‘मेरो जीवनका सात दशक’को परिचय

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७२

मध्यम वर्गीय परिवारमा हुर्केबढेर कृषि व्यवसायद्वारा पालिएका नरहरि भट्टराईले सानै उमेरदेखि खेती र पशुपालनमा परिश्रम गरेको दुःखदायी वर्णय छ प्रारम्भिक जीवनमा। सानै उमेरमा पिताको देहावसान भएपछि आमाद्वारा पालनपोषण गरिएका भट्टराईले आफ्नै गाउँकै सुशील युवती ज्ञानुसँग विवाह गरे। दुर्इ छोरालाई समयोचित शिक्षा दिए। आपतकालमा सहयोग गर्ने इष्टमित्र र हितैषीहरूप्रति उनले कृतज्ञता प्रकट गर्न बिर्सेका छैनन्।

गाउँकै नित्यानन्द भाषा पाठशालामा प्राथमिक शिक्षा, कर्मकाण्ड र गणित पढेका भट्टराईले उक्त पाठशाला विन्ध्यवासिनी प्राविमा परिणत भएपछि कक्षा ४ मा भर्ना भएर सोही विद्यालयबाट एसएलसी दिएका रहेछन्। एसएलसी गर्नासाथ आफूले अध्ययन गरेको विद्यालयमा शिक्षक नियुक्ति पाएका हुँदा प्रधानाध्यापक देवेन्द्रराज रेग्मीप्रति उनी हार्दिक ऋणी भएको पाइन्छ। कक्षा ९ र १० मा अङ्ग्रेजी पढाउने मौका दिएर रेग्मी गुरुले अध्यापन गर्ने मार्गमा पनि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। एसएलसी गरेर आफूले पढेको विद्यालयमा पढाउँदै पृथ्वीनारायण कलेजमा आइए अध्ययन गरेर परीक्षामा सफल भएपछि पनि उनले अध्यापन जारी राख्दै बि.ए.को तयारी गर्न थाले। त्रिविविबाट बि.एड.को तालिम गरेपछि उनले २०३१ सालमा गण्डकी बोर्र्डिङ स्कुलमा अध्यापन गर्ने मौका पाए। यसरी अध्यापन गर्दा विद्यार्थी छनौट गर्ने सिलसिलामा उनले स्वदेशका हिमाली क्षेत्रका र अन्य जिल्लामा समेत भ्रमण गरेको र स्वदेशको अध्ययन गरेको सम्झेका छन्।

गण्डकी बोर्र्डिङ स्कूलमा २०३१ सालमा प्रवेश गरेपछि क्रमशः विद्यार्थी प्रमुख, शिक्षा प्रमुख हुँदै प्राचार्यमा नियुक्ति पाएपछि भट्टराईजीले सन् १९८८ मा भारतको हैदरावादमा शैक्षिक प्रशासनसम्बन्धी तालिम लिएपछि आफ्नो योग्यतामा उन्नति भएको अनुभव गरे भने सन् १९९४ मा अष्टे्रलियामा शैक्षिक अवलोकन, भ्रमणको सर्न्दर्भमा सिडनी र मेलबोर्नका ख्याति प्राप्त कलेजको अवलोकन गर्दा विचार आदान-प्रदान गर्दाको अनुभवले उनलाई आत्मविश्वास प्राप्त भएको बताएका छन्। गण्डकी बोर्र्डिङ स्कुलको प्राचार्यमा नियुक्ति भएपछि अध्यापनमा मात्र भट्टराईजी सीमित रहेनन्। सन् १९८९ मा ब्रिटिस काउन्सिल र शिक्षा मन्त्रालयबाट क्याम्ब्रिज र नेपालमा पहिलो कक्षा ११, १२ सञ्चालन स्वीकृति लिएकोमा उनी गौरवान्वित र उत्साहित भएको पाइन्छ। गण्डकी बोर्र्डिङ स्कूलमा अध्यापन गर्दाको अवस्थामा भट्टराईजीले आफ्नो शैक्षिक योग्यतामा पनि विकास गरेर भूगोल विषयमा प्रथम श्रेणीमा एम.ए. गरेको बताएका छन्। ३० वर्ष अध्यापन र प्रशासनमा संलग्न रहेर गण्डकी बोर्र्डिङ स्कूलबाट भट्टराईजीले अवकाश प्राप्त गरेका थिए।

अध्ययन-अध्यापनका क्रममा विन्ध्यवासिनी उमावि, गण्डकी बोर्र्डिङ स्कूल र पछिल्लो समय विन्ध्यवासिनी क्याम्पसको प्रिन्सिपलमा पदासिन रहेका भट्टराईले गाउँको प्रगति बोर्र्डिङ स्कूलको स्थापनामा पनि योगदान गरेका रहेछन्। आफ्नो ७५ वर्षे जीवनमा ५२ वर्ष शैक्षिक क्षेत्रमा समय बिताएका भट्टराईलाई हामीले अग्रपङ्क्तिका गुरु मानेर सम्मान गरेमा यस्तो कार्यबाट तत् क्षेत्रका सबै गुरु वर्गले सम्मान भएको अनुभव गर्ने छन्। भट्टराईजीलाई यो पङ्क्तिकार अभिनन्दनीय व्यक्तिका रुपमा सम्मान गरेको देख्ने अभिलाषा राख्दछ।

आफ्नो जीवनको दीर्घकाल अध्यापन क्षेत्रमा बिताएका गुरुहरूमध्येका दार्जिलिङका र्सूयविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान तथा तानसेन पाल्पाका माधवप्रसाद देवकोटा, इन्द्रलाल भारती र जगतबहादुर जोशीको नाम अग्रपङ्क्तिमा आउँछ। काठमाडौं उपत्यकादेखि मोफसलका अन्य जिल्लामा पनि दीर्घकालसम्म शैक्षिक क्षेत्रमा समय बिताएका धेरै सम्मानीत व्यक्तित्व होलान्, तिनीहरूको इतिहास पनि अमरताको पृष्ठमा राखिनुपर्छ भन्ने मेरो प्रस्ताव छ। अनुसन्धान जारी राख्नु आवश्यक छ।

आफ्नो पुस्तकको सुरु र भित्री पानामा समेत नरहरि भट्टराईको यस्तो उद्गार पाइन्छ-‘सारा जीवन पढेँ पढाउनलाई, पढाएँ जीविका चलाउनलाई के पाएँ, के गुमाएँ, के भएँ – नदीझैं मोडिएको जीवनयात्रामा जे पढेँ, जे पढाएँ, जे देखेँ र जे भोगेँ त्यही नै पस्केर आत्मसन्तुष्टि लिन चाहन्छु।’

शैक्षिक क्षेत्रमा काम गर्दा नरहरि भट्टराईले उदण्ड स्वभाव भएका शिक्षा अधिकारीले राजीनामा गर्न आदेश दिँदा मौन रहेका अञ्चलाधीशलाई हाँक, जवाफ दिएर गण्डकी बोर्र्डिङ स्कुलको सञ्चालन जिम्मा लगाउँदा तिनीहरूले लाचारी प्रकट गरेको र क्षमायाचना गरेको घटनाले भट्टराईजीको स्वाभिमान र आत्मबल कस्तो रहेछ भन्ने थाहा हुन्छ। यसै सर्न्दर्भमा पूर्व प्राचार्य डा. डेबिड वामब्याकले अष्ट्रेलियाबाट आफ्नो पत्रमा ‘नरहरि शर्मा द ग्रेट म्यान अफ जी.बि.एस.’ लेखेर धन्यवाद दिएकोमा आफू गौरवान्वित भएको भट्टराईजीको उद्गार छ। वास्तवमा यो निकै ठूलो विजय र सम्मान हो।

अध्यापन गर्दा आफूप्रति कसैले लगाएको आरोपलाई नरहरिजीले झुठो सावित गरेर विजय भएको पाइन्छ। ‘नबिराउनू, नडराउनू’ भन्ने उक्तिलाई उनले मानेकोमा निर्भयता उनको स्वभाव रहेछ भन्ने सम्झनुपर्छ। लामो जीवनमा निष्कलंक रुपमा सम्मानपूर्वक समय व्यतित गर्ने व्यक्ति विरलै पाइन्छन्। आफ्नो जीवनका सात दशक विभिन्न क्षेत्रमा नरहरि भट्टराईले अनुभव गरेका उद्गार, प्रसङ्ग धेरै ठाउँमा पाइन्छन्। अध्ययनरत विद्यार्थी र अध्यापकका निम्ति प्रस्तुत पुस्तक प्रेरणादायक र पठनीय छ।

अन्तमा किताबभित्रका केही त्रुटि औँल्याइदिनु वेश होला। यो किताबमा लेखकको जन्ममिति पनि लिखितम् र वकितम्मा फरक छ। अध्ययन-अध्यापनको मितिमा पनि स्पष्ट मिति पाउन सकिँदैन। विषयवस्तु धेरै ठाउँमा पुनरावृत्ति भएका छन्। प्रत्येक शीर्षकको लेखमा कुनै न कुनै उद्धरण र सुक्ति राखिएका छन्।

‘भरिन्छ जतिले पेट

त्यति मानिसको हक,

बढी ओगट्ने हो चोर

सजाय गर्न लायक’

यो उक्ति गीताको नभएर श्रीमद्भागवत्को हो। अको संस्करणमा किताब परिमार्जन गरी यस्ता गलत तथ्य हटाउनुपर्छ। विषयसूचीदेखि भित्री लेखमा समेत शुद्धिकरण गर्नु नितान्त आवश्यकता छ।

किताबको नाम :

‘मेरो जीवनका सात दशक’।

लेखक : नरहरि भट्टराई। प्रकाशक :

प्रगति बोर्र्डिङ एजुकेसन फाउण्डेसन प्रालि।

प्रकाशन मिति :

२०७२ आश्विन।

मुद्रण : कञ्चन प्रिर्न्र्टस, पोखरा । मूल्य ……….

पृष्ठ : १४±२३०।

Related News

सम्बन्धित समाचार

hero news full width