फेवा सहकारीको २१ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
पौष ९, २०७६
Fewa_Fotor

फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सहकारी सदस्यबाट मृगौला पीडितका लागि संकलित सहयोग रकम हस्तान्तरण गरिँदै।  तस्वीर : आदर्श समाज।

पोखरा ८, सिर्जनाचोकमा कार्यालय रहेको फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ५० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्न सफल भएको छ।

संस्थाले मंगलबार पोखरामा आयोजना गरेको २१ औं वार्षिकोत्सव अवसरमा संस्थाका प्रबन्ध निर्देशक हरिभक्त पौडेलले सो जानकारी दिएका हुन्। पौडेलका अनुसार संस्थाले मंसिर मसान्तसम्म कुल ५० करोड ३७ लाख ९० हजार २ सय ९२ रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको हो।

यसैगरी कर्जा लगानी भने ५३ करोड ६ लाख ९३ हजार ८ सय ८७ रुपैयाँ रहेको छ। उल्लेखित अवधिसम्म संस्थाको खर्च १ करोड ८६ लाख रुपैयाँभन्दा बढी र आम्दानी भने ३ करोड ३३ लाख रुपैयाँभन्दा बढी रहेको जनाइएको छ। सहकारीको नाफा भने १ करोड ४७ लाख १० हजार दुई सय ८३ रुपैयाँ रहेको छ।

स्थापनाकालमा सहकारीमा २७ जना सदस्य रहेकोमा हाल त्यस्तो संख्या १ हजार ४ सय पुगेको कार्यक्रम संयोजक एवं संस्थाका संचालक पूर्णभद्र अधिकारीले जानकारी दिए।

४७ हजार ५ सय रुपैयाँबाट कारोबार शुरु गरेको संस्थाले हाल त्यस्तो कारोबार रकम ६६ करोड ६८ लाख रुपैयाँ भन्दा बढी पुर्याएको छ। संस्थाको शेयर पुँजी ८ करोड ६९ लाख रुपैयाँ रहेको छ। जिरो किलोमिटरमा संस्थाले आफ्नै नयाँ भवन पनि निर्माण गर्दै गरेको र छिट्टै सोही भवनबाट कारोबार संचालन गरिने सहकारीले जनाएको छ।

पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै सहकारीहरु आफ्नो मर्म अनुसार चल्दै उद्यमशिलता र रोजगारी अभिवृद्धितर्फ अग्रसर हुनुपर्ने बताए। फेवा सहकारी यसप्रकारको उद्देश्यमा सफल रहेको विश्वास पनि उनले सो अवसरमा व्यक्त गरे।

कार्यक्रममा मृगौला रोगबाट पीडित सहकारी सदस्यद्वय खुमबहादुर गुरुङ र सुन्दर परियारका लागि कार्यक्रममा प्रमुख अतिथि नेपाली र सहकारीका अध्यक्ष एवं कार्यक्रमका सभापति क्याप्टेन चन्द्रप्रसाद गुरुङको हातबाट सहयोग रकम हस्तान्तरण गरिएको थियो।

सहकारीतर्फबाट दुवै पीडितका लागि १०/१० हजार रुपैयाँ र कार्यक्रमका सहभागीबाट उठाइएको ११/११ हजार रुपैयाँ गरी प्रति पीडित २१ हजार रुपैयाँ दरले सहयोग रकम हस्तान्तरण गरिएको हो। कार्यक्रम संचालन सहकारीका सहप्रबन्धक जगन तिमिल्सिनाले गरेका थिए। यसैबीच, उक्त सहकारीले वार्षिकोत्सव अवसरमा सिर्जनाचोकदेखि जिरो किलोमिटरसम्म सरसफाइ र सचेतनामूलक कार्यक्रम समेत मंगलबार सम्पन्न गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width