जनप्रियमा खानेपानी प्लान्ट

आदर्श समाज सम्वाददाता
माघ १७, २०७६
pani tanki

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसमा प्रशोधित शुद्ध खानेपानी प्लान्ट बिहीबार शुभारम्भ गरिएको छ । सात लाख ५० हजार रुपैयाँ लगानीमा स्थापना भएको प्लान्टका लागि पोखरा ८ वडा कार्यालयबाट २ लाख नगद सहयोग प्राप्त भएको थियो ।

चौबीसै घण्टा ५ सय लिटर पानी उपलब्ध हुने प्लान्टमा ६ वटा धाराको व्यवस्था छ । यसअघि क्याम्पसले आफ्नै परिसरमा १० लाख खर्च गरेर पानी बोरिङ गरिसकेको क्याम्पस प्रमुख बिरञ्जी गौतमले बताए ।
छात्राका लागि सेनेटरी प्याड मेसिन यसअघि नै सञ्चालनमा आएको छ भने क्याम्पस हाताभित्र चमेनागृह, पुस्तकालय, कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाले संचालित छन् । सरस्वती पूजा अवसरमा भएको सो कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल, क्याम्पसका कार्यवाहक अध्यक्ष वीरबहादुर अधिकारी र निवर्तमान अध्यक्ष इन्द्रबहादुर कुँवरले क्याम्पस हाताभित्र निर्मित खानेपानी प्लान्टको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वडाध्यक्ष बरालले आफ्नै वडामा सञ्चालित नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पससँग साझेदारी गरी प्रशोधित खानेपानी उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताए । क्याम्पसलाई स्थानीय तहसँग सहकार्य गरेर अन्य आवश्यक पूर्वाधार थप्न आग्रह गरे ।क्याम्पसका कावा अध्यक्ष अधिकारीले मानित विश्वविद्यालयतर्फ उन्मुख क्याम्पसमा प्रशोधित खानेपानी व्यवस्थापनले शैक्षिक गुणस्तरमा सहयोग पुर्याउने बताए । सिर्जना विकास केन्द्रको पहल र प्रयासमा स्थापित सामुदायिक क्याम्पसलाई अझै सुविधा सम्पन्न बनाउने प्रतिबद्धता गरे । निवर्तमान अध्यक्ष कुँवरले बोत्तलको पानी किनेर खानुपर्ने बाध्यता अन्त्य गर्न प्रशोधित खानेपानी प्लान्टको अवधारण ल्याएको बताए । उनले २ सय बढी कर्मचारी, शिक्षक र ५ हजार विद्यार्थी रहेको क्याम्पसमा सो सुविधा उपलब्ध हुनु खुसीको कुरा बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width