आफ्नो शरीर दान गर्ने दाताको निधन

सम्पादक
वैशाख ३, २०७१

१. हाम्रो देशमा मरणोपरान्त आफ्नो शरीरका अंग, आँखा दान गर्नेहरुको संख्या क्रमशः बढ्दै गएको छ। त्यस्तै केही समय यता किड्नी लगायतका अंग दान गर्नेहरु पनि बढ्दैछन्। तर सिंगो शरीर दान गर्नेहरु ज्यादै थारै छन्। त्यही थोरै मध्येका एक थिए क्षेत्रप्रताप अधिकारी। क्षेत्रप्रताप अधिकारीले पाँच वर्ष पहिले आफ्नो शरीर धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान गरेका थिए। उनै दाता अधिकारीको गत आइतबार काठमाण्डौमा निधन भयो।

२. उनले त्यस बेला आफ्नो मरणोपरान्त दान गरेको ठूलो साहसको कुरा थियो। त्यो साहस उनले देखाएको थियो र आफ्नो शरीरको कुनै पनि अंग सकेसम्म खेर नजाओस् भन्ने उनको कामना थियो। उनले आफ्नो मृत शरीरका अंगहरु कसैका लागि उपयोगी हुन्छ भने त्यो किन नदिने भनी उनले शरीर दान पत्रमा हस्ताक्षर गरेका थिए। यसबाट उनी के-कति परोपकारी स्वभावका थिए भन्ने प्रष्ट हुन्छ।

३. क्षेत्रप्रताप अधिकारी राजनीतिमा लागेर २०४३ सालमा राष्ट्रिय पञ्चायतमा पुगे। उनले आफ्नो निर्वाचन अभियानमा “युवालाई रोजगारी, क्षेत्रप्रताप अधिकारी” भन्ने नारा दिए। चुनाव जितेपछि उनी शिक्षा सहायक मन्त्रीसम्म भए। तर समाजले राजनीतिक क्षेत्रका अधिकारीका रुपमा भन्दा उनलाई आफ्नो चुनावी नारालाई कार्यान्वयन गरी धेरै भन्दा धेरैलाई रोजगारी दिएको तनहूँबासीहरु बताउँछन्।

४. तनहूँ जिल्लाको मिर्लुङ गाविस वयपानीमा १९९९ सालमा जन्मेका उनी मूलतः साहित्यकार थिए र साहित्यकार भन्नमा नै उनले गर्व गर्दथे। उनका कृतिहरु सरल र सरस हुनुका साथै राष्ट्र र राष्ट्रियताको भावनाले ओतप्रोत हुन्थे। उनका कृतिहरु हिमाल, पहाड, तराईका खोला र खोल्सामा तरंगित भएर स्तरीय साहित्यका रुपमा अवतरित हुन्थे, चर्चित र लोकप्रिय हुन्थे।

५. साहित्यमा पनि उनी कवि र गीतकार रुपमा बढी चर्चित थिए। उनको रचनालाई नारायण गोपाल, बच्चु कैलाशदेखि रामकृष्ण ढकालसम्मले गाएका छन्। ती गीतहरु एकपछि अर्को लोकप्रिय भएका छन्। उनका रहर लागेर, पहाडदेखि पहाडसम्म, देश त हारिरहेछ, अकविता, युद्धर छाँया जस्ता कृति प्रकाशित छन्। उनले जापानी पुस्तकको अुनवाद र सम्पादन पनि गरेका थिए।

६. उनी किशोरावस्थादेखि काठमाण्डौमा लागे। काठमाण्डौमा शिक्षा-दीक्षा प्राप्त गरे। जापाबाट एम.ए. ड्रि्री गरे तापनि उनले गाउँलाई भुलेनन्। गाउँमा आउँदा उनी पूर्णरुपले गाउँकै रहनसहन र खानपिनमा गाउँथे । गाउँकै भाकामा गीत गाएर नाच्थे, रमाउँथे। यो उनको विशेषता थियो। यस्ता धेरै विशेषताले उनी युक्त थिए। उनले आफ्नो मृत्यु पश्चात कुनै धार्मिक कर्मकाण्ड नगर्न पनि परिवारलाई भनेका थिए।

७. क्षेत्रप्रताप अधिकारीले आफ्नो व्यक्तित्व आफ्नै किसिमले बनाउँदै लगेको देखिन्छ। साझाको कण्डक्टरमा काम गरेका उनी पछि साझा बोर्डका सदस्य सचिव र अध्यक्षसमेत भएका थिए। उनको यो कथा धेरैका लागि प्ररणाप्रद हुन सक्दछ। त्यसरी  हुर्केका व्यक्ति भएकाले उनी मिलनसार र फरासिला थिए। स्पष्ट वक्ता थिए। उनको निधबाट साहित्यिक क्षेत्रले एक होनहार प्रतिभाशाली व्यक्ति गुमाएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width