सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

शिवप्रसाद गौतम
असाेज ११, २०८०

पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा पोखरा महानगरले ठेक्का लगाई बिक्री गरी लाभ लिएको छ । बर्सेनि बाढी आउँछ, नदीले रामघाट आसपासमा कटान गर्दा बस्ती उच्च जोखिममा पुर्‍याएको छ ।

महानगरले नदीजन्य पदार्थ उत्खनन् बिक्री वितरण गर्दा स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ३ गाउँपालिका तथा नगरपालिका अर्थात् महानगरपालिकाको काम, कर्तव्य र अधिकारको दफा (२) को विपद् व्यवस्थापन (१) विपद्् व्यवस्थापनसम्बन्धी स्थानीय, नीति कानुन मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन (२) स्थानीय स्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना, प्रणाली, खोज तथा उद्धार राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन (४) विपद् जोखिम क्षेत्रको नक्सांकन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण (५) विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघ, संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य (६) विपद् व्यवस्थापनको कोष स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन (७) विपद् जोखिम न्यूनीकरणसम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा कार्यान्वयन, अनुगमन र नियमन (८) विपद्पश्चात् स्थानीयस्तरको पुन: स्थापना र पुनर्निर्माण (९) स्थानीय स्तरको विपद्सम्बन्धी तथ्यांक व्यवस्थापन र अध्ययन अनुसन्धान (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली (११) समुदायमा आधारित विपद् व्यवस्थपनसम्बन्धी कार्यक्रमको सञ्चालन (१२) विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्नुपर्ने कानुनी प्रावधानलाई महानगरे कार्यान्वयन गरेको छैन । जसले गर्दा जनताले कठिनाइ झेल्नु परेको छ ।

गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ढुंगा, गिटी, बालुवा उत्खनन् क्रसिङ र बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थापन गर्ने कार्य विधि २०७५ को विधि नं. ५ मा वातावरणीय प्रभाव अध्ययन (१), (२), (३) र ६ ढुंगा बालुवा गिटी, माटो, चट्टान दहत्तर बहत्तरको उत्खनन र संकलन (१), (२), (३), (४), (५), (६) र (७) सबै विधिहरूको महानगरले सालिन्दा ठेक्का लगाएर उल्लंघन गर्दै आएको छ । विधि (९) ढुंगा गिटी बालुवाको राजस्व दररेट र बाँडफाँडको उपविधि (३) मा स्थानीय तहले ढुंगा, गिटी, बालुवा, माटो चट्टान, दहत्तर, बहत्तरको बिक्रीबाट प्राप्त कूल, राजस्वको १० प्रतिशत त्यस्तो ढुंगा, गिटी, बालुवा माटो, चट्टान बहत्तर, दहत्तर संकलन उत्खनन गर्दा प्रभावित हुने क्षेत्रको समुदाय वातवारण संरक्षण कार्यक्रममा खर्च गर्नु पर्नेछ भन्ने बाध्यात्मक व्यवस्थाको उल्लंघन गरी महानगरले गत विगत वर्षहरूदेखि यो घाट गद्दीको ठेक्का लगाएको छ । महानगरको यो परिपाटी अत्यन्त निन्दनीय छ । रामघाटमा स्नान, पूजापाठ गर्ने र लास जलाउनका लागि लास घाटमा पुर्‍याउनसमेत कठिनाइ भोग्नु परेको अवस्था छ । प्राकृतिक साधनको दोहन गरेर आसपासको वातावरण प्रदूषण गरेको छ ।

पोखराको बीच भागबाट बगेको सेतीले धेरै भाग गल्छी पारेर बगेको छ । बीचबीचमा घाटहरू पनि छन् । यी घाटहरूमा धार्मिक पर्वहरूमा स्नान गरेर पूजाआजा गर्ने गरिन्छ । यो घाटमा अन्त्येष्टि क्रिया कर्म लास जलाउने पनि गरिन्छ । अहिले यो कार्य गर्न कठिन हुँदै गएको छ । पोखरा नगर विकास समितिले सेतीको मापदण्ड तोक्दै आएका छन् । यो संस्थाबाट कहिले ५० मिटर कहिले २५ मिटर त कहिले ५ मिटर तोकिएको पाइन्छ । नदी किनारामा बस्ने सुकुम्बासीलाई संरक्षण गर्न मापदण्ड घटाउने बढाउने गर्छन् ।

५० वर्षको दौरानमा रामघाटमा सेती वर्षको १ मिटरका दरले ५० मिटर भासिएको छ

प्रदेश सरकारको विधि २०७५ को (११) मा भएको व्यवस्थाअनुसार घाटबाट बालुवा झिक्दा विधिको (११) क्रसर उद्योग स्थापना सञ्चालनसम्बन्धी मापदण्डअनुसार नदीबाट बालुवा गिटी उत्खनन् गर्दा नदीको केन्द्र बिन्दुबाट दायाँबायाँ ५ सय मिटर भित्र सामग्री झिक्न नपाइने व्यवस्था छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक संविधानले प्रदान गरेको छ । वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत् पीडितलाई प्रदूषणबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने छ । ठेकेदारले घाटमा भारी मेसिन प्रयोग गरेर सामग्री झिक्दा हिउँदका समयमा वातावरण प्रचूर मात्रामा धुलो उडेर प्रदूषित हुन्छ । यसमा महानगरले अनुगमन गरेर रोक्ने तथा सजाय गर्ने व्यवस्था गरेको छैन । यी विभिन्न विषयहरूमा महानगरपालिकाले ध्यान दिएको छैन । केवल नदी दोहन गरेर आयआर्जन गर्नु सोच महानगरको छ । नदीको केन्द्र बिन्दुबाट ५ सय मिटर दायाँबायाँबाट सामग्री उत्खनन गर्न नपाइने कानुनी व्यवस्था छ । रामघाटमा बगेको सेती नदीको केन्द्र बिन्दुबाट दायाँबाया ५ सय मिटरभित्र उत्खनन् गर्न कानुनले बन्देज गरेको छ । यो दूरी कायम गर्ने हो भने रामघाटमा ढुंगा, बालुवा, गिटी जस्ता नदीजन्य सामग्री झिक्न पाइँदैन । परन्तु नदीभित्र पसेर ढुंगा बालुवा झिकेर बेचेको पनि देखिन्छ । स्थानीय सरकारले कानुनमा भएका विषयहरूलाई ध्यान नदिएर आफ्नो मनोमानी तबरले नदीजन्य पदार्थ ठेक्कामा लगाएर राजस्व असुलेको छ । ठेक्का लगाउँदा स्थानीय सरकारी कार्यालयहरू, धार्मिक संस्था र स्थानयी व्यक्तिसँग सरोकार नै नराखी महानगरले आफूखुसी रामघाटको नदीजन्य पदार्थको ठेक्का लगाउने गरेकाले रामघाट आसपास रहेका सरकारी कार्यालयहरू, धार्मिक संस्था र व्यक्ति विशेषका आवास क्षेत्रहरू निकट भविष्यमा उच्च जोखिममा पर्ने वर्तमानमा सेती नदीले किनारा कटान गरेको हेर्दा प्रष्ट हुन्छ ।

पोखरा ११ को तुलसीघाट देखि १० को शान्ति वनवाटिका सेती नदी पूर्वमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य तालिम केन्द्र, नेपाल मानव धर्म सेवा समिति, गीता अध्ययन मण्डल सनातन धर्म सेवा आश्रम गीता मन्दिर सिद्धाश्रम शक्ति केन्द्र, पौराणिक शिव मन्दिर (१३) बौद्ध अर्घाैं सदन, रामघाट धार्मिक क्षेत्र विकास समिति, शान्ति वन वाटिका नरनारायण बाबा सेवा आश्रम लगायत संस्था जोखिममा छन् । यस्तै रामघाट आसपासका व्यक्तिगत पक्की घर तथा सुकुम्बासी बस्तीहरू उच्च जोखिममा छन् ।

करिब ३० वर्षअगाडि रामघाट अहिले बौद्ध अर्घाैं सदनको लास जलाउने स्थानभन्दा थोरै तल घाटको लेबल थियो । अहिले ५० वर्षको दौरानमा रामघाट वर्षको १ मिटरका दरले ५० मिटर भासिएको छ । यसको मूल कारण बर्सेनि ढुंगा, बालुवा र गिटी उत्खनन् गरेर बेच्नाले नै हो । महानगर र आस बस्ने सुकुम्बासीहरूले नदीको दोहन मात्र गर्ने संरक्षणमा कुनै चासो नदिएकाले रामघाट भासिन गएको छ ।

रामघाट तीर्थको भविष्य बचाउने हो भने यो ठाउँको पहिलो संरक्षण गर्ने दायित्व महानगरको हो । महानगरले सकिन्छ यही आव को बजेटबाट र नसके आगामी आ.व. २०८१/०८२ मा यो घाट संरक्षण गर्न गुरुयोजना तयार गरी कार्यान्वयन गर्नुपर्छ । यो सुन्दर पर्यटकीय धार्मिक क्षेत्रको अस्तित्व जोगाउन महानगरको पहिलो दायित्व हो भने दोस्रो सरकारी कार्यालयहरू, तेस्रो धार्मिक संघ संस्था र चौथो आसआपसका समाजसेवी र स्थानीयहरूको पनि उत्तिकै जिम्मेवारी हो । अब पनि सबै नजाग्ने हो भने रामघाटको अस्तित्व लोप हुन्छ नै यसका आपपासमा रहेका सबै सरकारी कार्यालयहरू, धार्मिक संस्थाहरूका व्यक्ति विशेषको भौतिक सम्पत्तिका अतिरिक्त ज्यानै जाने प्रबल सम्भावना छ । अब पनि कानमा तेल हालेर रामघाट केही हुँदैन भनेर चुप लागेर बस्ने हो भने दुखद् घटना निम्तिन सक्छ । हिन्दीमा एउटा उखान छ । ‘आगे होते चेते नहीँ, पिछे चेते हो ते नहीँ ’ काम बिग्रिसकेपछि पछुताएर केही गर्न सकिँदैन ।

रामघाट तीर्थ संकटमा छ । पोखरा महानगरले यसको संरक्षणमा पूर्ण ध्यान देओस् । यसका अतिरिक्त रामघाट तीर्थबाट लाभ लिने सबैले यो पर्यटकीय धार्मिक तीर्थको मौकैमा संरक्षण गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width