पहारी र राप्ती यात्रालाई सम्झिदा

आदर्श समाज सम्वाददाता
फागुन १७, २०७२

साहित्यकार हेमराज पहारीलाई सम्झिनेबित्तिकै मेरो दिमागमा दुर्इ कुरा आउँछन् : एक माथिको कवितांश र दुर्इ उनीसँग २०६६ सालमा भएको भेट। उनलाई भेट्नुभन्दा पहिले नै उनको ‘देशको अभिभारा’ कवितासङ्ग्रहसँग भेट भएको थियो। सरल शब्द, बिम्बात्मक शैली र प्रगतिशील भावका उनका कविताबाट उनलाई भेट्नु पहिले नै म कायल भएको थिएँ।

कार्यक्रममा एक-दुर्इ पटक देखे पनि बोलचाल भएको थिएन। एक त आफूभन्दा अघिल्लो पुस्तासँग बोल्न अप्ठ्यारो मान्ने मेरो बानी, अर्को पहारी सरको निकै अनुशासित जीवनशैली। ०६६ सालको पुसतिर हुनुपर्छ उहाँ मैले कम्प्युटरको काम गर्न दिने ठाउँमा आइपुग्नुभो। हातमा छाता र झोला, चिटिक्क परेको पहिरन, सर आएपछि सबै सजग हुँदा रहेछन्। स्क्यानिङ गरेर सिधै छाप्न मिल्ने खालका सुन्दर अक्षर भएको कापी निकालेर उहाँले टाइप गर्न दिनुभयो। म नेपाली मुक्तककारहरूको संयुक्त सङ्ग्रह ‘मुक्तक वषा’ निकाल्ने तयारी गर्दै थिए। कम्प्युटरमा पुस्तकको तयारी देखेपछि उहाँले भन्नुभो, ‘यो किताब निकै राम्रो होला जस्तो छ, एक प्रति मलाई पनि दिनुहोला है।’ मैले ‘हुन्छ’ भनेँ तर पुस्तक प्रकाशन भएर दिन नपाउँदै उहाँ यो संसारमा रहनुभएन।

फेवातालको अतिक्रमणप्रति निकै चिन्तित उहाँ फेवाताल संरक्षण समितिको अध्यक्ष हुनुहन्थ्यो। ताल संरक्षणकै सिलसिलामा विजयपुरको पृतनालयमा सहयोग जुटाउन पुगेर फर्किदा ६६ वर्षमा २०६६ फागुन १७ गते दुर्घटनामा परी उहाँको निधन भयो। उहाँको निधनपछि गठन भएको हेमराज पहारी स्मृति प्रतिष्ठानको सदस्य भएकाले मलाई गत वर्ष प्रतिष्ठानले हरेक दुर्इ वर्षमा प्रदान गर्ने हेमराज पहारी स्मृति पुरस्कार प्रदानका लागि राप्ति जाने अवसर मिल्यो। कुशल शिक्षक, निःस्वार्थ समाजसेवी र प्रगतिशील साहित्यकार पहारीको स्मृति दिवसको अवसरमा उनकै नाममा स्थापित पुरस्कार प्रदानार्थ गत वर्ष भएको राप्ति यात्रालाई यसपालि मैले सम्झिने प्रयास गरेको छु।

फागुन १५ गते बिहान दाङ प्रस्थान लागि आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलाको निवास पुग्दा सरिता तिमिल्सिना, कृष्णप्रसाद पौडेल आइपुगिसक्नु भएको रहेछ। बाँकी सदस्यलाई ‘नेपाली समय’ नै लाग्यो। करिब एक घण्टाको पर्खिएपछि पोखरा छाडियो। हामीले पोखरा छाड्यौ तर मलाई गाडी लागिहाल्यो। स्याङ्जा हुँदै जाने बाटो मेरालागि निकै कष्टप्रद भयो। १५ सदस्यीय टोलीमा के-के कुरा भए मलाई यादै भएन, गाडी लाग्दा टाउको समाउनै मलाई भ्याइनभ्याइ थियो। बुटबल पुगेपछि भने स्र्वर्ग पुगेजस्तो लाग्यो। दिनभरिको यात्रापछि हामी साँझ दाङ पुग्यौँ।

राप्ति साहित्य परिषद्, जसलाई पुरस्कृत गर्न हामी गएका थियौँ, परिषद्का केही पदाधिकारीले हाम्रीलाई स्वागत गरे। दिनभर गाडीको यात्राले लखतरान भएका हामी चाडै निदायौँ, प्रतिष्ठानका अध्यक्ष रीता पहारी भने रातभर निदाउन सक्नुभएन छ। दाङको पुरानो र राम्रो मानिएको होटलमा हाम्रो बसाइँ थियो तर बेलुका खाना खाँदा उहाँको भागको दालमा मासुको टुक्रा भेटिएछ। शाकाहारी उहाँलाई खाना निल्नुनओकल्नु भए पनि उहाँले केही नभनी उठनुभएछ। साथीहरू भोकै हुन्छन् भनेर हुनुपर्छ शायद। रातभर बान्ता भएर बिहान त उहाँ लगभग सिकिस्तै बन्नुभएछ।

१६ गते बिहान हरिदेवी साहित्य संगीत सम्मान कोषको तर्फबाट साहित्यकार गोविन्द आचार्यलाई पुरस्कृत गरियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त हुनुहुन्थ्यो। उहाँले दाङमा पोखरेलीमाझ प्रमुख अतिथि हुन पाउँदा अनौठो र रमाइलो लागेको बताउनुभयो। सधैजसो गम्भीर र जटिल शब्द प्रयोग गर्ने उहाँले भन्नुभो, ‘आज पोखरा दाङमा आएको छ कि दाङ पोखरामा आएको छ मलाई छुटयाउन गाह्रो भएको छ।’

कार्यक्रम सकिएपछि पोखराबाट गएको टोली, अनिल पौडेल, भावना पौडेल, इन्दु अंशु, खेम नेपाललगायतको स्र्वर्गद्वारी लाग्यौँ। जिपमा रोल्पाको होलेरी चौकी हुँदै जाने क्रममा पाखापखेरा लालीगुराँसले छपक्कै राता देखिए। रातो क्रान्ति अर्थात् माओवादी जनयुद्धको उद्गमस्थल मानिने रोल्पाको होलेरी चौकी छेउमा उभिएर हामीले तस्विर खिच्यौँ। साथीहरू त्यो चौकी आक्रमण गरेर माओवादीले युद्ध सुरु गरेको, त्यो क्षेत्रमा अझै बङ्करहरु रहेकोलगायतका कुरा गर्दै थिए।

बाटोमा कतैकति देखिने एक-दुर्इ घर पनि उजाड-उजाड देखिन्थे। द्वन्द्वका बेला घर छाड्ने धेरैजसो गाउँ फर्किएनन्। अवसर, अध्ययन र सुविधाका लागि गाउँ छाड्नेहरू त झन फर्किने कुरै भएन। कवि हेमराज पहारीलेको यो कवितांश रोल्पाका ती गाउँमा पनि सार्थक देखियो :

द्रव्यविहिन तन्नेरीले छाँडे डाँडाकाँडा

लुकिछिपी विदेशमा माझ्छन् रुँदै भाँडा

जल्दोबल्दो युवा पुस्ता विदेशतिर धाउँछ

मसानघाटको बूढो हड्डी स्वदेश फर्की आउँछ।

स्र्वर्गद्वारीको सिढी उक्लिँदासम्म समूहका सबैजसो भोकले लखतरान परिसकेका थिए। प्रतिष्ठानका उपाध्यक्ष गोविन्दराज पहारी भने उकालो सिँढी सबैभन्दा पहिले उक्लिनेमा दरिए। केहीले र्स्र्गद्वारीको दर्शन गरे, केहीले अवलोकन। विराटनगरबाट आएका साहित्यकार खेम नेपालीले भने, ‘भगवानमा कहिल्यै विश्वास गरिएन, मन्दिरको अवलोकन गरियो।’

स्र्वर्गद्वारीमा खाना बनाउने अर्डर दिएर हामीवरिपरि घुम्न थाल्यौँ। त्यहाँ सयौँको सङ्ख्यामा गाई पालिएका रहेछन्। बाच्छाबाच्छीसँग फोटो खिचाउनेको लाम नै लाग्यो। केही बालबालिका भने गुराँसका झुप्पाहरू ल्याएर हामीलाई किन्न भन्दै थिए। खाना खाएर स्र्वर्गद्वारीबाट फर्किदा ओरालो भएकाले गाडीको रफ्तार बढेको थियो। साँझ पर्न लागेकाले ट्राइभरले गाडीको गति तीव्र बनाए। मिजासिला ड्राइभरको घर उदयपुर रहेछ। घोराही आइपुग्दा होटलछेउको सहिद उमेशचन्द्र थापाको स्मृतिमा निर्मित प्रवेशद्वार पनि नदेखिने गरी अँध्यारो भइसकेको थियो।

१७ गते बिहान म एक्लै बजारको एक चक्कर लगाउन निस्किएँ। केही पुस्तक पसल चाहारेँ र दाङका साहित्यकारका कृति खोजेँ। तर, दुर्भाग्यवस पाँच-सात कृतिबाहेक अरु भेटिएनन्। बजारले बतायो : दाङका साहित्यकारका पनि पुस्तक पसलसम्म कृति कमै पुग्दा रहेछन्। अर्थात् अधिकांश पुस्तक शुभचिन्तकलाई बाँडेर नै सकिँदो रहेछ।

त्यसपछि बिहानै राप्ति साहित्य परिषद्ले पोखरा र अन्यत्रबाट गएका स्रष्टालाई स्वागत कार्यक्रम आयोजना गरेकाले हामी त्यतै लाग्यौँ। परिषद्को आफ्नै जग्गा र भवन रहेछ। राप्तिका सबै जिल्लामा यसका शाखा रहेछन् भने सबैभन्दा सुन्दर पक्ष संस्थामा सबै विचार समूहका सार्जक अटाएका रहेछन्।

कार्यक्रममा पोखरामा नै परिचय भएका प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष अमर गिरी पनि भेटिए। मैले साहित्यकार टीकाराम उदासीको गजलसम्बन्धीको सैद्धान्तिक कृति पढेर गजल लेखन सुरुवात गरेको थिएँ। उनै उदासी परिषद्का वरिष्ठ उपाध्यक्ष रहेछन्। उनीसँग निकै यादगार कुराकानी भयो। पूर्व परिचित मित्र साहित्यकार प्रमोद धितालसँग भने भेट हुन सकेन। परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले परिषद्को भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका रहेछन्। अग्रज पत्रकार नारायणप्रसाद शर्माले वामपन्थी र प्रजातान्त्रिक एकै ठाउँमा भएको साझा संस्थाका रुपमा परिषद् रहेको उल्लेख गरे।

१७ गते हामीलाई अलि बढी चटारो थियो, किनकि हामी केही घण्टापछि हुने ‘हेमराज पहारी स्मृति पुरस्कार-२०७१’ प्रदान समारोहको आयोजक थियौँ। नेपाल पत्रकार महासंघ दाङको कार्यालयमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष गोविन्दराज पहारीले स्वर्गीय हेमराज पहारीलाई कुशाग्र बुद्धि भएका विद्यार्थी, असल शिक्षक र  जनपक्षीय साहित्यकारका रुपमा चिनाए।

रुकुमका तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारी, अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला र म सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिस बमोजिम प्रतिष्ठानले परिषद्लाई पुरस्कार प्रदान गरेको थियो। पुरस्कारको राशी एक लाख र ताम्रपत्र थियो। राप्ति साहित्य परिषद्ले पुरस्कार पाएकोमा गौरवान्वित महसुस गर्दै पुरस्कार रकमलाई अक्षय कोषमा राखी वर्षेनि एक सर्जकलाई पुस्तक प्रकाशनमा सहयोग गर्ने सोही अवसरमा घोषणा भयो।

कार्यक्रममा ओखलढुङ्गामा जन्मेर काठमाडौँमा बस्ने गायिका इन्दु अंशुले हेमराज पहारीका केही गीत सुनाएर भावुक बनाइन्। प्रगतिशील लेखक संघ दाङका अध्यक्ष केशव आचार्य, यज्ञबहादुर डाँगी, कृष्णप्रसाद पौडेल, उत्तककृष्ण मजगैयाँ, हरिदेवी कोइराला, कृष्णप्रसाद बास्तोला, घनश्याम अस्तित्वलगायतले आ-आफ्ना रोज्जा कविता सुनाए।

अग्रज लोकगायिका हरिदेवी कोइरालाले वाङ्मयप्रेमीलाई आफ्नो चर्चित गीत ‘पाइनँ खबर’ सुनाएर भावुक बनाइन् भने कृशल नृत्याङ्गना भावना पौडेलले नृत्य गरी साथ दिइन्।   प्रतिष्ठानका अध्यक्ष रीता पहारीले हेमराजको जिवितै हुँदा एक संस्था स्थापना गर्ने धोको रहेको र त्यसलाई प्रतिष्ठानले मूत रुप दिएको बताइन्।

कार्यक्रम सकिएपछि हामी साँझ ६ बजेतिर घोराहीबाट हिड्यौँ। बास बस्न कपिलवस्तुको चन्द्रौटा पुग्यौँ। केही वर्षपहिले माओवादी प्रतिकार समूहका अध्यक्षको हत्या भएपछि त्यहाँ धेरै पहाडी मूलका नागरिकको घर जलाइएको थियो। सम्झेर मेरो मुटु सिरिङ भो। सबैजसो होटल भरिभराउ भएकाले हामी पूरैलाई अट्ने कोठाहरू पाइएको थिएन। कृष्ण बास्तोला र रामबहादुर कोइरालाले एक होटल पाइयो भनेर फोन गर्नुभो। एउटा कोठा कम भए पनि मिलेर बस्ने निधो गरियो। अर्को एउटा कोठा भने विशेष खालको रहेछ। हनिमुन जोडीका लागि बनाइएको भनिएको थियो। त्यो कोठमा को बस्ने भन्नेमा निकै बरे हँस्सिमजाक पनि भो। अन्त्यमा त्यो कोठा अग्रज गायिका हरिदेवी कोइराला र उहाँका श्रीमान् रामबहादुर कोइरालालाई दिइयो। भोलिपल्ट बसमा पनि कोठाको मिथक सकिएको थिएन। सरिता तिमिल्सिनाले हनिमुन कोठाको प्रसङ्ग उठाइरहिन्।

१८ गते बिहान यात्रा सुरु भएको भयो, यात्रासँगै जीवनमा पहिलोचोटि लामो यात्रामा दम्पत्तिसँगै निस्किएको बताउने रेवती पौडेलबाट लोकसाहित्यको स्वाद लिन पनि सुरु भयो। लोककथा, उखान, तुक्का र पुरानो चालचलन जीवन्त तवरले उनले सुनाएपछि हरिदेवी कोइरालाले तिनलाई रेर्कर्ड गरी प्रकाशन गनुपर्ने विचार सुझाव दिनुभयो। तराईको सिधा राजमार्गमा हाम्रो गाडी बत्तिइरहृयो।

नवलपरासीको रजहरमा रहेको ‘सामुदायिक प्राकृतिक चिकित्सालय’को अवलोकनपश्चात् हाम्रो टोली मौलाकालिकातर्फ लाग्यो। बिहानबाट चियाबाहेक नखाएको र यात्राले थाकेकाले म र चालक फेदिमै बस्यौँ। अरु मौलाकालिका दर्शनका लागि उकालो लागे। हामी भने यताउता केहीबेर भौतारियौँ र खाना खायौँ। मौलाकालिकाबाट नारायणघाट, मुग्लिन हुँदै पोखरा आइ पुग्दा साँझ परिसकेको थियो।

यस क्षेत्रमा यात्रा संस्मरणको खडेरी रहेको अवस्थामा ‘उत्तरी गोलार्द्धको एक फन्को’ नामक यात्रा संस्मरण २०६३ मा प्रकाशन गरेका साहित्यकार पहारीले जीवनकालमा अपनाएको बाटो र मागदर्शन अवलम्बन नै उनीप्रति सच्च श्रद्धाञ्जली हुने भएकाले सार्जकहरू त्यसतर्फ अग्रसर हुनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

hero news full width