ्चालन नहुँदा यात्रु र सञ्चालकलाई समेत कठिनाइ परेकाले सरकारले दबाब थेग्न नसकी संचालन अनुमति दिएको हो ।
गाडीमा सिटमा एक जना मात्र राख्ने पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा सेनिटाइजर र भौतिक दूरी कायम राखेर हवाई र लामो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ । सवारी चालक र सहचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनाका साथै सवारी साधनले दैनिक निर्मलीकरण गर्नुपर्नेछ ।
उता, बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको हो ।
यसैबीच, पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिले असोज १ देखि नै गाडी संचालनको तयारी गरेको जनाएको छ । पोखरामा प्रधानकार्यालय रही देशका प्रमुख सहरहरुमा गाडी संचालन गर्दै आएको पृथ्वीका १ हजार ४ सय गाडी छन् । कम्पनीले पहिले पनि सरकारले संचालन अनुमति नदिए असोज १ देखि नै छोटो तथा लामो दूरीका गाडी जबर्जस्ती चलाउने चेतावनी दिँदै आएको थियो ।
सरकारले यातायात व्यवसायीको माग सम्बोधन गरेकोमा धन्यवाद दिँदै कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले पहिलो दिन विश्वकर्मा पूजा पनि भएकोले सो दिन स्वेच्छिक भनिएको र भोलिपल्ट असोज २ देखि भने कम्पनीअन्तर्गतका गाडीहरु अनिवार्य रुपमा चलाउने निर्देशन दिइएको जानकारी दिए । उनले भने, ‘असोज १ गते विश्वकर्मा पूजा पनि हो, सो दिन स्वेच्छिक भनेका छौं । आगामी दिनमा भने नियमित रुपमा कुल संख्याको ३० प्रतिशत गाडीहरु देशका प्रमुख सहरहरुमा छुट्ने छन् ।’
पृथ्वीका पहिलो चरणमा ३० प्रतिशत गाडी संचालनमा आउने
उनका अनुसार असोज २ देखि बिहान ४ बजेदेखि नै लामो दूरीको काँकडभिट्टा लगायत विभिन्न सहरमा तथा बेलुका पनि नाइटसमेत चल्नेछन् । उनले चालक, सहचालक तथा यात्रुलाई सुझाव दिँदै कोरोनाविरुद्ध आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भनेका छन् । उनले भने, ‘मानवीय जीवनसँग संवेदनशील भएकोले सबैलाई सचेत गराएका छौं । मजदुर संघसंगठनलाई पत्राचार गरेका छौं ।’ तनहुँ दमौलीमा कम्पनीका क्षेत्रीय समनवय समितिको संयोजक समेत रहेका ओमप्रसाद कार्कीको उपस्थितिमा सबै गाडीका चालक, सहचालकलाई आवश्यक काउन्सिलिङको व्यवस्था मिलाइएको उनले बताए ।
साथै, गाडी संचालनको बखत आवश्यक अनुगमन–नियमन सरकारबाट हुनुपर्नेमा जोड दिए । त्यसरी कोही कसैले मापदण्ड पूरा नगरेको पाइए कारबाही हुँदा आफूहरुले आपत्ति नजनाउने बताए । व्यवसायीहरुले अहिले कमाउनको लागि नभै, यात्रुको सुविधा तथा गाडीको चलायमानका लागि बाध्य भएर गाडी निकाल्नुपरेको उनले स्पष्ट पारे ।
कम्पनीले कास्की जिल्लामा भने भदौ २७ देखि पोखरा नगर तथा जिल्लाका विभिन्न भागमा सीमित संख्यामा गाडी चलाउन थालिसकेको छ । साथै पोखरा यातायात कम्पनी प्रालि, विन्ध्यवासिनी, पोखरा–बेगनास, पोखरा ट्याक्सी सेवा प्रालि लगायतले जिल्लाभित्र आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै कुल सिट संख्याको आधा यात्रु राखेर गाडी चलाउन थालेका छन् ।
काठमाडौंमा जोरबिजोर
जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने काठमाडौँमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्दै जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न अनुरोध गरेको छ ।
अत्यावश्यक सेवा कार्यालय आवतजावत र ढुवानीका साधनमा भने जोरबिजोर लागु नहुने प्रशासनले सूचना जारी गरी स्पष्ट पारेको छ । प्रशासनले खुला स्थानमा भीडभाड, सभाजुलुस गर्नगराउन, जात्रा, मेला, महोत्सव, भोजभतेर सञ्चालन गर्न तथा धार्मिक क्षेत्रमा दैनिक नित्य पूजाबाहेकका गतिविधि, बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न भने निषेध गरेको छ ।
यस्तै चाडपर्वलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, ब्यूटी पार्लर शैलुन, स्पा, स्वीमिङ पुल जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, चिडियाखाना तथा सङ्ग्रहालय सञ्चालनमा रोक लगाइएको पुरानै व्यवस्थालाई कायम गरिएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१