वनमा धार्मिक पर्यटन भित्र्याउन जुट्दै आँटीघरबासी

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७६
Attighar

पोखरा महानगरपालिका वडा नं २० मौजास्थित आँटीघरका बासिन्दा यतिबेला धार्मिक पर्यटनको विकासका लागि जुटेका छन् । स्थानीय घघाम सामुदायिक वन क्षेत्रमा धार्मिक पर्यटनको विकासका लागि उनीहरु जुटेका हुन् । वनभित्र रहेको काजी घघान गुफा र ठूलो घघान गुफालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि प्रारम्भिक तयारी शुरु गरिएको छ ।

परापूर्वकालदेखि नै पूजा गर्ने गरिएको ठुलो घघाम गुफामा फागुन २२ गते देवीदेवताका मूर्ति भेटिएपछि त्यहाँ दैवी शक्ति प्रकट भएकाले धार्मिक पर्यटनको सम्भावना देखिएको स्थानीयको भनाइ छ । आँटीघरका पूर्खाले पुज्ने मध्ये घघाम देवता एक हुन् । घघाम देवतालाई वर्षमा २ पटक उधौली र उभौलीमा पूजा गर्ने गरिन्छ । लाहुरेहरुले घघाम देवतालाई सम्झिएपछि युद्वमा विजय हुने र आपतको बेला सम्झिएपछि समस्या समाधान हुने किवंदन्ती समेत छ ।गुफा क्षेत्रमा कुनै नराम्रो क्रियाकलाप गर्दा चोटपटक लाग्ने, विमारी पर्ने र असिनाले क्षति पु¥याउने जनविश्वास समेत रहदै आएको छ ।

काजी घघाम गुफामा भने विभिन्न आकृतिहरु देख्न सकिन्छ । नाग, महादेव, पार्वती, सरस्वती, गणेश, भेडा, गाईको आकृति देख्न सकिने घघाम सामुदायिक वनका उपाध्यक्ष तिलबहादुर गुरुङले जानकारी दिए । एक सय २२ घरधुरी लाभान्वित हुँदै आएको वन क्षेत्रमा धार्मिक पर्यटनको विकास गर्न सके स्थानीयको आय आर्जनमा टेवा पुग्ने वनका अध्यक्ष टेकबहादुर गुरुङको भनाइ छ । ‘धार्मिक पर्यटनको विकासका लागि तयारी शुरु गरेका छौं, अध्यक्ष गुरुङले भने, ‘अब पहिलो चरणमा घघाम मन्दिर र पदमार्ग व्यवस्थित गर्न केन्द्रित बन्छौ।’
दुई सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रमा वन्यजन्तु र पंक्षीका प्रजाती पनि पाइन्छ । चितुवा, स्याल, लंगुर, बादर, दुम्सी, खरायो, लोखर्के, न्याउरीमुुसा, वन बिरालो, मलसाप्रो, निगाले चितुवा समेत देख्न पाइन्छ ।

त्यस्तै, ढुकुर, वन कुखुरा, तित्रा, जुरेली, भद्राई, लाटोकोसेरो, कोकले र बाज लगायतका पंक्षीको समेत बासस्थान रहेको छ । वनमा चिराईलो, सतुवा, भकिमिलो, तेजपात र गुर्जाेलगायतका महत्वपूर्ण जडिबुटी समेत उत्पादन हुन्छ । आँटीघरदेखि करीब नौ किलोमिटर दुरीमा रहेको वन क्षेत्रमा करीब १ घण्टा पैदलयात्रामा पुग्न सकिन्छ ।समुन्द्र सतहदेखि १ हजार २ सय १० देखि २ हजार ५० मिटरसम्मको उचाईमा वन क्षेत्र रहेको छ । प्रारम्भिक तयारी स्वरुप नै वन कार्यालयका कर्मचारी र आँटीघरका बासिन्दाले संयुक्त रुपमा गुफासँगै वन क्षेत्रको अवलोकन समेत गरेका छन् । वनका अध्यक्ष टेकबहादुर गुरुङ, उपाध्यक्ष तिलबहादुर गुरुङ, सचिव वीरबहादुर गुरुङ, कोषाध्यक्ष दुर्गाबहादुर गुरुङ, मौजा सामुदायिक होमस्टेका सचिव प्रकाश गुरुङ, पोखरा सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत ममता शर्मा र वन रक्षक हिमलाल गौतमलगायतको टोलीले अवलोकन गरेको थियो ।
सहायक वन अधिकृत ममता शर्माले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन प्रवद्र्वनमा सहयोग गर्ने भएकाले वन क्षेत्रमा धार्मिक पर्यटन र पर्यापर्यटनको सम्भावना बारे चासो दिएर अध्ययन गरिएको बताइन्। ‘सम्भावना बारे अध्ययन गरेका छौं, उनले भनिन,‘आवश्यक सहयोग गर्न तयार छौं।’

आँटीघरमा नै भ्यूटावरको निर्माण पनि गरिने भएको छ । आउँदो असार मसान्तसम्म निर्माण सक्ने गरी काम अघि बढाइने निर्माण समितिका सदस्य प्रकाश गुरुङले जानकारी दिए ।
करीब २९ लाखको लागतमा भ्यूटावर निर्माण गर्न लागिएको हो । पोखरा महानगरपालिका वडा कार्यालय २० को चार लाख रुपैया र संघीय सरकारको २५ लाख लगानीमा टावर निर्माण गरिने छ । भ्यूटावरबाट पोखरा, मादी गाउँपालिका, मौजासहित माछापूच्छ, अन्नपूर्ण, धवलागिरि हिमश्रृङ्खला अवलोकन गर्न सकिने सदस्य गुरुङको भनाइ छ ।
उनले धार्मिक पर्यटन, होमस्टे, भ्यूटावर र हाई अल्टिच्युटमा बन्न लागेको खेल मैदानले त्यसक्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
फोटो छ आँटीघर ।

Related News

सम्बन्धित समाचार

hero news full width