कोरोनाको सचेतनासँगै निःशुल्क मास्क

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६
PHOTO – Very heavy rainfall_Quebec Canada – iStock-608482138 – 1125×534 – Landscape

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र नेपाल भारत युथ सोसाइटीले पोखरामा निःशुल्क मास्क वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसबाट जोगिने उपाय सिकाउँदै मंगलबार वीपीचोकबाट मास्क वितरण गरिएको हो । करिब १ हजार ५ सय जनालाई मास्क वितरण गरिएको सोसाइटी अध्यक्ष प्रेम बरालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले कोरोना भाइरसविरुद्धको सचेतनाका लागि कार्यक्रम गरिएको सुनाए । ‘हामीहरु खाना खानुअघि हात नधुने रहेछौं । खाना खाएपछि पनि राम्रोसँग हात नधुने रहेछौं । ट्वाइलेट गएपछि झन् कसैले हात धुँदैन रहेछन्,’ उनले भने, ‘हामीले चोकमा भेटिएकालाई हात धुन सिकायौं । कोरोना भाइरसबाट बाँच्ने उपायबारे भन्यौं ।’यो कार्यक्रम आगामी दिनमा पनि गरिने सोसाइटी सल्लाहकार अख्तर आलमले जानकारी दिए । ‘अहिले शुरु गरेका हौं । यस्तै अवस्था रहिरह्यो भने आगामी दिनमा पनि गर्न सकिन्छ,’ उनले भने, ‘मास्क वितरण गरे पनि मुख्य अभियान भनेको कोरोनाबाट जोगिने उपायबारे जानकारी गराउनु नै हो ।’

मास्क अभाव खेपिरहेको पोखरामा निःशुल्क मास्क पाउँदा सर्वसाधारण खुसी भएका थिए । अहिले कोरोना भाइरसको छेकोमा मास्कको मूल्य समेत बढाइएको छ । नियमित रुपमा १० रुपैयाँमा खरिद गर्ने मास्क हाल ३० रुपैयाँसम्म लिने गरेको उपभोक्ताको गुनासो छ । मेडिकल व्यवसायीहरुले चाहीँ दोश्रो बाटोबाट मास्क ल्याउँदा महँगो पर्ने र महँगोमै बिक्री गर्नुपरेको बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width