सहकारीलाई कार्यकुलशता कार्यशाला

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७६

पोखरा । पोखरा–१, बगरस्थित आस्था बचत तथा ऋण सहकारी संस्था लि. ले एक दिवसीय कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गरेको छ । नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कून) ले सञ्चालनमा ल्याएको स्तरीकरण कार्यक्रम (प्रोवेसन) मा सहभागी गण्डकी क्लस्टर–१ मा पोखराका आस्था साकोस लगायत ७ र पाल्पा, गुल्मी, र लमजुङका गरी १० संस्था सहभागी रहेको आस्था साकोसका सचिव नारायणप्रसाद आचार्यले बताए ।

प्रमुख अतिथि जिल्ला सहकारी संघ लि., कास्की अध्यक्ष रविरमण तिवारीले कार्यशाला उद्घाटन गर्दै साकोसहरुले अत्यन्त ध्यानपूर्वक तथा मितव्ययी ढंगबाट बचत र ऋण परीचालन गरी सदस्य हितमा केन्द्रित रहेर कार्यक्रम गर्नुपर्ने बताए ।उनले सबै साकोसहरुलाई स्तरीकरणमा सहभागी भई संस्थालाई नीति, प्रविधि र सुशासनयुक्त भई सदस्य केन्द्रित संस्था निर्माणमा आजैदेखि लागिपरेमा सहकारीको भविष्य उज्ज्वल हुने बताए । कास्की बचत तथा ऋण सहकारी संघ कोषाध्यक्ष शेरबहादुर कार्कीले स्तरीकरण कार्यक्रममा समावेश भएपछि अन्य संस्थाभन्दा फरक शैली, आचारण र प्रविधियुक्त तवरबाट संस्था सञ्चालन हुने कुराको अनुभूति भएको बताए ।

कार्यक्रममा प्रोवेसन ब्राण्ड प्राप्त गर्न सफल सोही क्लष्टरको संस्था लेकाली स्वावलम्बन साकोस, गुल्मीलाई दोसल्ला सहित सम्मान गरियो ।प्रमुख सहजकर्ता नेफ्स्कूनका वरिष्ठ अधिकृत भरतप्रसाद न्यौपानेले संस्थाको वित्तीय विश्लेषण लगायत सदस्य केन्द्रियताका विविध सूचकाङ्क अध्ययन गरी निर्धारित स्तर नपुग भएका सूचकाङ्कमा तुरुन्त कार्ययोजना बनाई संस्थाको स्तरीकरणमा जोड दिए । उनले आगामी कार्यशाला गौरीशंकर साकोस, हेमजाको आयोजनामा जेठ १७ मा हुने जानकारी गराए ।आस्था साकोसमा भएको कार्यक्रमको अध्यक्षता आस्थाका अध्यक्ष जगन्नाथ अधिकारीले गरेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष नीलकण्ठ आचार्य र सञ्चालन सचिव नारायणप्रसाद आचार्यले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width