भगवान र भक्तबीचको सम्बन्ध

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०७०

भगवान र भक्तबीच सरल र सोझो सम्बन्ध छ। जहाँ भक्तहरू छन्। त्यहाँ भगवानको बास हुन्छ। भगवान सम्पूर्ण जन्म आदि विकारद्वारा रहित विशुद्ध, न प्राण न इन्द्रिय, न मन कुनै केही नभएर पनि जुनसुकै कार्य गर्न समर्थ भएकाले सर्व शक्तिमान हुनुहुन्छ। त्यस शक्तिमानको द्विलोक मष्तक हो। चन्द्र, र्सूय दुर्इ आँखा हुन्। सम्पूर्ण दिशाहरू कान हुन्, चार वेद उनको वाणी हो, वायु प्राण हो भनेर उपनिषद्हरूमा उल्लेख गरिएको छ। परब्रÞम सर्वशक्तिमान, सर्वज्ञ, सर्वाधार, कर्ता, भर्ता, हर्ता अविनाशी जुन रुपमा हेर्दा पनि हुन्छ। त्यसैले उपनिषद् भन्छ- आत्मा र परमात्माको बीचको सम्बन्ध नै नर र नारायण बीचको सम्बन्ध हो।

‘द्वा सुपर्णा सजुया सखाया समानवृक्षं परिषष्व जाते।

तयोरण्य पिप्पलं स्याद्वत्यन्नष्नन्यो अविचाकशिति।। (मुण्डकोपनिषद्)

शरीररुपी पिपलको रुखमा जीवात्मा र परमात्मा दुर्इ पंक्षी बस्दछन्। जीवात्मा र परमात्माको अवस्थिति एकै ठाउँमा भएर पनि जीवात्मा आफ्नो प्रारब्ध कर्म अनुसार प्राप्त सुखदुःख, क्रियाजन्य आशक्ति एवं द्वेषपूर्वर्क भोग्दछ। परमात्मा चाँही जीवात्माले गरेका क्रियाकलापहरू हेरेर मात्र बस्दछ। जीवात्मा त्यहाँको वर्तमान प्रकृति र शरीरलाई मोह गरेर, ममतामयी बनेर आफ्नै हितैषी परमात्मालाई बिर्सेर भोग भोग्न तल्लीन रहन्छ। यसरी परमात्मासँग बिछोड भएको जीवात्मा अनन्तकालसम्म अनवरत रुपमा संसाररुपी डरलाग्दो जंगलमा काँडा, लहरा, बाघ, भालुको बीचमा सुखको खोजीमा भौंतारिरहन्छ। जहाँ सुख सम्झेर जान्छ, उही धोका खान्छ। त्यसरी सधैं साधनहीन र दयनीय देखिएको जीवात्मा जबसम्म परमात्माको नजिक पुग्दैन तबसम्म सुख शान्ति मिल्दैन किनकि सांसारिक सुखको लागि संग्रह गरिने सम्पूर्ण चीजवस्तु दुःखै दुःखकारी छन्।

यही : संस्र्पर्शजा भोगा दुखयो नमएवते।

आदान्तवन्तः कौन्तेय नतेषु रमते बुधः।। (गीता ५/२२)

आगोमा घिउ, सुकेको दाउरा राख्दा जसरी झन अग्निको वृद्धि हुन्छ त्यसै गरी धन तथा विभिन्न भोग सामाग्रीबाट भोग कामना अझ वृद्धि हुन जान्छ। सुख रुप प्रतीत हुने स्त्री, पुरुष, घर, सम्मान आदि अनित्य चीजवस्तुको संग्रह भोग आर्जनमा सदा संलग्न रहँदा अमूल्य जीवन व्यतित पार्दछ। सबै प्राणीको हृदयरुपी गुफामा नित्य रहेर पनि सुक्ष्म भन्दा पनि अति सुक्ष्म भएको र आफ्नो योग मायामा छिपेर बसेको हुँदा भगवानको दर्शन बहुत दुर्लभ छ।

‘ज्योतिषामपि तत्ज्योति स्तमसः परमुच्यते

ज्ञानं ज्ञेयं ज्ञान गम्यं ऋद्धि सर्वस्य विष्ठितम्’ ।।गीता।।

उसको नजिक पुग्न, उसलाई चिन्न त्यसले मात्र सक्दछ। जसप्रति उहाँ दया राख्नुहुन्छ। स्वीकार गर्नुहुुन्छ। त्यो स्वीकारी मात्र उनलाई पाउन उत्कृष्ट अभिलाशा राख्दछ। उनी बिना रहन सक्दैन, छट्पटिन्छ। रुन्छ, कराउँछ, बहुलाउँछ, मन बुद्धि साधनद्वारा उनलाई देख्न भेट्न सम्भव छैन। तसर्थ त्यस्तो दयनीय दीनहीन अवस्थामा भौंतारिरहेको जीवात्मालाई उनै परमात्मा परमेश्वरको अहैतुक दयाका कारण त्यो शतत् संसार चक्रबाट पार उतार्न एक सुन्दर सर्वसाधन सम्पन्न मानवरुपी रथ प्रदान गर्नुहुन्छ। जुन रथ तान्ने बलवान घोडा इन्द्रीयहरू छन्। ती घोडाको लगाम रुपमा मन र बुद्धिरुपी सारथीको व्यवस्था गरी आफ्नो हराइरहेको मित्रको खोजीमा नाम, रुप, लीला, धाम, श्रवण, कीतन मनन आदि विषयरुप प्रशस्त बाटाहरू बनाई गन्तव्य स्थानमा पठाउनुहुन्छ। तर गन्तव्य स्थानमा पुग्न मोहवश सक्दैन, बुद्धिलाई प्रेरणा दिन छाड्छ, सारथी असावधान बन्छ। तब पुनः दुष्ट इन्द्रियरुपी घोडाको अधिनमा रहेर संसाररुपी हरियो घाँसमा आशक्ति जमाउन पुग्छ। इन्द्रिय मन बुद्धिमा आत्माको अधिकार भएर पनि आत्मा भन्दा बलवान तत्व, अव्यक्त प्रकृति, माया भएकोले सो हटाउनु उनै सर्वशक्तिमान मात्र सर्मर्थ भएकाले उपयुक्त कर्तव्य, कर्ममात्र निष्काम भावद्वारा उनै भगवानको आज्ञा सम्झेर अनुष्ठान गर्दै गएमा बुद्धिमा उनको नामरुपी लिलाधाम, अलौकिक शक्ति, अहैतुक दयामा दृढ विश्वास राखी उनैमा समर्पित हुने भक्तमात्र भगवानसँग एकाकार गर्न सक्दछ। मनका विषयमा आशक्ति हटाउन सके इन्द्रिय र विषय दुवैले साधकको कुनै हानी नोक्सानी गर्न सक्दैन। किनकि सम्पूर्ण जीवात्माहरूमा श्रेष्ठ शरीर प्राप्त गरेको मानव जातिले केबल विषयको आशक्ति र कामनावश क्रियामा संलग्न रहँदा आफैले आफैलाई घटाउने र हत्या गर्ने कार्य गर्न पुग्यो। त्यसैले भगवान श्री कृष्ण भन्नुहुन्छ – आफ्नो उद्धार आफैले गर्नुपर्छ।

उद्धरे दात्मानात्मनं नात्मानमवसादयेत।

आत्मैव ह्यात्मानो बन्धु रात्मैव रिपुरात्मन ।। गीता ६/५।।

यस लोक र परलोकको भोगका सामग्रीमा आशक्ति भएर पुनःपुनः आर्जनका लागि त्यसको संरक्षण र सर्म्बर्द्धनमा विनाशशील देवता पितर आदिको उपासना गरी विनाशलीला प्राप्त गर्दछ। बडे बडे विद्धानहरू पनि भोगमा आशक्त भएर तद् अनुरुप अनुष्ठान गरी विविध रापमा पर्दछन्, भुल गर्दछन्, कर्म बन्धनमा पर्दछन्।

दुःख मित्येव यर्त्कर्म कायक्लेश भयात्यजेत।

स कृत्वा राजसं त्यागं नवे त्याग फलं लभेत।।

त्यसैले अविनाशी परब्रÞम, सर्वशक्तिमान, सर्वज्ञ र सर्वाधारको चिन्तनमा लाग्न भगवान भन्नुहुन्छ-

मया ततमिदं सर्वजगदव्यक्त मुर्तिना

मत्थानि सर्व भुतानि न चाहं तेष्ववस्थितः।।गीता ६/४।।

भगवान धन खर्च गरेर भेटिदैन, तीर्थ, व्रत गरेर, दिनप्रतिदिन मठ मन्दिर गएर, यज्ञ यज्ञादि गरेर भेटिदैन। भगवान खान, लाउनाका र अर्थको लोभी लालची हुँदैनन्। उनीसँग केही नभएर पनि अभाव केही छैन, उनी निराकार भएर पनि सम्पूर्ण जीवात्मामा रहेको हुँदा उनलाई चाहिएको भाव र भावना हो। त्यो पनि दृढता, तन्मय र पूर्ण सान्निध्यतामा मात्र। यसै सर्न्दर्भमा सबभन्दा ठूलो को ? भन्ने विषयमा नारदलाई पत्ता लगाउन मन लागेछ र भगवान विष्णु कहाँ गएर आफ्नो कुरा राखेछन्। त्यसपछि भगवान विष्णु भन्नुहुन्छ – सबभन्दा ठूलो पृथ्वी देखिन्छ, पृथ्वीलाई ठूलो भनौं भने समुन्द्रले घेरिएको छ। समुन्द्र ठूलो भनौं भने अगस्तमुनीले समुन्द्रै पिइदिए। अगस्तलाई ठूलो भनौं भने अनन्तानन्त आकाशमा एक आकारको तारा समान देखिन्छ। आकाश आदिलाई ठूलो भन्दा भगवान वामनले एक पाउले नापिदिए, विष्णुलाई ठूला भनौं भने भक्तहरूका हृदयमा याने नारदको हृदयमा औंठा जत्रो भएर रहनुहुन्छ। यसर्थ भक्त सबैभन्दा ठूला भनेर प्रमाणित गरिदिए। त्यस्ता भगवानप्रेमी प्रल्हादलाई संरक्षण गर्न एवं हिरण्यकश्यपुको विनाशका लागि नृसिंह अवतार लिन पुगेका भगवानले हिरण्यकश्यपुको दमनपछि पनि दमनकारी यथाक्रम जारी नै राख्नुभयो। सो रोक्न पुनः भक्त प्रल्हादको भक्तिले उनको क्रोध समाप्त भयो रे। भक्तको सहयोग गर्न भगवान ज्यादै आतुर देखिनुहुन्छ र सो कार्य गर्न कहिल्यै चुक्दैनन्। जस्तैः द्रोपदीलाई कौरव सभामा जुन बेइज्जती गरियो सो बेला त्यत्रा ठूला भीष्म पितामह, गुरुहरू, आफ्ना वरिष्ठ पतिहरू मुकदर्शक बनेको बेला जब द्रोपदीले आफ्नो र कसैको प्रयासले त्यस्तो अवस्था रोक्न नसक्ने देखी भगवान कृष्णमा समर्पित भाव राख्नुभो तब द्रोपदीको साडी आफैं बनी इज्जत बचाउनुभयो। त्यत्ति मात्र कहाँ हो र । साठी हजार सेनासहितका दुर्वाषा ऋषिलाई भोजन गराउने -जंगलमा रहेको बेला) अत्यन्त प्रतिष्ठाको बेला कहीं कतैबाट उपाय नदेखि द्रौपदीले उनैं भगवानको सान्निध्य आराधना गर्दा टुप्लुक्क उहीं पुगी सम्पूर्ण ऋषि गणहरूको भोक साम्य गराउनुभयो। भक्तका खातिर भगवानले जे पनि दिन तयार हुनुहुन्छ। आफ्नो पत्नी पनि दिन्छन्। ठूला-ठूला आफैलाई मार्न आउने वरदान पनि दिन पछि पर्दैनन्। देवता दानव मनुष्य आदिले दिनरात शस्त्रअस्त्र कसैले मार्न नसक्ने वरदान पनि दिन्छन्। यसरी कैंयौं उदाहरणहरू छन् – एक पटक भगवान कृष्णले बिरामीको बहाना बनाइ औषधिको रुपमा चरणको धूलो माग गर्दा संसारका कोही व्यक्ति दिन तयार हुँदैन तर एक भक्त आफ्नो चरणको धूलो दिई आफ्नो र भगवान दुवैको उद्धार गर्दछन्। लिन, पाउन खोज्नेले दिन पनि सक्नुपर्दछ। हामी सांसारिक मानिसहरू लिन चाहन्छौं दिन भने सबै हिच्किचाउँछौं। जसले दिन हिच्किचाउँछ उसले अभिष्ट फल प्राप्तिमा पनि खुम्चिनुपर्ने हुन्छ। एक पटक दानवहरूको अतिशयदेखि शरणागति हुन आएका देवतालाई आश्वासन दिदैं भगवान विष्णु शिवजीको दर्शन गर्न मानसरोवरमा जानु भयो र शिव सहस्रनाम पाठ गरी प्रत्येक सहस्रनाममा एक कमलको फूल चढाउँदै गर्दा महादेवले परीक्षा गर्न एक फूल गायव गरिदिनुभयो। तब एक फूल खोज्न सम्पूर्ण पृथ्वी भ्रमण गर्दा पनि नभेट्टाएकोले विष्णुले एक कमलरुपी नेत्र समर्पित गर्नुभयो। तब महादेव खुशी भई विष्णुलाई सुदर्शन चक्र दिनुभयो। त्यसैले भगवानसँग पाउनुभन्दा पहिले दिनमा तत्परता त्यो पनि पूर्ण भक्तिका साथ भएमा एकाकार हुन सकिन्छ। अरु सबै उनैसँग छ।

Related News

सम्बन्धित समाचार

hero news full width