नेपालमा बसाइँ सराइको अवस्था र यसका चुनौती

कृष्ण लामिछाने
माघ ५, २०८०

आफ्नो पुख्यौली थलो वा आफू बसोवास गरिरहेको ठाउँबाट अन्यत्र कुनै टाउँमा सरेर स्थायीरुपमा बसोबास गर्नुलाई बसाइँ सराइ भनिन्छ । बसाइँ स्थायी र अस्थायी गरी २ किसिमको हुन्छ । आन्तरिक बसाइँ सराइ र वाह्य अर्थात् अन्तर्राष्ट्रिय बसाइँ सराइ पनि हुने गरेकोे छ । अस्थायी बसाइँ सराइमा पुरानो र नयाँ ठाउमा दोहारो बसाइँ गरिरहेका अवस्था हुन्छ । यसरी द्वेधरुपले बसोबास गरिरहेका व्यक्तिहरुको दुवै ठाउँमा समान दायित्व बहन गरिरहेका हुन्छन् । तर उनीहरुको स्थायी ठेगाना, जन्म दर्ता नागरिकता र मतदान परचिय पत्र र अन्य पहिचनाका परिचय पत्रहरु, सामाजिक आर्थिक दायित्व पनि तुलनात्मक रुपमा स्थायी ठेगानामा बढी र अस्थायी ठेगानामा कम हुन्छ । नयाँ बसोवास गरिएको ठाउँको आधिकारिकता पनि स्वाभाविक रुपमा कम हुन्छ । उक्त अस्थायी र नयाँ बसोबास गरिएको ठाउमा उनीहरुलाई गरिने व्यवहार र दृष्टिकोण पनि फरक हुन सक्छ । अस्थायी बसाइँ सराइले गर्दा राष्ट्रिय तथ्यांकमा दोहोरो गणना हुने सम्भावना हुन्छ भने स्थायी बसोबास गरिरहेका व्यक्तिहरुको दोहोरो गणना हुने सम्भावना हुँदैन । उनीहरुको सामाजिक रआर्थिक दायित्त्व पनि स्पष्ट पारएिको हुन्छ । यसैगरि आन्तरिक बसाइँ सराइ र वाह्य बसाइँ सराइलाई राष्ट्रिय र अन्र्राष्ट्रिय बसाइँ सराइ भनेर पनि बुझ्न सकिन्छ । अन्तर्राष्ट्रिय बसाइँ सराइ देशका लागि अत्यन्त धातक हुन्छ । यसले दुरगामी रुपमा असर पारिरहेको हुन्छ । त्यसैगरी आन्तरिक बसाइँ सराइलाई पनि चर्चा गर्न सकिन्छ ।

हाल नेपालको जनगणना २०७८ को परिणामले पनि केही स्पष्ट तथ्यहरु उजागर गरेको छ । औषतरुपमा २०६८ को तुलनामा २०७८ मा जनसंख्या १.३५ प्रतिशबाट घटेर ०.९२ प्रतिशतमा झरेको छ । यसको मुख्य कारण जनसंख्या शिक्षाको बृद्धि, शैक्षिकस्तर तथा साक्षरताको प्रतिशतमा बृद्धि हो भनेर अनुमान गर्न सकिन्छ । यस जनगणनाबाट आन्तरिक बसाइँ सराइका केही महत्वपूर्ण तथ्य पनि बाहिर आएका छन् ।

जस्तैः काठमाडौं र पोखराजस्ता घना बस्तीहरु भएका सहरमा आन्तरिक बसाइँ सराइको प्रभाव अत्यन्त बढी छ । किनकि जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ बाट बृद्धि भएर २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको भए पनि जनसंख्या बृद्धिदर भने १.३५ बाट घटेर ०.९२ प्रतिशत पुगेको छ । काठमाडौंको जनसंख्या २०६८ मा १७ लाख ७४ हजार २ सय ४० थियो भने २०७८ आएर २० लाख ४१ हजार ५ सय ७८ अर्थात् १३.प्रतिशतले बृद्धि भएको छ ।

पोखराकोे जनसंख्या २०६८ मा ४ लाख २ हजार ९ सय ९५ थियो । अहिले झन्नै ३३ प्रतिशतले बढेर ५ लाख ९९ हजार ५ सय ४ पुगेको छ ।

विसं २०६८ मा तराईको जनसंख्या १ करोड ३३ लाख २ सय ४१ ५०.२७ प्रतिशत) बाट बढेर १ करोड ५६ लाख ४९ हजार ७ सय १३ अर्थात् कुल जनसंख्याको ५३.६६ प्रतिशत) पुगेको छ । यसैगरी २०६८ को पहाडी क्षेत्रको जनसंख्या १ करोड १३ लाख ९४ हजार ७ रहेकामा अहिले बढेर १ करोड १७ लाख ३८ हजार ७ सय ४३ छ । पहाडी जसंख्याको अनुपातिक आँकडा भने ४३ प्रतिशतबाट घटेर ४०.२५ प्रतिशत पुगेको छ । सबै भन्दा थोरै जनसंख्या बसोबास गरेको मनाङमा २०६८ को जनसंख्या ६ हजार ५ सय ३८ बाट २०७८ मा ५ हजार ६ सय ५८ अर्थात् १३.४५.प्रतिशतले घटेको छ ।

शिक्षा, स्वास्थ्य, रोजगारीका साथै उत्तम अवसरका खोजीमा मानिसहरु सहरकेन्द्रित हुन थालेका छन्

परिणामस्वरुप नेपालका पहाडी र दुर्गम क्षेत्रका पुराना बस्ती तथा गाउँघरका संरचनाहरु बिस्तारै बिग्रदै र भत्कँदै गएको अवस्था छ । खेतीयोग्य जमिन पनि विस्तारै बाँझो र सुख्खा बन्दै गइरहेका छन् ।
सहरी र समथर ठाउँहरुमा घना बस्तीको चाप दिनानुदिन बढ्दो क्रममा छ ।

बसाइँ सराइका केही वाध्यात्मक कारणहरु हुन्छन् । जस्तैः आन्तरिक जातीय, घार्मिक लडाइँ, झैझगडा, गरिबी भोकमरी, प्राकृतिक प्रकोप, राजनीतिक विवाद, सामाजिक विभेद, आर्थिक विपन्नता, ऋणको बोझ, बेरोजगरी, बहुविवाह, बाल विवाह, अनमेल विवाह, बलात्कार आदि पर्दछन् ।

बसाइँ सराइका केही आकर्षणका पक्षहरु पनि छन् । जस्तैः राम्रो रोजगारीको अवसर, स्वास्थ्य, शिक्षा र शान्ति सुरक्षाको राम्रो व्यवस्था हनु, धार्मिक सद्भाव र सहिष्णुता हुनु, नजिकका नातेदार र इष्टमित्रको सद्भाव हुनु, व्यक्तिगत रुपमा आदर र सम्मान प्राप्त गर्नु आदि छन् ।

बसाइँ सराइका विभिन्न फाइदा पनि छन् । जस्तैः नयाँ नयाँ अनुभव र ज्ञानको आदानप्रदान हुन सक्छ । बहुभाषिक र बहुसास्कृतिक वातावरण बन्दछ । नयाँ नयाँ विकास निर्माणका संरचना बन्न सक्छन् ।

पुराना खालका बस्ती तथा संरचनाहरुको आधुनिकीकरण हुन सक्छ । यान्त्रिकीकरणको प्रयोगलाई बढाउन सकिन्छ । नयाँ नयाँ उत्पादन र रोजगारीका अवसरहरुको खोजी गर्न सकिन्छ ।

बसाइँ सराइका विभिन्न बेफाइदा पनि छन् । जस्तैः दैनिक उपभोग्य वस्तु खाद्यान्न, लत्ताकपडा, आदिको अभाव भएर परवस्ती तथा परदेशको उत्पादनहरुमा निर्भर हुनुपर्ने हुनसक्छ । सामाजिक सद्भाव, सहिष्णुता, चालचलन, रीतिरिवाजमा बेमेल र वैमनस्यता पैदा हुन सक्छ । पुरानो बस्ती र नयाँ बस्तीकाबीचमा अस्वस्थ प्रतिस्पर्धा बढ्न सक्छ । वातावरणीय तथा ध्वनि प्रदुषण, रोगव्याधि, दुर्घटना, दुव्र्यवहार, ठगी, कालाबजारी आदि बढ्न सक्छ ।

यसरी बसाइँ सराइको विभिन्न प्रत्यक्ष र अप्रत्यक्ष कारणहरुले गर्दा जनसंख्याको चापमा विविधता आउनु तथा उतारचढाव आउनु भनेको पक्कै पनि दीर्घकालीन रुपमा कुल ग्राहस्थ उत्पादनका साथै राष्ट्रिय आयमा विचलन देखा पर्नु हो । जनसांख्यिक फेरबदलले नयाँ नयाँ विकास निर्माणका ठूला ठूला संरचनाहरुको योजना तर्जुमा र पुराना तथा चालु योजनाहरुको मर्मत सम्भारमा असर पर्न जानेछ । यसले गर्दा युवा तथा रोजगार मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार, राष्ट्रिय योजना आयोग र विभिन्न पालिकाका स्थानीयस्तरका साना तथा मझौला खालका योजनाहरुलाई ठूलो चुनौती देखापर्न सक्छ । तसर्थ देशका सम्बन्धित निकायहरु, प्रबुद्ध र बौद्धिक नागरिकहरु बेलैमा सचेत हुन जरुरी छ ।

लामिछाने अर्थशास्त्रका शिक्षक हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width