प्रदेश सरकारको बजेट सार्वजनिक

सम्पादक
असार ३, २०८०

देशका सबै प्रदेशहरूले आर्थिक वर्ष २०८०/०८१ का लागि शुक्रबार वार्षिक बजेट सार्वजनिक गरेका छन् । प्रदेशहरूले प्रदेश सभामार्फत् बजेट सार्वजनिक गरेका थिए भने कोशी प्रदेशले राजनीतिक विवादका कारण अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेको थियो । प्रदेशका सरकारहरूले आफू सरकारमा जाने बेलामा जेजस्तो कुरा भनेको भए तापनि अहिले बजेटमा विशेष यस्तो नवीनता केही नदेखिएको र सबै बजेट केन्द्रकै झल्को दिने खालको र केन्द्रकै अनुदानमा आश्रित भएको देखिएको छ । अरु त अरु, बढी आलोच्य भएको सांसद विकास कोषका सम्बन्धमा पनि त्यस्तै देखियो । त्यसमा पनि प्रदेश सरकारले केन्द्रकै नीति पछ्याएको टड्कारो भएको छ । बजेटको आकार पनि पहिलेको भन्दा सानो भएर आएको छ ।

प्रदेशको विशिष्टताअनुसार बजेटका शीर्षकहरूमा केही तलमाथि, यता उता गरिएको त देखिन्छ । तर नयाँ कार्यक्रमहरू देखिँदैनन् र सुदूर–पश्चिममा २९ अर्ब २६ करोड ५९ लाखको बजेट विनियोजन गरिएको छ । जुन बजेट विगतको भन्दा ४ अर्ब घटेर आएको छ । सरकारले किसानहरूलाई आकर्षित गर्न शून्य ब्याजदरमा ऋण प्रवाह गर्न ४ करोड विनियोजन गरेको छ । त्यसले थारु समुदायमा देखिने सिकलसेल एनेमिया, सेती, महाकाली र टीकापुर अस्पतालमा डायलोसिस विस्तारको योजनासहित स्वास्थ्यका लागि ३ अर्ब ७४ करोड ९७ लाखको बजेट प्रस्तुत गरेकोे छ । बजेटले प्रत्येक वर्ष १० हजारलाई रोजगारी सिर्जना हुने गरी बहुपक्षीय उपयोग र बहुपक्षीय साझेदारीमा कर्णाली समृद्धि अभियानलाई प्राथमिकतामा राखेको छ । त्यसको साथै त्यसले छोरीहरूको जीवन निर्वाह कार्यक्रमका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

लुम्बिनी प्रदेशको बजेटमा १ घर १ धाराका लागि सबभन्दा बढी १ अर्ब ३२ करोड बजेट छुट्याएको छ । त्यसले २ वर्षमा २ लाखलाई रोजगारी दिने महत्वाकांक्षी कार्यक्रम ल्याएको छ । त्यसले आफ्नो राजधानी पूर्वाधार निर्माणका लागि १ अर्ब १० करोड विनियोजन गरेको छ । त्यसले घरेलु मदिरा प्रवद्र्धन गर्ने कार्यक्रम पनि घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोडको बजेटमा सांसदले योजना बाँड्ने गरी ७२ करोड, भौतिक पूर्वाधारमा १२ अर्ब ३१ करोड, सामाजिक विकासमा ५ अर्ब ५ करोड, ३० हजार घरमा धारा पुर्‍याउने, ३ सय किलोमिटर सडक कालोपत्रे गर्ने आदि घोषणा गरेको छ । सर्वाधिक बजेट बागमतीको छ । त्यसले ६२ अर्ब ७० करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ र कार्यक्रम पनि त्यसैको बढी छ । मधेस प्रदेशले पनि निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि मात्र २ अर्ब ३५ करोड छुट्याएको छ । अध्यादेशमार्फत आएको कोशी प्रदेशमा पनि बजेटमा त्यसरी छरिएको छ । त्यो अध्यादेशमार्फत् आएकाले पछि स्थायी सरकार आएपछि त्यसलाई संशोधन गरिने नेताहरूले घोषणा गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width