तापक्रम बिना जीवन असम्भव

कल्याण पन्त
असार १८, २०७६

पृथ्वीको बनावट, अक्ष र कक्ष, भौगोलिक स्थिति आदिका कारण ३ सय ६५ दिनै तातोपनमा विचलन आएको हुन्छ। पृथ्वीको भूमध्यरेखामा अधिकतम तातोपन हुन्छ भने उत्तरी र दक्षिणी धु्र्रवतिर बढ्दै जादाँ बिस्तारै तापक्रम घट्दै जान्छ। त्यसैले अक्षांश र उचाइ तापक्रममा परिवर्तन ल्याउने महत्त्वपूर्ण तत्व हुन्।

चौवीस घण्टाको दिन र रात मात्रै होइन, एकै दिनको बिहान, दिउँसो र रातको तापक्रममा पनि घटबढ हुन्छ। यति मात्र नभइ आज र भोलिपल्टको तापक्रम पनि ठ्याक्कै त्यत्ति नै हुँदैन। प्रकृतिमा देखिने यस प्रकारको वातावरणले सम्पूर्ण जीवजन्तु तथा वनस्पति आफ्नै तवरले हुर्किरहेका छन्। आफ्नो जीवनचक्र पूरा गरिरहेका छन्। ब्रह्माण्डमा समेत तातोपनको अन्तर छ। यसले जनावरदेखि वनस्पतिका वृद्धि तथा विकासमा निकै प्रभाव पार्दछ । उचित मात्रामा ताप भएन भने जीवन सम्भव हुँदैन।

पृथ्वीका कुनै पनि स्थानका तापक्रम एकनासको छैन, कहीँ गर्मी छ त, कहीँ जाडो। पृथ्वीको बनावट, अक्ष र कक्ष, भौगोलिक स्थिति आदिका कारण ३ सय ६५ दिनै तातोपनमा विचलन आएको हुन्छ। पृथ्वीको भूमध्यरेखामा अधिकतम तातोपन हुन्छ भने उत्तरी र दक्षिणी धु्र्रवतिर बढ्दै जादाँ बिस्तारै तापक्रम घट्दै जान्छ। त्यसैले अक्षांश र उचाइ तापक्रममा परिवर्तन ल्याउने महत्त्वपूर्ण तत्व हुन्। भूमध्यरेखाबाट जति टाढा हुन्छ, त्यतिनै जाडो बढ्दै जान्छ । त्यसरी नै सामान्यतया १ हजार मिटर माथि जादा ६ डिग्री सेन्टिग्रेडका दरले तापक्रम घट्दै जान्छ। यी बाहेक अन्य तापक्रम घटबढ गराउने अन्य तत्वहरु पनि छन्। यी तत्वहरुमा आद्र्रता, वनस्पति, रंग, र माटोको बनोट, वर्षा, पहाड, पर्वतको दिशा, भिरालोपन, माटोमा पानीको मात्रा आदि हुन्। धेरै जीवहरु शून्य डिग्रीदेखि ५० डिग्री सेन्टिग्रेडसम्म बाँच्दछन्। तर सामान्यतया २५ डिग्री सेन्टिग्रेडसम्मको तापक्रममा धेरै वनस्पति तथा प्राणी सहज रुपले बाँचेका देखिन्छ। तापक्रममा फरक नहुने हो भने जीवन असम्भव जस्तै हुन्छ। भिन्न प्रकारको वातावरण तापक्रमकै अन्तरले हुन्छ। यस अवस्थामा विभिन्न प्रकारको खेतीपाती गर्न सम्भव हुन्छ।

वनस्पतिमा तापक्रमको प्रभाव

उत्सेदन क्रियाः हरेक वनस्पतिले धेरै या थोरै मात्रामा वाफको रुपमा पानी फाल्ने गर्दछन्। जराले तानेको पानी हरेक पात मार्फत बाहिर फ्याँक्ने क्रियालाई उत्सेदन वा टान्सपिरेसन भनिन्छ। घाम लागेको बेलामा यो उत्सेदन क्रिया बढी हुन्छ भने छायाँ या रातमा अत्यन्तै कम हुन्छ। पातका अतिरिक्त अन्य भाग जस्तैः डाँठ, बोक्राहरुमा पनि यो क्रिया हुन्छ तर हरेक पातमा स्टोमाटा भन्ने ससाना प्वाल पातमा धेरै हुने हुँदा यसबाट बढी पानीको वाफ बाहिर निस्कन्छ। स्टोमाटा घाम लागेको बेला खुल्ने गर्दछ र वाफ यही बाटो भएर बाहिर निस्कन्छ। सागलाई प्लास्टिकमा पोको पार्दा केही समयपछि पसिना आएको जस्तो पनि देखिन्छ। यो उत्सेदन भएको प्रमाण हो। बढी तापक्रममा धेरै उत्सेदन हुन्छ, कम तापक्रममा कम।

जराको पानी माथि चढ्नेः बढी तापक्रम भएको अवस्थामा जराबाट पानी टुप्पोतिर जाने प्रक्रिया छिटो हुन्छ भने कम तापक्रम भएको अवस्थामा अर्थात् जाडो वा रातको समय जुन बेला चिसो हुन्छ, त्यतिबेला अत्यन्तै थोरै मात्रामा पानी माथि चढ्छ। बोटबिरुवाले पानी शोषण गर्दा पनि तापको आवश्यकता पर्दछ।

प्रकाश संस्लेषण क्रियाः हरेक बोटबिरुवाले आफ्नो खाना आफै बनाउँदछ। यो खाना बनाउने विधिलाई अंग्रेजीमा फोटोसिन्थेसिस वा प्रकाश संस्लेषण क्रिया भनिन्छ। खाना बनाउँदा सूर्यको प्रकाश, पानी, हरितकण र कार्वनडाइअक्साइडको आवश्यकता पर्दछ। शून्य डिग्रीको तापक्रमदेखि ५ डिग्रीको तापक्रममा फोटोसिन्थेसिस कम हुन्छ भने ६ डिग्री सेन्टिग्रेडदेखि ३७ डिग्रीसम्मको तापक्रमसम्म धेरै खाना बनाउँदछ।

श्वासप्रश्वासः सामान्यतया बोटविरुवामा ६ डिग्री सेल्सियसदेखि ४५ डिग्री सेल्सियस तापक्रमसम्म इन्जाइम कोष सक्रिय रहने हुँदा श्वासप्रस्वास दर बढ्दो क्रममा हुन्छ। तर यसभन्दा कम र बढी तापक्रम भएमा श्वासप्रश्वास दर कम हुँदै जान्छ।

बीउ अंकुरणः कुनै पनि बोटबिरुवाका बीउ उम्रनको लागि निश्चित तापक्रमको आवश्यकता पर्दछ। तापक्रमले बीउ अंकुराउन सहयोग पुर्याउदछ। उदाहरणको लागि बेथेको सागको बीउ उम्रन मंसिर पुसको कम तापक्रम बारीमा उम्रन्छ। यसभन्दा बढी वा घटी तापक्रममा बीउ उम्रन सक्दैन। धानको बीउ ब्याडमा राख्नु अघि पानीमा एकदुई रात राखेर छर्ने गरिन्छ। यसो गर्नु पनि तापक्रम मिलाएर उमार्न सहज पुर्याउनु हो।

माटोबाट पानीको शोषणः सामान्यतया २० डिग्री सेल्सियसदेखि ३० डिग्री सेल्सियसको तापक्रममा बिरुवाले सजिलैसित पानी शोषण गर्न सक्दछ। त्यस भन्दा कम वा बढीमा पानी सोस्ने क्षमता कम हुन्छ।

बृद्धि र विकासः एकदमै कम वा बढी तापक्रममा बोटबिरुवाको बृद्धि तथा विकास रोकिन्छ। सामान्यतया २५ डिग्री सेल्सियस बिरुवा बृद्धि तथा विकासका लागि चाहिने तापक्रम हो।

फूल फुल्नेः फूल फुल्नको लागि पनि निश्चित सूर्यको किरण पर्ने समयको आवश्यकता रहन्छ। यसलाई फोटो पिरियड वा प्रकाश अवधि भनिन्छ। लामो दिनमा फुल्ने वनस्पति र छोटो दिनमा फूल फुल्ने वनस्पति बिलकुल फरकफरक हुन्छ। प्रकाशसित सम्बन्ध नराख्ने वा अलिकति प्रकाश भए पनि फुल्ने बोटबिरुवाहरु गोलभेंडा, कपास, तिउरे फूल हुन्।

वनस्पतिका वर्गीकरणः तापक्रमकै आधारमा केही वनस्पतिहरु वर्गीकृत गरिएका छन्। जस्तो कि जहाँ वर्षैभर धेरै तापक्रम रहन्छ, त्यस्ता स्थानका वनस्पतिलाई मेगाथर्म वनस्पति भनिन्छ, जस्तैः उष्ण क्षेत्रमा हुने जंगल। त्यस्ता वनस्पति जहाँ धेरै र थोरै तापक्रम भएको मौसममा पाइने वनस्पतिलाई मेजोथर्म वनस्पति भनिन्छ, जस्तैः उष्ण पतझर जंगल। जुन स्थानको वनस्पति वर्षैभर कम तापक्रम रहन्छ, त्यस्तो प्रकारको वनस्पतिलाई माइक्रोथर्म वनस्पति भनिन्छ। जस्तैः मिश्रित कोणधारी जंगल। त्यसरी नै अत्यन्तै चिसो स्थानमा पाइने वनस्पतिलाई हेकिस्टोथर्म वनस्पति भनिन्छ, जस्तैः हिमाच्छादित क्षेत्रका वनस्पति।

जीवजन्तुमा तापक्रमको प्रभाव

तातो या चिसोको मात्रालाई तापक्रम भनिन्छ। यसले वनस्पतिमा मात्र होइन, जीवजन्तुमा पनि उत्तिकै प्रभाव पार्दछ। वायुमण्डलको तापक्रम अक्षांश, उचाइ, भौगोलिक अवस्था, भिरालोपन मौसम, वनस्पति, आद्र्रता आदिमा भर पर्दछ।

वृद्धि तथा विकासः निश्चित तापक्रममा जीवहरुको वृद्धि तथा विकास हुन्छ। तापक्रम मिलेन भने जीव बाँच्ने सम्भावना कम हुन्छ। जस्तो कि हिमालमा पाइने हिउँ चितुवा तराई जस्तो गर्मी ठाउँमा ल्याएर छोडिने हो भने बाँच्न गाह्रो हुन्छ। जलचर माछा, किराजस्ता जीवलाई पनि अलिकति पानीको तापक्रम बढ्ना साथ भकाभक मर्न थाल्छन। त्यसैले हरेक जीवजन्तु राम्ररी बढ्न र हुर्कनको लागि निश्चित मात्रामा तापक्रम चाहिन्छ।

सन्तानोत्पत्ति क्रियाः सन्तानोत्पत्ति अंगको परिपक्वताका लागि पनि निश्चित तापक्रमको आवश्यकता पर्दछ। शुक्रकिट र अण्डा समयमै परिपक्व वा विकसित हुनको लागि तातोपनको भूमिका निकै नै हुन्छ, जसले मासुजन्य खानेकुरा खान्छ, त्यति बेला शरीरमा बढी तापक्रम हुने हुँदा रजस्वला हुने क्रिया छिटो हुन्छ। यसबखत अण्डा पनि बनिसकेको हुन्छ।

छालाको रंगः गर्मी ठाउँमा बस्ने जीवजन्तुको छालाको रंग केही गाढा कालो हुन्छ भने चिसो ठाउँमा बस्नेको छाला केही हल्का कालो हुन्छ। यो तापक्रमकै प्रभाव हो। तराईमा बस्नेका छाला केही हदमा कालो र पहाडतिर बस्नेहरु केही मात्रामा गोरो हुन्छन्।

आकारप्रकारः जीवजन्तुको आकारप्रकारमा देखिने भिन्नता पनि तापक्रममा भर पर्दछ, जस्तो कि जाडो ठाउँमा पाइने चरा र स्तनधारी प्राणीहरु गर्मी ठाउँको तुलनामा केही ठूला हुन्छन्। चिसो रगत भएका भ्यागुता, सर्प आदिका शरीर चिसो स्थानमा अल्लि साना आकारप्रकारका हुन्छन्। त्यसरी नै चिसो ठाउँमा बस्ने स्तनधारीका पुच्छर, थुतुनो, कान, र खुट्टा तुलनात्मक रुपमा केही छोटाजस्ता देखिन्छन्।

जैव रसायन प्रक्रियाः शरीरमा खाएको पच्ने नपच्ने पनि तापक्रममा भर पर्दछ। जाडो याममा धेरै खानेकुरा पच्दछ भने गर्मी याममा केही कम। शरीरमा जैव रसायन १० डिग्री सेल्सियस हुँदासम्म बढी सक्रिय हुन्छ। घरमा हुने साङ्ला र झिंगा गर्मी याममा बढी सक्रिय हुन्छन् भने जाडो याममा हराउँछन्। त्यसरी नै शून्य डिग्रीको पानीमा माछाले आफ्नो अण्डा कोरल्न ७ हप्ता लाग्छ भने १५ डिग्रीको पानीमा एक हप्तामै भुराहरु निस्कन्छन्।

शीतनिद्राः केही उभयचर, घस्रेर हिंडने जीव, कीरा र चमेरा आदि हिउँदमा कम तापक्रम हुने हुँदा सुस्त लाटो जस्तै बन्दछन्। यी यस्ता जीव जमीनमुनि छ महिनासम्म लुकेर बस्छन्। जब जमीन तातेर आउछ, अनि मात्र बाहिर निस्कन्छन्। तातोपनकै असरले गर्दा शीत निद्रामा जीवहरु पर्दछन्।

समग्रमा भन्दा तापक्रम हरेक प्राणी तथा वनस्पतिका लागि जिउने आधार हो। यो बिना जीवनको वृद्धि र विकास पनि सम्भव छैन। तसर्थ वनस्पतिमा तापको छुट्टै महत्त्व छ भने प्राणीमा पनि उत्तिकै महत्त्व छ।

Related News

सम्बन्धित समाचार

hero news full width