पोखराको भैरव नृत्य

आदर्श समाज सम्वाददाता
माघ ७, २०७२

पोखरा प्राकृतिक दृष्टिले अत्यन्त मनमोहक र रमणीय स्थल हो। नीलो आकाशमा देखिने माछापुच्छ्रेलगायतका हिमशृङ्खलाको दृष्यले जो-कोहीका आ“खालाई मोहित बनाउँछ। फेवा, वेगनासलगायतका तालले पोखरा उपत्यकाको सुन्दरतामा सुनमाथि सुगन्ध थपेको प्रतीत हुन्छ। त्यस्तै पोखरावरिपरि छरिएका गाउँपाखाले गहनाजस्तै गरी पोखराको सौर्न्दर्यलाई अझ निखारेका छन्। तर पोखरालाई प्राकृतिक सौर्न्दर्यका दृष्टिले मात्र सम्झियौ’ भने पोखरालाई हामीले पूरै चिनेका छौँ भन्न सकिन्न। यहाँ बसोबास गरेका विभिन्न जनजाति र उनीहरूका विविध संस्कृति पोखरालाई थप आकर्षक बनाएको छ। यी संस्कृति पोखराको पहिचान हुन् भन्न हामीलाई कर लाग्छ। पोखरा उपत्यकामा बसोबास गरेका विभिन्न जातजाति/जनजातिका संस्कृतिले पोखराको मात्र होइन सिङ्गो नेपालकै संस्कृतिक परिदृष्यमा महत्वपूर्ण आयाम थपिरहेको छ। यिनै पोखराका विभिन्न सांस्कृतिक आयाममध्ये नेवार समुदायकोे भैरव नृत्य पोखराको एक महत्वपूर्ण सांस्कृतिक धरोहर हो भन्दा अत्युक्ति नहोला।

हुन त पोखरामा धरै सांस्कृतिक सम्पदा छन्। पोखराको सांस्कृतिक फेहरिस्त लेखेमा धेरै लामो होला, एउटा पुस्तकै बन्ला। तर यस लेखमा नेवार समुदायमा प्रचलित भैरव गण नृत्यबारे केही चर्चा गर्न खोजेको छु। पोखराको भैरव नृत्यको इतिहास केलाउँदा करिब अढाइ सय वर्ष पहिले अर्थात् अठारौँ शताब्दीको मध्यतीर पुग्नुपर्छ। काठमाडौं उपत्यकाका विभिन्न ठाउँ विशेष गरी भक्तपुरबाट २६ नेवार परिवार पोखरामा २६ कुरिया बस्ती बनाएर पोखराको विन्ध्वासिनी मन्दिर र भीमसेन टोलवरिपरिका क्षेत्रमा बसोबास गरेका थिए। तीनै २६ कुरिया घरका नेवार परिवारले पोखरामा व्यापार, उद्योगलगायत सांस्कृतिक विकासमा योगदान गरेका थिए। तीमध्ये पोखराको मोहरियाटोल, भैरवटोल, भीमसेनटोलमा उनीहरूले व्यापार, बजारको विस्तारलगायत विभिन्न सांस्कृतिक कृयाकलापको सुरुवाट गरे।

उ बेलाका नेवारहरू आफ्नो जन्मजात थातथलो छोडेर यत्रतत्र गए पनि आफ्ना सांस्कृतिक धरोहर, आफ्नो भाषा, चालचलन, रीतिरिवाज, चाडबाड, जात्रा, पर्वलाई आफ्ना अभिन्न अंग बनाएर निरन्तरता दिने गर्दथे। समयको प्रवाह सँगसगै नेवारका विभिन्न सांस्कृतिक पहिचान रुपान्तरित हु“दै गए। कुनै विकसित गए भने कुनै-कुनै लोपसमेत भए। यसरी आजपर्यन्त नेवारहरूले संरक्षन गर्दै आएको एक सांस्कृतिक धरोहर पोखराको भैरव नृत्य पनि हो। छ-५ वर्षमा देखाइने भैरव नृत्यको तयारी स्वरुप नाँच सिकाउने बेलामा नेवार युवाको भिड नै लाग्छ। प्रत्येक पटक नाच देखाउने बेलामा टाढाटाढाबाट समेत युवा नाच सिक्न आउने गर्दछन्। आफ्नो नाच्ने पालो कहिले आउला भनेर सोधिखोजी गरिरहेका हुन्छन्। यस पटक देखाउन लागिएको भैरव नाचमा पनि करिब तीन सय ५० युवा नाच सिक्न आएको प्रचारप्रसार संयोजक अष्टमान प्रधानाङ्गले जानकारी दिए।

पोखराको भैरव नृत्यका विशेषता के-के छन् त भनी छोटो विवेचना गरौं। पोखराको भैरव नृत्यमा जम्मा १२ नृत्यकार विभिन्न भैरव (४ भैरव), देवी (४ देवी), एक गणेश, भुच्चा, कवङ र डागिनी (पार्वनीको रुप)मा मुकुट राखी समूह-समूहमा पटक पटक गरी निस्केर नृत्य गर्दछन्। तर नृत्यको सुरु र अन्त्यमा सबै कलाकार आफ्ना आफ्ना मुकुण्डो र वेशभुषमा गोलो गरी बसेर पूजा थाप्दछन्। तसर्थ यो नृत्यको सुरु र अन्त्यमा पूजा हुन्छ। सुरुमा सुरुवातको पूजा र अन्त्यमा समापन पूजा हुन्छ। तसर्थ यो नृत्य मनोरञ्जन पक्षभन्दा पनि धार्मिक पक्ष र सांस्कृतिक रुपले महत्वपूर्ण छ। यो नाच वास्तवमा धर्म र विशेष गरी हिन्दूधर्मसँग सम्बन्धित छ किनकी भैरव महादेवकै एक रुप हो। तर यो नाच प्रदर्शनका क्रममा वरपरका बासिन्दा र गाउँगाउँका बासिन्दासमेत हेर्न आउँछन्। तसर्थ यो नाच मूलतः नेवारहरूको भएर पनि सबै जातजाति र सबै समुदायमा अति लोकप्रिय छ।

भैरव नाचमा सहभागी हुने कलाकारहरू आफू नाच्ने पालो परेको दिनमा नुहाइधुवाइ गरेर शुद्ध आहारविहारसमेत गरी एक किसिमले उपवास बसेका हुन्छन् भने नाच देखाउन अनुरोध गर्ने व्यक्तिको परिवार पनि शुद्ध भई नुहाइधुवाइ गरी बसेका हुन्छन। त्यसैले यो नाच जहिले पायो तहिले, जहाँ मनल ाग्यो त्यहाँ लगेर देखाइँदैन। यस नाच देखाउन चाहने ब्यक्ति वा संस्थाले केही दिन पहिल्यै नाचका लागि विधिवत् माग भैरव सांस्कृतिक संरक्षण समितिसमक्ष गरेको हुन्छ। यस नाचका लागि पूर्व तयारी गर्न नै तीन-चार दिन लाग्छ। यो नाच देखाइने बेलामा सधै सार्वजनिक रुपले सार्वजनिक ठाउँमा नै देखाइन्छ वा सार्वजनिक रुपले नै प्रर्ंदर्शन गरिन्छ।

यस नाचको अर्को विशेषता हो : जनशक्तिको आवश्यकता। विविध खालका जनशक्ति परिचालनपछि मात्र यो नाचको प्रदर्शन सम्भव हुन्छ। यस नाचमा एक पटक देखाउन १२ कलाकार हुन्छन् भने जगेडा कलाकारहरू प्रत्येक नृत्य पात्रका लागि ७/८ जना हुन्छन्। त्यसैले नृत्य कलाकारहरू नै करिब एक सय जना आवश्यक पर्दछ। त्यस्तै, यो नृत्य सँगसँगै शास्त्रीय पाराले रागी गीत गाइने हुनाले २०/२५ जना रागी हुन्छन्। उनीहरूले दुर्इ समूह भएर पालैपालो मिलाएर शास्त्रीय पाराको गीत गाउँछन् जसलाई शास्त्रीय संगीत अनुसार विभिन्न राग, बोल र तालमा वर्गीकरण पनि गर्न सकिन्छ। नर्तकहरूको नाच्ने शैली पनि झण्डै शास्त्रीय पाराको हुन्छ। त्यसैले यो नाच अन्य सामान्य लोकनृत्य जसरी सिक्न सकिन्न। नाच सिक्ने बेलामा अति अनुशासित भइ गुरुले सिकाए अनुरुप गुरुप्रति अत्यन्त श्रद्धाभाव राखेरमात्र सिक्न सम्भव हुन्छ। यो गीत सम्पूर्ण रुपमा नेवारी भाषामा हुने हुनाले नेवारी भाषा सामान्य रुपले बुझ्नु पनि आवश्यक हुन्छ। त्यसै त यसमा वाद्यवादकहरू पनि कोही मृदङ्ग बजाउने, कोही धाः -ढोलक) बजाउने, कोही झ्याली बजाउने, कोही ताः बजाउने, साथै दमाई बाजा बजाउने दुइ पनि अत्यावश्यक पर्दछन्। यसरी सात/आठ बाद्यवादक आवश्यक पर्दछन्।

यसैगरी, नाच देखाउने बेलामा प्रत्येक नृत्य कलाकारका पछाडि बस्ने लिगंहरू -कलाकारको पछाडि बसेर कलाकारलाई सम्हल्नेहरू) आवश्यक पर्दछ। साथै, पूजाआजा गर्ने, धुप लाउने धुपौरेहरू गरेर १२ /१५ जना जनशक्ति आवश्यक पर्दछ। तसर्थ प्रत्येक पटक नाच देखाउने बेलामा करिव ९० देखि १०० जना जनशक्ति आवश्यक पर्दछ। त्यतिमात्र होइन यस नाचका मुकुण्डो बनाउने, मुकुण्डो रंगाउने चित्रकार पनि आवश्यक पर्दछ जसमा पोखराका प्रख्यात चित्रकलाकारहरूसमेत मुकुण्डो रंगाउन तल्लीन हुने गरेको देखिन्छ। यावत व्यवस्था गर्नका लागि भैरव सांस्कृतिक संरक्षण समिति (वि.सं. २०२९ सालदेखि भैरव सांस्कृतिको प्रवर्द्धन र संरक्षण गर्न संलग्न छ) भने जसका सदस्यहरू नै लगभग साढे चार सय छन्। यसरी ठूलो जनशक्ति यस नाचको सञ्चालन र व्यवस्थापन गर्न निकै ठूलो चुनौती बनेको देखिन्छ।

यो नाच नेपालको एक प्राचीनतम नाच हो। खासगरी भक्तपुरबाट पोखरामा आई बिभिन्न सामाजिक, व्यापारिक क्रियाकलापमा संलग्न रहेका नेवार समुदायले ल्याएको भन्ने प्रष्ट देखिन्छ। यस नाचलाई लमजुङको राइनासबाट पोखरामा सुब्बा भई खटिइ आएका जिताराम सुब्बा भन्नेले सुरु-सुरुमा ल्याएको पोखराका बुढापाका नेवारहरूबाट जानकारी प्राप्त भएको छ। यो नाच लिच्छवीकालीन र मल्लकालीन मुकुण्डो नाच हो भन्ने पनि यदाकदा चर्चा भएको पाइन्छ। यस नाचको सुरुमा गाइने शास्त्रीय रागमा आधारित गीतको पहिलो पङ्क्तिमै राजा रणजित नृपतिको विनति भन्ने शब्दांशले यस गीतको रचना भक्तपुरका राजा रणजीत मल्लले गरेको हो कि भनी अनुमान गर्ने आधार मिल्छ। लिच्छवी कालमा भैरव गणका सप्तमात्रिका देवीहरूप्रति श्रद्धा गर्ने परम्परा रहेको हुनाले यस नाचको इतिहास करिब एक हजार वर्ष पुरानो हो भन्ने अनुमान लाउन सकिन्छ। भक्तपुरमा पहिले-पहिले यस्ता नाच धेरैजसो टोलमा हुने गरेको र तीमध्ये धेरै लोप भइसकेको तर पोखराका नेवार समुदायले अझसम्म जीवन्त राखेको देखिन्छ। यी सबै आधारमा यो नाच अन्यन्त महत्वपूर्ण राष्ट्रिय सांस्कृतिक धरोहर हो भन्न सकिन्छ।

यो नाच यस वर्ष २०७२ साल माघ ७ गतेदेखि सार्वजनिक प्रदर्शन सुरु हुन लागेको सर्न्दर्भमा यस नाचका लागि अथक प्रयास गरिरहनु भएका भैरव सांस्कृतिक संरक्षण समितिका मूल गुरु र प्रमुख सल्लाहकार सर्वज्ञामान प्रधानाङ्गको स्वर्गारोहणपछि देखाइँदै छ भने यस नाचको एक महत्वपूर्ण अभिभावक प्रधाना·ज्यूको अनुपस्थितिमा प्रथम पटक देखाइँदै छ। तर यस नाचसित संलग्न व्यक्तित्वहरू भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग, गुरु कष्णबहादुर वैद्य, कानुनी सल्लाहकार केदार मसारीलगायतका अनुसार यसपालि नयाँ-नयाँ भैरव नाच नाच्ने कलाकार बढो उत्साहित भएर ठाउँबाट आएर नाच सिकेका थिए। यसपालि बढी अनुशासित र व्यवस्थित ढंगमा नाच प्रशिक्षण भएको बताइन्छ। यस नाचको संरक्षण गर्नु श्रद्धेय सर्वज्ञामान प्रधानाङ्गलगायत यस नाचसित सम्बन्धित स्वर्गारोहण हुनुभएका सम्पूर्ण दिवंगत आत्माप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

हुनत यो नाच खासगरी नेवार समुदायमा प्रचलित भएको भए पनि यस नाच प्रदर्शनका लागि र हेरेर रसास्वादन गर्नका लागि अन्य समुदाय पनि आकषिर्त भइरहेको देखिन्छ। यस अर्थमा यो नाच राष्ट्रकै महत्वपूर्ण सम्पदा हो। तसर्थ यस नाचको संरक्षण र सर्म्वर्द्धन गर्नु सबैको दायित्व हो। पोखरामा रहेका विभिन्न संघ, संस्था, स्थानीय निकायलगायत राज्य र सरकारले यस्तो महत्वपूर्ण सम्पदाको संरक्षण र सर्म्वर्द्धन गरेमा देश र जनताकै कल्याण हुने निश्चित छ। यस्तो सम्पदाको संरक्षण र सर्म्वर्द्धन गर्न सकेमा देशको धार्मिक पर्यटन, सांस्कृतिक पर्यटनको विकासका सार्थै देशको पहिचानसमेत संरक्षण हुन जानेछ। तर यस्ता सांस्कृतिक सम्पदा के-कसरी सरक्षण सर्ंवर्द्धन गर्न सकिन्छ, यस्ता सम्पदा किन महत्वपूर्ण छन् र के कसरी संरक्षण गर्नुपर्दछ भन्ने विषयमा व्यापक अनुसन्धान र अध्ययन आवश्यक पर्दछ। यसपालि भैरव नाच पोखरामा प्रदर्शन हुन लागेको सर्न्दर्भमा सबै सम्बन्धित क्षेत्रका यस सम्पदा संरक्षणप्रति ध्यान केन्द्रित होस र यो संस्कृति जोगाउन समुचित प्रयास गर्ने चेतना बढोस् भन्ने कामनासमेत गर्दछु।

Related News

सम्बन्धित समाचार

  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • हर्मन माइनरको रुटिनलाई पूर्णता दिने हेल्मट कुटिन

    कमल कोइराला जेठ २, २०८१
    चार दिवारभित्रको पारिवारिक संकुचनशीलताबाट उन्मुक्त भएर सिंगो संसारलाई नै आफ्नोे परिवारका रूपमा आत्मसात् गर्नेहरूलाई वर्तमान युगमा धुइँपत्ताल लगाएर खोज्नुपर्दछ ।…
  • कास्की कांग्रेसको शिखर पुरूषको अवसान

    डा. कृष्णप्रसाद पौडेल वैशाख १२, २०८१
    नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान्, आदर्श पुरूष र इमानदार नेताको रुपमा आफ्नो छबि बनाएका नेता खेमराज पौडेलको यही चैत ३०…
  • जून ओर्लेको रात र त्यसको आलोक

    कृष्णप्रसाद बस्ताकोटी वैशाख १, २०८१
    पोखरा आफैंमा एउटा सुन्दर महाकाव्य हो । यो यस्तो महाकाव्य हो जसको सौन्दर्य रहस्य सधैं अपरिमिति रहन्छ । यहाँको माटोले…
  • नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष

    मदन भण्डारी वैशाख १, २०८१
    मनको चञ्चलता यतिखेरको भयंकर मानवीय रोग हो । दिनहुँ आत्महत्या गर्नेको संख्या बढेको छ । संसार फेर्ने धूनका साथीहरूको नीचता…

hero news full width