समाजसेवी व्यक्तित्व लक्ष्मण कार्की

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७२

. पूर्व परिचय

पोखरा-१४ मझेरीपाटनका लक्ष्मण कार्कीसँग मेरो परिचय बत्तीस वर्षअघिदेखि नै भएको थियो। उनी कडा प्रकृतिका, स्पष्टवक्ता र सत्यताको आधारमा कुरा गर्ने भएकाले समाजमा यस्ता व्यक्ति पाउन दुर्लभ हुन्छ भन्ने मेरो सोचाई थियो। उनी मलाई कानुन व्यवसायीको रुपमा चिन्दथे। भेट हुँदा आफ्नो परिचयका साथ सगर्व कुरा गर्थे। एक दिन कुराको प्रसंगमा उनले भने -“वकील साहेव : म त चार साल देखिको पञ्च हुँ। त्यस वखत म काहुँ कुँडहर मौजाको कुलोपानी विषयको विवाद परिआएमा मोही जग्गाधनीका बीचको झगडा मिलाउने वा निर्णस गर्ने अवैतनिक चिताइदार डिठ्ठा थिएँ। उनले भन्दै गए- म देशको सबभन्दा पुरानो पञ्च हुँ। श्री ३ पद्म शमशेरको समय प्रयोगको निमित्त देशमा स्थापना गरिएका पञ्चायतले गाउँको सामान्य झगडा, कुलोपानी, साँध सीमाना, गालीगलौज, बाटाघाटा जस्ता विषयमा गाउँको पञ्चायतबाट विवादको निपटारा लगाउने व्यवस्था गरेको थियो। म यस्तै पञ्चायतको, सरकारद्वारा जनसमर्थनको आधारमा नियुक्त गरिएको डिठ्ठा थिएँ। तर पद्मशमशेरको साथसाथै उक्त पञ्चायतको अस्तित्व पनि कायम रहन सकेन। तर पनि मसँग काम गर्न सक्ने क्षमता र अनुभव छ। म यसैमा सन्तुष्ट छु ।”

. सामाजिक सेवामा प्रवेश

पद्मशंशेर (१९४५-१९४८) प्रधानमन्त्री भएपछि जनतालाई मानव अधिकार दिनुपर्छ, शिक्षा दिनुपर्छ र विधान अनुसार शासन गर्नुपर्छ भन्ने धारणाका साथ उनले सर्वप्रथम १९४७ मा काठमाडौंमा नगरपालिकाको निर्वाचन गराए। सोही वर्ष देशका केही क्षेत्रमा गाउँ पञ्चायत स्थापना गरे, आधार स्कूल खोले। १९४८ मा अन्तरिम शासन विधानको घोषणा पनि गरे तर राणाहरुको निम्ति यस्ता काम सुपाच्य हुन सकेन। यसैले पद्मशमशेरको साथ साथै उनका सपना विलिन भएको कुरा त इतिहासले नै बताएको छ। वि.सं. १९८२ सालमा जन्मेका लक्ष्मण कार्की पद्मशमशेरको पञ्चायतको समय २००४ सालमा २३ वर्षको उमेरका देखिन्छन्। त्यो युवावस्थामा उनलाई पञ्चायतको जिम्मा दिनु र प्रात जिम्मेवारी उनले पूरा गर्न सक्नु भनेको साहसपूर्ण व्यक्तित्व मान्नुपर्छ लक्ष्मण कार्कीलाई समाज सेवा गर्ने उनको भावना त्यसै समयदेखि सृष्टि भएको रहेछ। उनका पछिल्ला क्रियाकलापहरुले यसलाई पुष्टि गरेको पाइन्छ।

राजा महेन्द्रको समय पञ्चायत व्यवस्थाको स्थापना भएप्छि सर्वप्रथम उनी छिनेडाँडा गा.पं. को प्रधानपञ्च भए।अनि क्रमशः पोखरा न.पं. को उप प्र. पञ्च, २०३८ सालमा कार्यवाहक प्रधानपञ्च भएर लक्ष्मण कार्कीको जनसेवा गरेका थिए। २०४६-४७ को परिवर्तन पछि रा.प्र.पा. कास्कीको संस्थापक र वर्तमान समय उनी रा.प्र.पा. नेपालको केन्द्रीय सल्लाहकार समितिको सदस्य थिए। यसै बीच २०६२ सालमा उनले राजाबाट गो.द.बा. को सम्मान पाएको पनि उल्लेखनीय छ।

. शैक्षिक क्षेत्रमा योगदान र सम्मान

०१७ सालमा स्थापना गरिएको पोखराको पृथ्वीनारायण क्याम्पस निर्माणमा सहयोग, यसपछि स्थापना भएका कालिका बहुमुखी क्याम्पसको संस्थापक सदस्य, अमरसिंह, शुक्रराज र बलभद्र तथा रामेश्वरी उ.मा.वि.को संस्थापक हुनुको साथै उक्त विद्यालयहरुलाई आर्थिक सहयोग गर्दै आएको विभिन्न शैक्षिक संस्था र सामाजिक संस्था तथा धार्मिक संस्थाहरुका साथै टोल विकास संस्था तथा नेपाल रेडक्रस सोसाइटी, आदिमा सेवा र आर्थिक सहयोग गरेकोमा यस्ता संस्थाहरुबाट मान, सम्मान र अभिनन्दन गरेका प्रमाणपत्रले लक्ष्मण कार्की सुशोभित भएका थिए। उनी सुशिक्षित थिएनन् तर बहुमुखी प्रतिभाका व्यक्ति थिए।

. प्रधानमन्त्रीका उम्मेदवार

राजा ज्ञानेन्द्रले आफ्नो सत्ताको अन्त्यतिर प्र.म. शेरबहादुर देउवालाई अवकास दिएपछि स्वच्छ छवि भएको व्यक्ति अपेक्षा गरेर राजाले उम्मेदवारको आव्हान गरेकामा लक्ष्मण कार्कीले पनि धेरै जनसमर्थनका साथ विन्तिपत्र चढाएका थिए। यसरी विन्तिपत्र चढाउनेमा एमालेका माधव नेपालको नाम पनि सञ्चार माध्यममा आएको थियो तर पछि यो सौभाग्य लोकेन्द्र बहादुर चन्दले पाएका हुँदा अरु विन्तिपत्रवालाहरु पाखा परे। तर पनि आफूलाई स्वच्छ छविको मानेर प्रधानमन्त्रीमा उम्मेदवार हुन खोज्नु लक्ष्मण कार्कीको धृष्टता र शाहस मान्नुपर्छ। यो उनको आत्मपरीक्षा थियो।

. राजा राष्ट्रियता र हिन्दू धर्मका अनुयायी

लक्ष्मण कार्की राजा, राजतन्त्र राष्ट्रियता र सनातन हिन्दू धर्मका अनुयायी थिए। ०६२-६३ को परिवर्तन सम्म पनि राजाले राजतन्त्र छाड्न हुँदैन, जनता राजाको पक्षमा छन्, जनसंघर्षको नारा दिएर विदेशी इशारामा नाच्नेहरु जनताका संहारका कलङ्क सावित भएका छन्। आखिर यस्ता व्यक्तिहरुबाट देश र जनताको भलो हुन सक्दैन भनेर भविष्यवाणी गर्थे। लोकतन्त्रका नाउँमा राजतन्त्र हटाएर गणतन्त्र, सनातन हिन्दू धर्म हराएर धर्मनिरपेक्ष तथा जिल्ला, अञ्चल र क्षेत्र फुटाएर संघात्मक शासन गर्न खोज्नेहरु आखिर पतन हुँदै गएका छन्। आफ्नो भविष्यवाणी यथार्थ भएकोमा लक्ष्मण कार्की पश्चाताप गर्थे। जनताले आफ्नो शक्ति देखाउन सकेमा राजतन्त्रको पुनस्थापना हुनसक्छ, सनातन हिन्दूधर्म कायम रहन सक्छ। गणतन्त्र र संघात्मक शासन नेपाली जनताको चाहनाको प्रतीक होइन। विदेशीको इशारामा स्वार्थी राजनीति गर्ने नेताहरुले ल्याएको यो प्रणाली टिक्न सक्दैन भन्नेमा लक्ष्मण कार्की खुला वहस गर्थे। यसको लक्षण केही वर्गको पक्षपोषण गर्ने अनुदारवादी संविधान निर्माण हुनासाथ देखापरेको छ। विष्फोट हुनमात्र बाँकी छ। अपराध कुलन्छ भन्ने कथन सिद्ध हुँदैछ। देश व्रि्रन हुन लाग्दा प्राकृतिक प्रकोप, भूकम्प, महामारी, राष्ट्रघात, विदेशी आक्रमण, नैतिकता र चरित्रको ह्रास हुँदै भ्रष्टाचारको दलदलमा देश फसिरहेको छ। जनता ‘किर्ंकर्तव्य विमूढ’ भएका छन्।

. स्वयंसेवी नेतृत्वको अवसान

जनताको निम्ति बलिदान हुन तयार हुने स्वयमसेवी नेतृत्व लक्ष्मण कार्की जस्ता सपूत सङ्कटग्रस्त अन्तरिम समयमा आकस्मिक रुपले स्वर्गारोहण भएका छन्। २०७२ फाल्गुण ६ गते माघ शुक्ल एकादशी श्री सूर्य उत्तरायण भएको पवित्र दिनको समय प्राणत्याग गर्नु भएको ब्रह्मतत्वमा विलिन भएर मोक्ष प्राप्त गर्नु हो। श्रीमद् भागवदगीता २४ ले यसलाई सिद्ध गरेको छ। तर जनता भने शोक विह्वल भएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो स्वकीय सचिव मार्फत् लक्ष्मण कार्कीका जेठा छोरा प्रेमबहादुर कार्कीलाई टेलिफोनद्वारा समवेदना व्यक्त गर्दै “लक्ष्मण कार्कीले समाजमा विशेष योगदान पुर्‍याएको स्मरणका साथ दिवंगत आत्माको चिरशान्ति कामना गरेका छन् ।” यसै सर्न्दर्भमा पोखराबाट निस्कने राष्ट्रिय दैनिक आदर्श समाजले एक निष्ठावान व्यक्तिको अवसान शिर्षक अन्तर्गतको सम्पादकीयमा दिवंगत कार्कीले पद र प्रतिष्ठाको लागि कहिल्यै गुनासो गरेनन्। सधैं निष्ठापूर्वक आफ्नो काममा लागिरहे। लोभ लालच गरेनन्। सबैसँग मित्रवत व्यवहार गर्थे। त्यो उनको अर्को विशेषता थियो” भनेर श्रद्धाञ्जली व्यक्त गरेको छ। सत्यता र निर्भयता, निष्काम कर्मका अनुयायी लक्ष्मण कार्की सबैका प्रियपात्र र उदार मनस्थितिका व्यक्ति थिए। लक्ष्मण कार्कीको परिवारमा छ छोरा, तीन छोरी र एक श्रीमती छन् । हृदयघातबाट स्वर्गे भएका लक्ष्मण कार्कीको शवलाई पोखरा नगर परिक्रमा गराउँदै सयौं व्यक्तिको मलामी जुलुशले पोखरा-१४ को ओखलढुंगा घाटमा दाह संस्कार गरिएको थियो।

. श्रद्धाञ्जली लक्ष्मण दाई !

आफन्ो ९१ वर्षको उमेरसम्म पनि तपाईँको शारीरिक गतिविधि बोलिचाली र स्वभाव उस्तै थियो। तपाईँको उदारवादी प्रकृतिलाई परिवारको लगामले कहिल्यै बाध्न सकेन। आफ्नो चल अचल सम्पत्ति सामाजिक कार्यको निम्ति दान गर्न तपाईँ सधैं मुक्तहस्त हुनुभयो। आफ्नो परिवार र व्यवहार भन्दा समाज र राष्ट्रप्रति समर्पित तपाईँको व्यक्तित्व आदर्श थियो। त्यसैले त तपाईँ जनताको प्रियपात्र हुनुहुन्थ्यो। तपाईँको निधनले हाम्रो समाजमा अपूरणीय क्षति भएको छ। जहाँ जीवन हुन्छ, त्यहाँ मृत्यु अनिवार्य हुन्छ, यो सांसारिक नियम हो। तर हाम्रो दर्शनले आत्माको अमरतालाई मानेको छ। जीर्ण कपडा त्यागेर नवीन कपडा लगाएझैं शरीर बदलिन्छ, आत्मा अमर रहन्छ। शरीर पञ्चतत्वको सृष्टि हो। मृत्युपछाडि यसका अवयव पञ्चतत्वमा विलिन हुन्छन्। तर आत्मा चेतनतत्वको अस्तित्व कायम रहन्छ। लक्ष्मण कार्की हाम्रा प्रेरणाका स्रोत भएर आफ्नो सद्भावनाको सन्देश दिन सक्छन्। हामी उठौं, जागौं र आफ्नो महान् शक्ति अनुभूति गरौं। उपनिषद्ले हामीलाई यही सन्देश दिएको छ। हार्दिक श्रद्धाञ्जली लक्ष्मण दाई। त्रि्रो उदारता र जनसेवालाई पोखरा उपत्यकाले चिरकालसम्म सस्झिरहने छ। तिमी समाजसेवी व्यक्तित्वको रुपमा अमर रहनेछौं। शान्ति

Related News

सम्बन्धित समाचार

hero news full width