सच्चा श्रद्धाञ्जली

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७२

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ। निधनपछि उनीमाथि प्रसंशाको वर्षा भइरहेको छ। कतिपयको प्रसंशा सुन्दा त यस्तो लाग्छ, मानौँ सुशील कोइराला मानव नभएर देवता हुन्। हुन त कसैको मृत्यु हुँदा उसको अवगुणको चर्चा गर्नु राम्रो होइन, तर यसको अर्थ यो पनि होइन कि उसका सबै दुर्गणलाई प्रसंशाको खोलले छोप्नुपर्छ। कतिपय जो हिजो सुशील कोइराला जिवित हुँदा उनकोको कटु आलोचक थिए, उनीहरूको कोइरालाप्रतिको अस्वाभाविक प्रशंसा सुन्दा त यस्तो पनि लाग्छ कि उनीहरुरू सुशील कोइराला जीवित हुँदा कोइरालालाई सत्तोसराप गरेको पाप पखाल्ने कसरत गरिरहेका छन्। अनि कतिपययको प्रशंसा सुन्दा यस्तो लाग्छ कि मृतकमाथि श्रद्धाञ्जली गर्ने माध्यम प्रशंसाबाहेक अको केही छैन।

प्रसङ्ग सुशील कोइरालाकै भएकाले कोइरालाको जीवनसँग सम्बन्धित केही प्रश्न राख्नु उपयुक्त नै हुन्छ। के कोइराला आफू मानव नभएर देवता हुन थाहान्थे ? के उनी प्रशंसाका भोका थिए ? के उनको त्यो भोक जीवित हुँदा पूरा नभएर निधन भएपछि त्यो भोक मारिदिन प्रशंसा गरिएको हो – के उनको प्रशंसा नगरे उनको दिवंगत आत्माले शान्ति पाउँदैन ? प्रशंसाका वर्षा लागिरहँदा यावत् बग्रेल्ती प्रश्न पनि सँगसँगै आउँछन् ? तर जतिसुकै प्रश्न गरे पनि कान नसुनेझैँ गरी अन्धभक्तहरू प्रशंसा गरिरहेका छन्। मानौँ मृतकको प्रसंशा नै उनीहरूको धर्म हो।

यहाँ भ्रम नहोस्, आलेखको आशय सुशील कोइरालाको आलोचना गर्नुपर्‍यो भन्ने होइन। बाँचुञ्जेल कोइरालाको सत्तोसराप गर्नेहरू त प्रशंसाको दौडमा उत्रेको बेला उनीसँग व्यक्तिगत लेनदेनको साइनो नभएको म उनको सादगी जीवनको आलोचना गर्नै सक्तिनँ, न त उनको झुटो प्रशंसा नै गर्न सक्तछु। त्यसैले यो आलेखको विषय यतिमात्र हो कि कुनै व्यक्तिलाई गर्नुपर्नेभन्दा बढी प्रशंसा गरियो भने त्यस्तो प्रशंसाले उसको सम्मान गर्दैन बरु अपमान गर्छ भन्नेमात्र हो। कोही व्यक्तिले गर्दै नगरेको जसको पगरी गुथाइदयो भने त्यो पगरी उसका लागि भारी हुन्छ। क्षमताभन्दा ठूलो पगरीको भारीले पगरी गुथ्ने नै पछारिन्छ। अनि त्यति बेला पगरी सम्मान नभएर व्यङ्ग्य बन्न पुग्छ। नेपाली राजनीतिमा सुशील कोइराला व्यङ्ग्य गर्नुपर्ने पात्र होइनन्। उनीप्रति व्यङ्ग्य नगरियोस् भन्नेमात्र यो आलेखको विषय हो। मान्छेलाई देवत्वकरण गर्ने दुस्साहस नगरियोस् भन्ने आग्रहसम्म मात्र हो।

संसारका कोही पनि मान्छे महामानव हुँदैनन्। देवत्व त धेरै टाढाको कुरा भयो। हरेक मान्छे गुण र दोषको दोभान हो। फरक यति हो कि दोभानमा मिसिने दुवै नदी समान नहुन सक्तछन्। अनि हरेक मानिस आफैँमा राम्रो वा नराम्रो पनि हुँदैन, जब अरुसँग तुलना गरिन्छ अनि मात्र उसका राम्रा र नराम्रा पक्ष निस्कने हुन्।

समकालीन अन्य नेतासँग तुलना गर्दा सुशील कोइराला कति उचाइमा छन् – यस विषयमा लामो बहस हुन सक्तछ। तर झट्ट सम्झँदा पनि उनमा यस्ता केही गुण थिए जो असल राजनीतिज्ञमा हुनुपर्ने गुण हुन्। लोकतान्त्रिक आन्दोलनमा अनवरत, अविचलित योद्धा बनेका कोइराला तुलनात्मक रुपमा नकारात्मकभन्दा सकारात्मक पक्ष धेरै भएका नेता हुन्। सादा जीवनशैली, लोभबाट मुक्त, कसैप्रति पनि राजनीतिक निषेधको भावना नभएका, सिद्धान्तमा अडिग, व्यवहारमा लचकता उनीबाट अन्य राजनीतिज्ञले पनि सिक्नै पर्ने कुरा हुन्। तर यस्ता गुण हुनुको अर्थ उनी सर्वगुण सम्पन्न भन्ने चाहिँ अवश्य होइन।

कोइराला न त देव हुन्, न त दानव हुन्, उनी त विशुद्ध मानव हुन्। सामान्य मानवमा हुने सबल र दुर्वल पक्षका सम्मिश्रण हुन्। त्यसैले उनलाई देवता बनाउने प्रयास गर्नुहुन्न। मानव नै रहन दिनुपर्छ। उनका दुर्वल पक्ष हुँदाहुँदै पनि उनको निश्वार्थ र लोभ, लालचमुक्त जीवनशैलीले उनलाई अरु समकालीन नेताभन्दा पृथक बनाएका छन्। आजको भौतिकवादी युगमा हरेक मान्छे भौतिक सुख सुविधामा लिप्त छ। धन, सम्पत्ति जोड्ने लालसा बोकेर हिँडेको छ। मान्छे जति पनि काम गरिरहेको छ, त्यो पद, प्रतिष्ठा र पैसाका लागि गरिरहेको  छ। तर कोइरालाले पद, प्रतिष्ठा र पैसाको लािग राजनीति गरेनन्। नेपाली राजनीतिमा उनी अपवाद बने। सधैँ निष्ठामा रहेर राजनीति गरे। त्यही निष्ठाका कारण उनको नामजस्तै छवि पनि सुशील बनेको हो।

तर उनको यो सुशील छविलाई निधनका बेलाको अनावश्यक प्रसंशाले कुरुप बनाउन सक्तछ। त्यसैले यो बेला आम नेपालीले अनावश्यक प्रसंशा र अनावश्यक आलोचना दुवैबाट मुक्त भइ शान्त रहेर उनको जीवनशैलीको मनन गर्ने बेला हो। अनावश्यक प्रशंसाले मृतात्माले पनि शान्ति पाउँदैन। मौनताले नै मृत आत्माले शान्ति पाउँछ। मौनता नै उनीप्रति श्रद्धाको अञ्जुली हुन्छ।

हुन त कतिपय काङ्ग्रेसजन, जो आफूलाई सुशील कोइरालाको विरासत थाम्ने उत्तराधिकारीको रुपमा अगाडि सार्लान्, कोइरालाको प्रशंसा गर्नुमा नै कोइरालाको अभिनन्दन ठान्लान्। आसन्न महाधिवेशनको संघारमा कोइरालाको प्रशंसा गर्दा कार्यकर्ताको सुशील कोइरालाप्रतिको सहानुभूति आफूतर्फ ढल्कने र पासा आफूतिर पल्टने भ्रममा पनि होलान्। तर कोइरालाको प्रशंसा गरेर केही सुशील कोइराला बन्न सक्दैन। न त कोइरालाको विरासत दाबी गर्दैमा कोइराप्रतिको सहानुभूति आफूसँग लिन सकिन्छ। सुशीलको सहानुभूति लिन न व्यवहारिक रुपमा आफू पनि सुशीलजस्तै बन्नुपर्छ। राम्रो मान्छेको प्रशंसा गर्दैमा आफू पनि राम्रो बनिँदैन भन्ने बुझ्नुपर्छ। कोइरालाको विरासत धान्न चाहनेहरूले कोइरालाजस्तो राम्रो बन्ने हो भने निस्वार्थ, निर्भिक र सादगी कोइरालाको जीवनशैलीको अनुकरण गर्नुपर्छ। न कि प्रशंसामा समय खेर फालेर हुन्छ।

संविधान निर्माणजस्तो महत्वपूर्ण कार्यको नेतृत्व गरेका कोइरालाको अनुहार यति बेला सबै नेपाली सामु झलझली आइरहेको छ। उनको निस्वार्थ र निदोर्ष अनुहारअगाडि आउँदा पक्कै पनि निष्ठाको राजनीतिकको खँडेरी परेको अनुभूति गरिरहेको नेपाली मनमा उनीप्रति सहानुभूति पलाउँछ। कताकता उनको त्यागी जीवनप्रति गर्व गर्न मन लाग्छ। भावनामा बहकिँदा अनायासै प्रशंसाका शब्दबाहिर निस्कन खोज्छन्। तर विडम्बना त्यो निस्वार्थ र निदोर्ष अनुहारको प्रशंसा गरेर कहिले नथाक्ने हामी त्यही व्यक्तिको जीवनशैलीको अनुकरण भने गर्न सकिरहेका छैनौँ। प्रसंशाको प्रतिस्पर्धामा उत्रिन भने तछाडमछाड नै गछौर्ँ। स्मरण रहोस्, कोइराला आफ्नो प्रशंसाको भोको थिएनन्। जो मानिस जीवित हुँदा प्रशंसाको भोको थिएन, मरेपछि पनि हुँदैन। त्यसैले जो जे कुराको भोको छैन त्यसलाई त्यही कुरा जबर्जस्ती पिलाउनतिर लागेर समयको बर्बादी नगरौँ। जे कुराको मान्छे भोको छ, त्यही कुरा पिलाउm।

कोइरालाको नेतृत्वमा देशले राजनीतिक निकास पायो तर आफ्नै नेतृत्वमा देशको आर्थिक विकास गर्ने उनको सपना भने अधुरै रहृयो। त्यसैले अब सुशीललाई श्रद्धाञ्जली बगैँचामा फुलेको फूलको थुँगाले होइन, बरु देशलाई नै आर्थिक विकासको सुन्दर बगैँचा बनाएर गरौँ। कोइरालाको निधनमा आँखाबाट आँसु चुहाउनुभन्दा देशको माटोमा पसिना चुहाएर सुशीलको समृद्ध नेपालको कल्पनालाई यथार्थमा परिणत गरौँ। सच्चा सपुतले खोज्ने श्रद्धाञ्जली यस्तै हुन्छ। सुशीलले त्यस्तै श्रद्धाञ्जली खोजेका छन्।

सानो मानिस आफ्नो प्रसंशामा रमाउँछ। ठूलो मानिस आफ्नो सपना साकार भएमा रमाउँछ। होचो कद भएको मान्छे दुर्इचार जना मानिस आफ्नोपछि लगाएर हिँड्नमा रमाउँछ, उँचो कद भएको मान्छे आफ्ना समर्थकहरू आफ्नो पछिभन्दा पनि आफ्नो विचारको पछि लागून् भन्ने चाहन्छ। त्यसैले कोइरालाको व्यक्तिगत प्रशंसा गरेर कोइरालाको उँचो कद घटाइदिनु हुँदैन। बरु हरेक नेपालीले उनको जस्तो सादगी जीवनपथमा हिँडेर उनको कदलाई अझ अग्लो बनाउन एक एक इँटा थप गरौँ। यही नै कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width