कास्कीमा उत्साहजन शान्तिपूर्ण मतदान

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७६
p014

पोखरा, १४ मंसिर । कास्की २ मा शनिबार (आज) शनिवार विहान ७.०० बजेदेखि मतदान शुरु भएको छ । मतदाताहरु विहानैदेखि मतदान केन्द्रमा लामवद्ध भएर मतदानमा सहभागी भएका छन् ।

निर्वाचन हुने सबै मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने धाँधली हुन्छ कि भनेर निगरानी राख्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र पर्यवेक्षकको मतदान केन्द्रमा वाक्लो उपस्थिति छ ।

कास्की २ का ३२ मतदानस्थल र ८२ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी कुल ४ सय १० जना कर्मचारी कास्की २ मा खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ५ जना कर्मचारीका दरले ब्यवस्थापन मिलाईएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री स्व रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्कीमा उपचुनाव भएको हो । ११ राजनीतिक दल र १० स्वतन्त्र गरी २१ जना चुनावी प्रर्तिस्पर्धामा छन् । ७१ हजार ८ सय ७१ जनाले यो क्षेत्रमा मतदान गरिरहेका छन् । अघिल्लो चुनावभन्दा अहिले १ हजार २ सय २० जना नयाँ मतदाता थपिएका छन् । चुनावका लागि यहाँका विद्यालयहरु बन्द गरिएका छन् भने शुक्रबार राति १२ बजेपछि सवारी साधन गुड्न समेत रोक लगाईएको छ ।

अघिल्लो चुनावमा ७० हजार ६ सय ५१ मतदातामध्ये प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४९ हजार ९ सय १३ मत खसेको थियो । प्रदेशसभा (क) मा २६ हजार ४ सय ३३ र (ख) मा २३ हजार ५ सय २० मत खसेको थियो । प्रत्यक्षमा भन्दा समानुपातिकर्फत ७ मत कम खसेको थियो । समानुपातिक तर्फ ४९ हजार ९ सय ६ मत खसेको थियो भने प्रदेशसभा (क) मा २६ हजार ४ सय ६ र प्रदेशसभा (ख) मा २३ हजार ५ सय मत खसेको थियो । यसपालि पनि ५० हजार हाराहारीमा मत खस्ने अनुमान छ ।कास्की २ मा पोखरा महानगरका ११ वटा वडा पर्दछन् । ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ नम्बर वडाका मतदान भइरहेको छ ।

कास्की २ मा उम्मेदवार बनेपनि अधिकांशले आफैलाई मतदान गर्न पाउने छैन् । ५ राजनीतिक दल र २ स्वतन्त्र उम्मेदवार बाहेक अरुले आफुलाई मत दिन पाउने छैनन । नेकपा उम्मेदवार विद्या भट्टराईले पोखरा ३३ बाट मतदान गर्नेछिन् भने साझा पार्टीका रजनी केसीले पोखरा ४ बाट मतदान गरेकी छन् । राप्रपाका रोमबहादुर भण्डारीले पनि आफैलाई मत दिन पाउनेछन् । उनले पोखरा १५ बाट मतदान गर्नेछन् । यस्तै, नेकपा मालेका टेकनाथ भण्डारी पनि आफैलाई मतदान गर्न पाउने भाग्यमानी हुन् । उनले पोखरा २१ बाट मतदान गर्ने छन् । राप्रपा संयुक्तकी गंगा मल्ल पोखरा ७ कि मतदाता हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएका सुनिलबहादुर कोइराला र रनबहादुर दमैले पनि आफुलाई मतदान गर्न पाउने छन् । कोइरालाले पोखरा ४ र दमैले पोखरा १७ बाट मतदान गर्ने छन् । काँग्रेस उम्मेदवार खेमराज पौडेल कास्कीकै भएपनि उनी क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा हुन् । काँग्रेस बीपीका चन्द्रबहादुर रानाभाट क्षेत्र नम्बर १, देशभक्त समाजका वीरबहादुर विक कास्की र समाजवादी पार्टीका धर्मराज गुरुङ कास्की ३ का स्थायी बासिन्दा हुन् । उनीहरुको मताधिकार समेत उतै छ ।स्वतन्त्र उम्मेदवार यज्ञप्रसाद पंंगेनी स्याङजाबाट आएका हुन् भने सुनिल भुषाल कपिलबस्तु, दीपक रेग्मी सुर्खेत र पुरुषोत्तम खनाल स्याङजाबाट आएर उम्मेदवारी दिएका हुन् ।

कास्कीकै भएपनि केही स्वतन्त्र उम्मेदवार फरक निर्वाचन क्षेत्रबाट आएका छन् । कमलजंग कुवँर, जमुना शर्मा, लक्ष्मी कुमारी भुजेल र उमनाथ गौतम कास्की ३ तथा नवराज बास्तोलाको कास्की १ मा मतदाता नामावली छ ।केही राजनीतिक दलले पनि आफ्ना उम्मेदवार बाहिरबाट झिकाएका छन् । जनमुक्ति पाटर्टीका पूर्णबहादुर राना तनहूँ रिसिङका स्थायी बासिन्दा हुन् भने मंगोल नेशनल अर्गनाइजेसनका रियाज गुरुङ पर्वतका हुन् ।

कास्की २ मा आधाभन्दा बढी मतदान स्थल संवेदनशीलको सूचीमा छन्न । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रम नजिकै बम विस्फोट भएपछि कास्कीका मतदाताहरुमा केही त्रास बढेको छ । यसले सुरक्षा चुनौति समेत बढाएको छ । त्यसको अघिल्लो दिन पनि पोखरा ३३ का वडाध्यक्षको गाडीमा बम विस्फोट भएको थियो । यद्यपी प्रहरीले यसलाई शक्तिशाली बम नभएको जनाएको छ । बम विस्फोटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । कास्कीका ३२ मध्ये आधाभन्दा बढी मतदानस्थलहरुलाई अति संवेदनशीलको सूचीमा राखेर सुरक्षाकर्मी र कर्मचारीहरु परिचालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । देशभरीमै भइरहेको उपनिर्वाचन मध्ये एक मात्रै प्रतिनिधिसभाको चुनाव भएकोले पनि यहाँ धेरैको ध्यान केन्द्रित छ ।

सबै मतदानस्थल र मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन क्षेत्रमा बर्गीकरण गरिएको छ । पोखराको मुख्य शहरी क्षेत्रलाई कम सम्बेदनशील क्षेत्र, शहरोन्मुख ठाउँलाई संवेदनशील र ग्रामीण क्षेत्रका मतदानस्थलहरु अति संवेदनशीलको सूचीमा परेका छन् । सुरक्षा निकायको रिपोर्टिङ, भौगोलिक विकटता, दलहरुबीचको प्रतिष्पर्धा र चुनाव बिरोधी गतिविधि गर्ने समूहको गतिविधिलाई मुल्यांकन गरेर एक तिहाई मतदान स्थललाई अति संवेदनशीलको रुपमा पहिचान गरिएको छ । यहाँ ३२ मतदानस्थल र ८२ मतदान केन्द्र छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width