गण्डकी प्रदेशमा अत्यावश्यक वाहेकका सवारी साधनमा रोक

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७६
tourist-bus

पोखरा, १० चैत । गण्डकी प्रदेशले अत्यावश्यक बाहेकका सवारी साधन संचालनमा रोक लगाउने भएको छ । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न गठित उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले मंगलबारदेखि सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरेको हो ।

बैठकले गण्डकी प्रदेश जोडिने नाकाहरु नवलपुरको त्रिवेणी, तनहुँको आँबुखैरेनी, स्याङ्जाको राम्दी र बाग्लुङको बुर्तिबाङ नाका बन्द गर्ने निर्णय गरेको छ । नवलपुरको त्रिवेणी नाका भारतसँग जोडिएको छ, उक्त नाकाबाट अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । बैठकले प्रदेशभित्र रहेका अत्यावश्यक बाहेकका पसल एवं व्यवसाय समेत बन्द गर्न आह्वान गरेको छ। तरकारी, फलफूल, खाद्यान्न, दुध, ग्यास, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सेवाका पसल भने नियमित संचालन हुने बताइएको छ ।

प्रदेशमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखराको लेखनाथस्थित लेखनाथ सामुदायिक लायन्स अस्पताल ६० बेडको कोरोना विशेष उपचार अस्पताल बनाउने भएको छ। त्यस्तै पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रमा ६० जना बस्न मिल्ने गरी क्वारेनटाइन निर्माण गर्ने निर्णय गरेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।उनका अनुसार, यो अस्पताल र क्वारेनटाइन अपुग भएमा पोखराकै मातृशिशु अस्पताल र क्वारेनटाइनका लागि पोखरा रंगशालाको कभर्ड हल प्रयोग हुने बताइएको छ । निर्देशक समितिका संयोजक एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णयहरु तदारुकताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । बैठकमा मुख्यमन्त्री गुरुङले नाकाहरुमा कडाईका साथ अनुगमन गर्न र नेपाल सरकार तथा प्रदेश सरकारका निर्णयहरु कडाईका साथ लागू गर्न आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै