पृथ्वीजयन्तीको महत्व

सम्पादक
पौष २२, २०७३

१. यसपटक पृथ्वीजयन्ती जति नजिक आएको छ, उति मानिसहरुले त्यस दिवसको महत्वका सम्बन्धमा बोल्न थालेका छन्। त्यसरी बोल्नेहरुले त्यस दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने र सरकारले सार्वजनिक बिदा दिनुपर्ने विचार पनि व्यक्त गरेका छन्। यसपटक त्यसरी बोल्नेहरुमा सरकारका मन्त्रीहरु पनि देखा परेका छन्।

२. नेपाल एकीकरण अभियानका सूत्रधार एवम् नेतृत्वकर्ता वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई नेपालीहरुले धेरै वर्ष राष्ट्रिय एकता दिवसको रुपमा मान्दै आएका थिए। राजतन्त्रको अन्त भएपछि त्यस दिवस मनाउने सम्बन्धमा प्रश्नचिन्ह उत्पन्न गरियो। गणतन्त्र नेपालमा सरकारले त्यस दिन दिने गरिएको बिदा कटौती गरियो।

३. २०६२/६३ सालको आन्दोलन र गणतन्त्र घोषणा भएको बेला देशमा राजाप्रति घोर आक्रोश फैलिएको थियो। त्यस आक्रोशको क्रममा कतिपय राजाहरुको सालिक तोडफोड गरिएको थियो। राजा र राजतन्त्रप्रति द्वैष भावना व्याप्त भएको थियो। त्यसैक्रममा सरकारले पृथ्वीजयन्तीमा राष्ट्रिय एकता दिवस नमनाउने र बिदा पनि नदिने निर्ण गरेको थियो।

४. यसैक्रममा पृथ्वीनारायण शाहले सञ्चालन गरेको एकीकरण अभियानको चर्चा र विश्लेषण पनि भए। उनले एकीकरणका शिलशिलामा गरेको ज्यादतीको कुरा पनि उठ्यो। कीर्तिपुरलगायतका केही राज्य जसले उनको एकीकरणको कडा मुकाबिला गरेका थिए र उनको सैन्य शक्तिमाथि ठूलो नोक्सान पुर्‍याएका थिए। ती राज्यका पराजित जनतामाथि निश्चय नै ज्यादती भएको थियो।

५. युद्धक्रममा बहादुरी साथ लड्नु, हार्नु र जित्नु स्वाभाविक हो। युद्धपश्चात् केही समय द्वैष भावना रहनुलाई पनि अन्यथा भन्न मिल्दैन। तर पछि विजेताले उदारतापूर्वक त्यस्तो भावना हटाएर समभावना ल्याउनु पर्दछ। एउटै देशका नागरिक भएपछिको हारेका र को जितेका भन्ने भेदभाव मेटाउनु पर्दछ। तर कीर्तिपुरलगायतका ठाउँमा त्यस्तो भावना हटाइएन। विकास निर्माणका काममा पनि कीर्तिपुरलाई पछाडि पारिएको आजपर्यन्त प्रष्ट देखिन्छ।

६. हामी अगाडि जान चाहनेहरुले पछाडि मात्र फर्केर हुँदैन। इतिहासको कुराबाट शिक्षा सिकेर र इतिहासका कमीकमजोरी नदोहोर्‍याउने गरी अघि बढ्नु पर्दछ। राजतन्त्रको अन्त भएको पनि एक दशक बितेको छ। सधैँ पूर्वाग्रह र दूराग्रह राखेरमात्र पनि हुँदैन। पृथ्वीनारायण शाहले गरेको एकीकरणलाई हामी सबैले मानेका छौं, मानेकामात्र होइन, यसमा गर्वसमेत गरेका छौं।

७. उनले गरेको एकीकरणको परिणामस्वरुप आज हामीले नेपाल र नेपाली भनेर छुट्टै पहिचान अझ भनौं विशेष पहिचान लिएर विश्वसामु शिर उच्च गरेर प्रस्तुत हुन समर्थ भएका छौं। यी सबै कुरालाई विशेष किसिमले मनन गरी सर्वसाधारण जनताले पृथ्वीनारायण शाहलाई सम्झदै आएका छन्। पुस २७ गते उनलाई श्रद्धाञ्जली दिँदै आएका छन्। सरकारले पुस २७ गतेलाई यताउता गरे पनि जनताको हृदयमा त्यो दिनको महत्व घटेको छैन। त्यो महत्व बढ्दै गएको छ। बढ्दो जनभावना कदर गरेर त्यस दिन बिदा दिई जनभावना र इतिहासको कदर गर्नु आजको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width