होम क्वारेन्टाइनमा बस्नेलाई परामर्श दिंदै वालिङ नगरपालिका

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७६
waling-nagarpalika

वालिङ, १८ चैत । वालिङ नगरपालिकाले होम क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिनुकासाथै आवश्यक परामर्श दिने गरेको छ ।स्वास्थ्यकर्मीहरुले विदेशबाट फर्किएकाहरु प्रत्येकको घर/घरमा पुगेर होम क्वारेन्टाइनमा बसाल्नुकासाथै आवश्यक परामर्श दिने गरेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । नगरभित्रका १४ वटै वडामा होम क्वारेन्टाईनमा बसेका एकसय १६ जनाको घर/घरमै पुगेर विवरण अध्यावधिक गरेका छौं” नगर प्रमुख खाँणले भने “पहिलो चरणमा सबैको घर/घरमै पुगेर विवरण संकलनसहित आवश्यक परामर्श दिएका थियौं भने दोस्रो चरणमा घर/घरमै पुगेर वा फोन सम्पर्कमार्फत दैनिक स्वास्थ्य अवस्था बुझ्नुकासाथै आवश्यक परामर्शसमेत दिने गरेका छौं ।”

विश्वब्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि विशेषगरी विदेशबाट फर्र्किएकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै दैनिक भेटघाट तथा फोन सम्पर्कमार्फत अवस्था बुझ्ने र आवश्यक परामर्श दिने ब्यवस्था मिलाइएको नगर प्रमुख खाँणले बताए । “१४ वटै वडाभित्र रहेका विभिन्न टोल विकास संस्थामार्फत टोलमा विदेशबाट आउने ब्यक्तिको सूचना प्राप्त हुने ब्यवस्था मिलायौं” नगर प्रमुख खाँणले भने “टोल विकास संस्थाका प्रतिनिधिले वडा वा नगरपालिका कार्यालयमा दिनुभएको सूचनाका आधारमा उहाँहरुको घर/घरमा पुगेर स्वयं ब्यक्ति र घर परिवारलाई सँगै राखेर सुझाव तथा परामर्श दिएका हौं जसले गर्दा यो प्रभावकारी बन्न पुग्यो ।”

विदेशबाट फर्किएका सबैको घर/घरमा पुगेर उहाँहरुको सबै विवरण खुल्ने गरी तथ्यांक संकलन गरिएको छ भने होम क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने शर्तहरुलाई कडाईका साथ कार्यान्वयन गर्न पनि निर्देशन दिइएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । “विदेशबाट फर्किएको दुई हप्ता पूरा नभएसम्म घर परिवारसँग नबसी छुट्टै बस्न र अन्यत्र हिडडुल नगर्न सुझाव दिएका छौं” स्वास्थ्य प्रमुख पाण्डेले भने “होम क्वारेन्टाइनमा बसेकाहरुको दैनिक तापक्रम मापन गरी तथ्यांक राख्न र असजिलो महशुष भएमा तुरुन्त स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेका छौं ।”

वालिङमा होम क्वारेन्टाइनमा बसेकाहरु सबै एकसय १६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । होम क्वारेन्टाइनमा बस्नेहरुलाई अनिवार्यरुपमा शर्तहरु पालना गर्न, स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा स्वास्थ्य संस्थामा जान वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न, रोग सर्ने तरिका, बच्ने उपाय तथा यसका लक्षणहरुकाबारेमा आँफू पनि सचेत रहन र घर परिवारलाई पनि सचेत बनाउनका लागि सुझाव दिने गरिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । लकडाउनको सातौं दिन सोमबारसम्म वालिङ नगरपालिकामा एकसय ९ पुरुष र ७ महिला गरी कूल एकसय १६ जना होम क्वारेन्टाइनमा बसेकामा २१ जनाको दुई हप्ता पूरा भएको छ । वालिङ नगरपालिकामा विदेशबाट आउनेहरुमा सबैभन्दा धेरै भारतबाट ८० जना, दुबईबाट २६, दक्षिण कोरियाबाट २ जना छन् । बंगलादेश, हङकङ, मलेसिया, ओमन, पोर्चुगल, कतार, स्लोभानिया र युकेबाट एक/एक जना गरी कूल एकसय १६ जना रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width