भविष्य निर्माण उमाविको विगत र भविष्य

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७२

बाइसे-चौबिसे राज्य भएको समयमा नुवाकोट राज्यपछि पश्चिम ४ नुवाकोट हुँदै स्याङ्जा जिल्ला र वि.सं २०३१ सालदेखि कृस्तीनाच्नेचौर कास्कीमा गाभिएको हो। कृस्तीनाच्नेचौर हाल पोखरा-२४, पूर्व निर्मलपोखरी, पश्चिम स्याङ्जाको फेदिखोला, उत्तर पोखरा-१७, फुर्सेखोला र दक्षिण स्याङ्जाकै पौवेगौडे र टक्सार खलङ्गाको बीचमा पर्छ। करिब २५.९१ वर्ग किमी क्षेत्रफल भएको यसको जनसङ्ख्या सात हजार पाँच सय ५० छ। यहाँ ब्राम्हण, क्षत्री, गुरुङ, कुवँर, दलित, मुसलमानसमेत गरी एक हजार तीन सय आठ घरधुरी छन्। माछापुच्छे्रलगायतका हिमशृङ्खला, फेवाताल, पोखरा, स्याङ्जा, तनहुँ, पर्वत, लमजुङका समेत केही भूभाग देख्न सकिने कृस्तीनाच्नेचौर रमणीरी गाउँ हो।

पूर्व-पश्चिम फैलिएका दुर्इ डाँडा, खेतीयोग्य समथर फाँट, पाखा-पखेरामा साल, कटुस, चिलाउने, लालीगुराँस जस्ता वनपैदावार, मटिृखान भ्यू टावर, कालिकाकोट, मनकामना, देउराली, दिव्लीपीपल जस्ता एक हजार पाँच सय ५० मिटरसम्म उचाइ भएका रमणीय स्थलले भरिएको यो गाउँको बीचमा पर्ने नाच्नेचौरमा अवस्थित भविष्य निर्माण उच्च माध्यमिक विद्यालय वि. सं. २००५ सालमा सुरु भएको मानिन्छ। यस विद्यालय स्थापना र  सञ्चालनमा बयली, रामदी, धुवारकोट, बक्रेक, खाम्पुर र दम्सादीका अभिभावकको महत्वपूण भूमिकामा छ।

गुरुहरूलाई घरमा राखी सामूहिक रुपमा अध्ययन-अध्यापन गराउने परम्परा रहेको अवस्थामा तत्कालीन श्री ३ पद्मशमसेरका पालामा शक्तिकेन्द्रमा रहेका विजयशमसेरको दरबार -हाल नेपाल राष्ट्र बैँक बैकिङ कार्यालय थापाथली) मा कार्यरत सहसेनानी स्व. टेकबहादुर रानाभाटको नेतृत्वमा तत्कालीन नेपाली सेनामा कार्यरत कृष्तेलको समूहले आफ्नो जन्मस्थानको मायास्वरुप स्कूलको माग, निवेदन गरे बमोजिम पद्मशमसेरबाट पश्चिम ४ नं नुवाकोट कृस्ती मौजामा भाषा पाठशाला खोलिदिनू भन्ने तोक आदेश (हुकुम प्रमाङ्गी) बाट वि.स २००५ साल कात्तिक ९ गतेबाट ढुङ्गा, माटोको गाह्रो, ढुङ्गाकै छानो, तीनकबले ठाँटी प्रकृतिको भवन निर्माण गरी यहाँ कक्षा सञ्चालन सुरु भएको थियो। त्यो बेलाका विद्यार्थीहरू जयबहादुर खत्री, रणबहादुर कार्की-दोपहरे), तिलकराम सुवेदीे, टीकाराम भण्डारी, छापस्वराका तिलक थापा अझै छन्। उक्त भवनमा यो पङ्तिकारले समेत २०२७/२८ सलातिर कखरा अध्ययन गरेको थियो।

दुर्इ वर्षअगाडि स्वर्गारोहण हुनु भएका चेतबहादुर रानाभाटलगायत जिमु खड्कबहादुर थापा, सू. पूर्णबहादुर थपा, मलागिरीका कार्की बाजे, पूर्व प्रधानपञ्च यमबहादुर थापा, सु. नरबहादुर थापा, केदारनाथ पौडेल, मणिलाल गुरुङ, ज्ञानबहादुर खत्री, थिरबहादुर ठकुरी जस्ता अग्रजले समेत यो विद्यालय २००५ सालमा स्थापना भएको बताएका छन्। त्यो बेलाका गुरुहरूलाई दाल, चामल, घिउँ, तरकारी र केही पैसा दिनुपर्ने प्रचलन थियो।

उक्त पाठशालामा २००९ सालमा नियुक्ति लिई अध्यापन गराएका गुरु बाबुराम रेग्मी हाल जिवित छन्। यति व्यवहारिक प्रमाणहरू भए पनि लिखित प्रमाणको अभावमा वि.सं. २००५ साल कात्तिक ९ लाई स्थापना मिति मान्न सकिएन। ‘२००९ साल भदौ ६ गते नाच्नेचौरको भाषा पाठशालाका शिक्षकको निधन भइ मरुवा खाली भएकाले नयाँ शिक्षकलाई अध्यापन गर्न जानू’ भनी आधिकारिक शिक्षक सरुवा नियुक्ति पत्र भेटिएकाले सोही कागजलाई आधार मानी जिल्ला शिक्षा कार्यालयले आधिकारिक स्थापनाको प्रमाण पत्र उपलब्ध गराएको हुँदा आज हामी विद्यालयको ६३ औँ वाषिर्क उत्सव मनाउने र्सर्न्दभ उभिएका छौँ।

२००९ साल भदौ ६ गते आधिकारिक रुपमा स्थापना भएको मानिएको यो विद्यालय २०१७ सालसम्म विद्यालय सञ्चालनको विधि र प्रक्रियाका साथै नेतृत्वको सम्बन्धमा कुनै तथ्यहरू नभेटिएको, भारतीय सेनाबाट निवृक्त भएका नेपाली र अङ्ग्रेजी राम्रोसँग लेखपढ गर्न सक्ने ह. स्व. बलबहादुर रानाभाट सेक्रेटरी भइ काम गरेका, निजकै कार्यकालमा २०१७ सालमा भाषा पाठशाला प्राइमरी स्कुलमा परिणत भइ बलबहादुर गाउँको पहिलो प्रधानपञ्च भएका र निजकै अगुवाइमा स्थानीय भद्र, भलाद्मीको पहलबाट २०२२ साल माघ १२ गते प्राइमरी स्कूललाई कक्षा ८ सम्म अध्यापन गर्न सक्ने गरी विद्यालयको नाम भविष्य निर्माण मिडिल स्कुल राखियो। यो नाम २०२९ सालसम्म कायम रहयो भने २०३० सालबाट मिडिल स्कूल कक्षा ७ सम्म रहने नयाँ शिक्षा पद्धति अनुसार यो विद्यालयमा कक्षा ८ को पढाइ स्थगन हुन पुग्यो।

२०२२ सालदेखि २०३८ सम्म निम्न माध्यमिक तह सञ्चालन भएको यस विद्यालयमा थापा, कार्की, भण्डारी, रानाभाट, खत्री, आचार्य, सुवेदी, ठकुरी बन्धुहरूको नेतृत्वमा स्थानीय जन श्रमदानका साथै घर, कुरियाबाट दाउरा बिक्री, वितरण गरी प्राप्त रकमबाट ठूला-ठूला कक्षाकोठा भएका निर्माण गरिएको थियो। ती कक्षाकोठा अध्यापनका लागि अव्यवहारिक ठानीपछि भत्काइयो।

गाँउमा एकमात्र मिडिल स्कूल हुँदा जनघनत्व बाक्लो र पोखरा नजिक भए पनि खोलालगायतका कारणले अपायक भएको थियो। कक्षा ७ को अध्ययनपछि घर छाड्नुपर्ने, खर्च बढ्ने आदि कारणले गर्दा तत्कालीन विद्यालय ब्यवस्थापन समितिका अक्ष्यक्ष चेतबहादुर रानाभाटको अगुवाइमा स्थानीय भद्र, भलाद्मी, समाजसेवी सबैबाट चन्दा सङ्कलन गरी २०३८ सालबाट क्रमशः ८, ९, १० कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त गरी प्रस्तावित माध्यामिक विद्यालयको रुपमा २०५० सालसम्म रहृयो। त्यस अवधिमा विद्यार्थी जीवनमै पनि यो पङ्तिकारले गणित र विज्ञान अध्यापन गर्ने अवसर पाएको थियो। त्यहाँ रहँदा स्थानीय अभिभावकका समस्या, विद्यार्थी चिन्ने, चिनाउने काम भएकाले आज पनि ती पूर्व विद्यार्थी एवं अभिभावकको सहयोगबाट काम लिन/दिन सहज भएको छ।

गाविसभरिको एकमात्र माध्यमिक विद्यालय वि.सं २०३८ बाट २०६८ सम्म ३० वर्ष कायम रहँदा छिमेकका अन्य विद्यालय उच्च मावि भइसकेका, स्थानीय अविभावक, विद्यार्थी हरूको उच्च मावि सञ्चालन गर्ने चाहना भएको तर राजनीतिक दलका बीचमा नेतृत्वको स्वार्थका कारणले गर्दा आन्तरिक कचिङ्गल बढ्दा पटक-पटकका भेला, बैठकहरू निर्णयमा पुग्न सकेनन्। अन्तिम अवस्थामा वि.स. २०६८ साल पुस ३० गते भएको स्थानीय अविभावक, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, तत्कालीन गाविस प्रतिनिधि दयाराम लामिछानेलगायतको भेलाबाट उच्च माविमा स्तरोन्नति गरियो। भौतिक पूर्वाधार निमार्णया निम्ति आर्थिक सङ्कलन गर्न गठित विद्यालय आर्थिक व्यवस्थापन उप-समितिले तत्कालीन विद्यालय व्यस्थापन समितिका अध्यक्ष रणबहादुर कार्कीको अभिभावकत्वमा २०६८ देखि सबैको सहयोग र सद्भावबाट २०७२ फाल्गुन २ गतेसम्म सरकारी निकायको अनुदानस्वरुप ४४ लाख ८३ हजार सात सय ५३ र विभिन्न व्यक्तित्वबाट ३६ लाख ३२ हजार सात सय ८० गरी ८१ लाख १६ हजार पाँच सय २३ सङ्कलन भएको छ। उमावि धरौटी, भवन, आवश्यक फर्निचर, कम्पाउण्ड वाल, शिक्षक तलवभत्ता, पुस्तकालय, जस्ता आधारभूत आवश्यकता पूरा गर्दै २०६९ साउन १ देखि उच्च मावि सञ्चालन हुँदै आएको छ।

बाल विकासदेखि कक्षा १२ सम्म विद्यार्थी संख्या चार सय ६४, शिक्षक कर्मचारी २५    कार्यरत रहेको यस सामुदायिक विद्यालयमा प्रवेशिका परीक्षामा सरदर ६०% र उच्च मावितर्फ ५०% बढी विद्यार्थी उत्तीर्ण भएको देखिन्छ। शैक्षिक स्तर सन्तोषजनक रहेको, अविभावक एवं विद्यार्थी लाभान्वित भएको देख्दा हामीलाई पनि सबैको प्रयासबाट स्थापना गरिएको यस उच्च माविको काम थालनीबाट पुण्य कमाएको अनुभूति भएको छ।

अर्थ सङ्कलन अभियानमा बाधा, अड्चन, तगारो हाल्ने काम, टीका, टिप्पणी, लाञ्छना, गाली, गलौज, धम्कीहरू हामीलाई प्रशस्त हुदाँहुदै पनि सचेत नागरिक, अविभावक, पूर्व-विद्यार्थी, स्थानीय प्रशासनिक निकायहरूको सहयोगबाट विद्यालय क्षेत्रको अव्यवस्थित बसोबासलाई करिव ८०% मिलाइएको छ। आर्थिक जोहो गर्ने क्रममा दुर्गादक्त भण्डारी, हुमबहादुर कार्की, कृष्ण खत्री, नारायण दाहाल, नन्दलाल दाहाल, नारायण सुवेदी, धर्मराज सुवेदी, खड्क हमाल, हस्त थापा, गणेश थापा,र्र् इ. हरि थापा, विष्णु थापा, इन्द्र थापा, मेजर विष्णु कुँवर, मोहनबाबु खड्कालगायतले पुर्‍याएको अतुलनीय सहयोगप्रति हामी कृतज्ञ छौँ। विद्यालय स्थापनादेखि यहाँसम्म ल्याई पुर्‍याउनुहुने अग्रज, अभिभावक, संघ, संस्था, सरकारी निकाय, शिक्षक सबैको स्मरण गर्दै यस विद्यालयको चौतर्फी विकासमा लागिपरेको वर्तमान व्यवस्थापन समिति, जन-प्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यार्थी सबैमा सहयोगको भावना उत्प्रेरित भइ रहोस् भन्ने अपेक्षा व्यक्त गर्दछौँ।

(रानाभाट भविष्य निर्माण उच्च माध्यमिक विद्यालय आर्थिक व्यवस्थापन उप-समितिका संयोजक हुन्।)

Related News

सम्बन्धित समाचार

hero news full width