रचना वाचनमा व्यस्त साहित्यिक पाठशालाहरू

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७०

पोखरा, ७ भदौ।शनिबार आयो कि बेफुसदी बढ्छ, पोखरेली साहित्यकार र साहित्यप्रेमीहरूको। विभिन्न अवसरमा आयोजना गरिने कार्यक्रम त भई नै रहन्छन् तर पोखरामा प्रत्येक शनिबार कम्तीमा एकदेखि तीन वटासम्म नियमित रचना वाचन हुन्छन्।

साहित्य लेखनलाई जन्मजात गुण,र्र् इश्वरको वरदान, परिस्थितिको उपजजस्ता अनेक कुराको परिणति मान्नेहरू छन्। समग्रमा जीवन वरिपरि साहित्य लेखनको विषयवस्तु घुम्छ।

नियमित शृङ्खलालाई साहित्यका पाठशाला मान्न सकिने प्राज्ञ सरुभक्तको ठम्याइ छ। उनकै अगुवाइमा वि.सं. २०४६ मा पोखरेली युवा सांस्कृतिक परिवारले पोखरामा पहिलो पटक ‘मासिक काव्य सन्ध्या’ नाममा नियमित रचना वाचन आरम्भ भएको थियो।

रचना वाचनको सङ्ख्या बढ्नुमा पोखरा विशाल हुँदै गएको र साहित्यकारमा नियमित भेटघाट र गतिविधि गर्ने उत्साह बढेको मान्नुपर्छ। नियमित कार्यक्रमको पूर्णमूल्याड्ढन गर्ने समय भने आइनसकेको सरुभक्त बताउँछन्।

सरुभक्तकै अगुवाइमा वि.सं. २०५५ बाट सुरु भएको संरक्षण कविता आन्दोलन नेपाली कविताको क्षेत्रमा नयाँ सोच, नयाँ दृष्टिकोण र लोकप्रिय आन्दोलन भएको उनको दाबी छ।

मुक्तकको क्षेत्रमा पोखराको नाम अग्रपक्तिमा आउँछ। पोखरेली युवा सांस्कृतिक परिवारले वि.सं. २०३५ सालबाट टिकटमा मुक्तक वाचन गर्ने परम्परालाई अहिले पनि निरन्तरता दिएको छ। परिवारले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्ने नियमित रचना वाचन ‘समता काव्य सन्ध्या’ ले २४२ भाग पूरा गरेको छ।

‘मुक्तकको उत्थान, हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापित मुक्तक मञ्च, पोखराले हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचनको आयोजना गर्ने गरेको छ।

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराले हरेक महिनाको तेस्रोे शनिबार अक्षरयात्राको आयोजना गर्छन्। कुनै स्थानमा गएर त्यही सिर्जना गरी कार्यक्रम गरेर सिर्जना सुनाउने ‘अक्षरयात्रा’ लोकप्रिय र साहित्यिक पर्यटनको नमुना बनेको छ।

गजल सन्ध्याले केही महिना पहिले पोखरा सभागृहमा वृहत् गजल वाचन ‘गजल उत्सव’को आयोजना गर्‍यो। देशका विभिन्न सहरबाटसमेत गजलकारलाई निम्ता दिएर पारिश्रमिक पनि प्रदान गर्‍यो। सन्ध्याका अध्यक्ष उदीपराज ढुङ्गाना ‘अनुभव’ संस्थाले साहित्यिक भित्तेपात्रो प्रकाशन, समकालीन गजल सञ्चयन प्रकाशन, पुरस्कार सञ्चालनजस्ता कार्य गर्दै आएको बताउँछन्।

प्रगतिशील वाङ्मय प्रतिष्ठान, नवनीत साहित्य सागर, गिताञ्जली साहित्य परिवारले पनि नियमित रचनावाचनको आयोजन गर्ने गरेका छन्। नमुना साहित्य समूह, माछापुच्छ्रे वाङ्मय प्रतिष्ठानले केही समय नियमित रचना वाचन गरे पनि अहिले स्थगित छ।

नाटकको क्षेत्रमा पनि अहिले पोखरा जागेको छ। नाटक, कवितामा पनि उत्तिकै कलम चलाउँदै आएका कृष्ण उदासीको नेतृत्वमा पोखरेली नाट्य प्रतिष्ठान गठन भएको छ भने हालै पोखरामा ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ नाटक पनि प्रदर्शन गरियो।उदासी भन्छन्-‘पोखरेली र·मञ्च उठ्न खोजेको छ र र·मञ्च व्यवसायिक हुने सम्भावना पनि देखिएको छ।’

निबन्ध र आख्यान क्षेत्रमा भने तुलनात्मकरूपमा कम प्रतिभाहरू देखिएका छन्। साहित्यको बजारमा मुख्य हिस्सा आख्यानको हुँदा पनि यस्तो अवस्था आउनु दुखद् कुरा हो।

पोखरामा सिर्जनामाथि नियमित बहस गर्ने मञ्च पनि बनेको छ। र्‍याण्डम रिर्र्डस सोसाइटी अफ नेपालले हरेक महिनाको अन्तिम शनिबार नियमितरूपमा कुनै पुस्तक वा वादका सम्बन्धमा कार्यपत्रसहित परिचर्चाको आयोजना गर्ने गर्छ।

अहिलेसम्म यसले ३३ औं शृङ्खला पार गरेको छ। पोखराका युवा प्रतिभाको सक्रिय सहभागितालाई बढाउने र स्थानीय सर्जकका पुस्तकमाथि पनि परिचर्चा गर्ने क्रमलाई बढावा दिने योजना रहेको अध्यक्ष राजेन्द्र चापागाई ‘आहत’ बताउँछन्।

महाकाव्यकार माधव वियोगीद्वारा वि.सं. २०५३ मा आरम्भ भएको ‘छन्द बचाउँ आन्दोलन’ मा हालसम्म दुर्इ हजार पाँच सय बढीले छन्द प्रशिक्षण लिइसकेका छन् भने छन्द जोडेर नाम नामाकरण गर्ने, अन्तरक्रिया, छन्द विवाहजस्ता क्रियाकलाप पनि हुँदै छन्।

महिनाको पहिलो शनिबार नवीन उमाविमा साहित्य शृङ्खलाले र हरेक महिनाको दोस्रो शनिबार हेम्जा साहित्य प्रतिष्ठानले पनि रचनावाचनको आयोजना गर्छन्।

मुख्य पार्टीनकटका लेखक सङ्घ र सांस्कृतिक स·ठनहरू पनि यहाँ क्रियाशील छन्। देशका अन्य भागमा झंैै यहाँ पनि बामपन्थी पार्टीला लेखक सङ्घ र सबै वामपन्थीहरूको साझा ‘प्रगतिशील लेखक सङ्घ’ दुवै खासै सक्रिय देखिदैनन्।

वामपन्थीहरूका संस्थामा प्रतिभा तिखार्ने तर पुस्तक प्रकाशन, परिचर्चा, एकल वाचन भने अन्यत्र गर्ने क्रम बढ्दो छ। समालोचक भाष्कर भन्छन्-‘वामपन्थी लेखक सङ्घलाई सर्जकहरूले सरकारी विद्यालय (जागिर खाने तर आफ्ना बच्चा निजीमा पढाउने) जस्तो गरेका छन्।’

साहित्यिक कार्यक्रममा सक्रिय सहभागी भइरहेका सुनाखरी सन्देशका सम्पादक साहित्यकार शिव पलाँस पोखरामा निर्वाहमुखी लेखन र गुटको बीचमा रमाउने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्छन्। उनी भन्छन्-‘हाजिरी गर्ने, पर्म लाउने, उचाल्ने र पछार्ने काम भइरहेको छ।’

साहित्यिक समुन्नतिका लागि अग्रजले युवालाई अभिभावकत्व प्रदान र युवाले अग्रजलाई सम्मान गर्नु आवश्यक छ। वाचित सिर्जनामाथि छलफल गर्ने परम्परा पनि बसाल्न बाँकी नै छ। साहित्यका यी क्रियाशील पाठशालालाई सरकारी शैक्षिक पाठशालाको जस्तो अवस्था बन्नबाट जोगाउने अभिभारा सर्जकहरूकै हातमा छ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै