जन्मदिनमा स्वास्थ्य सेवा अक्षयकोष

असफल गौतम
मंसिर १०, २०७६
cover-image-750×458

२००९ मंसिर ८ गते आइतबारका दिन माता कुमारी गुरुङ र पिता केशवीर गुरुङको कोखबाट पार्चे–४ कास्कीमा जन्मेका खिम गुरुङ प्हाएआली आइतवार ६८ औं वसन्त प्रवेश गरे। प्रायः गुरुङ समुदायमा जन्मने व्यक्ति लाहुरे हुनैपर्ने सिद्धान्त उनको जीवनमा लागु भएन। अन्नपूर्ण कन्जभेर्सन एरिया प्रोजेक्ट एक्यापद्वारा सिक्लेस लघु जलविद्युत योजना लागू भएपछि १२ वर्षसम्म आफ्नै जन्मस्थलको सेवापछि आफ्नो बसाईं पोखरा झारे।

पोखरा झराइको उद्देश्य गीतसङ्गीतको मोहलाई सार्थक पार्नु थियो। गाउँमा गाउँदै गरेको गायनलाई निरन्तरता दिनु थियो।

जब–जब पोखरा बसाइँका दिन बाक्लिदै जान थाले त्यसपछि गाउँले परिवेशको गायन र गीतलाई सङ्गृहीत गराउने मन जाग्न थाल्यो। पाखारेखा, गल्छी र गल्छेडामा गुनगुनाउँदा गुन्गुनाउँदै हिँडको सम्झनालाई पोखरा झरेपछि झ्याउरे, भजन, भैलो, सालैज्यू, चुट्का, कौरा र गुरुङ भाषाका गीत रेकर्ड र छयाङ्कन गराउँदै कहिले भनेः

सुख भन्ने के हो खोइ कुन्नी

दुखै दुःख भोगेर मर्ने भो धिक्कारको यो जुनी।

यसरी कहिले आफ्नै जीवनलाई धिक्कारे, कहिले तिम्रो गाउँमा मेला हेर्ने निहुँले तिमीलाई हेर्न आएको भने। गायनमा लाग्दै जाँदा हालसम्म उनका ३५ बढी गीत रेकर्ड भएर बजारमा आइसकेका छन्।

सोहीक्रममा उनले जन्म दिने आमाको वियोगमा गीत गाउँदै भन्छन्ः

आमा फेरि तिम्रै कोखमा जन्म लिन पाऊ

तिम्रो माया ममता छोडी अन्त कहाँ जाऊ

धाउनुपरे धाउला आमा मैले चारै धाम

मेरो इच्छा पुर्याइदिनु बिन्ती छ है आमा।

गायनको सन्दर्भमा कहिल्यै नयाँ प्रयोगका नाममा अराजकता र अभद्रतालाई प्रस्तुत गरेनन्। सधै आफ्नै गाउँठाउँका लोक संस्कृतिको संरक्षणमा लागे। उनका विभिन्न समयमा रेकर्ड गरिएकामध्ये ‘सङ्घर्ष’ (२०६४) र ‘आमा’ (२०७०) निकै चर्चामा रहेका गीत हुन्।

भारत, मलेसिया र सिङ्गापुर जहाँ पुगे पनि नेपाली हामी रहौला कहाँ नेपालै नरहे भन्ने भावलाई सम्झेर नेपाल फर्के गीत सङ्गीतको संरक्षण र सम्वद्र्धनमा लागे, आफ्नो जन्मभूमिको आसपासमा गीतको छयाङ्कन गरे।

गीतसंगीतमा आफ्नो जीवनै अर्पण गर्न तम्सिएका गुरुङले गायनको सन्दर्भमा जसरी ठेट नेपाली लोक जीवनमा सन्दर्भलाई टपक्क गीतको मालामा खिप्छन् त्यसैगरी भिडियो निर्माणमा पनि ध्यान दिन्छन्। प्रायः आफ्नो जन्मभूमिलाई छुटाउँदैनन्, सोहीकारण उनका लोकगीतले हाम्रो लोक संस्कार, संस्कृतिलाई संरक्षण गर्न सहयोग पुर्याएका छन्।

यो मात्रै होइन, पोखरा सभागृहमा २०७० फाल्गुन १० गते खिम गुरुङ प्हाएआली एकल सांगीतिक साँझसमेत सम्पन्न गरिसकेका छन्। गायन क्षेत्रमा यसरी लगनशील भएर लागे पनि उनी चर्चामा छैनन्। समयले असल प्रतिभालाई चिन्दै जाने आशा गर्न सकिन्छ। टिकटमा आयोजना गरिएको कार्यक्रमबाट बचेको रकमले कलाकार उपचार कोषलाई पनि सहयोग पुर्यायो। यही सहयोगी भावनालाई उनले आफ्नो ६८ औं जन्मदिनको सन्दर्भमा मन फराकिलो पारेर अक्षयकोष स्थापना गरेका छन्।

७० सालमा उनको एकल साँझ जुन कार्यक्रमको सहआयोजक चिउली पार्चे तमु समाज–१२ कास्की रहेको थियो। सोही संस्थाको संस्थागत विकासका लागि र स्वास्थ्य उपचारका राहत पुगोस् भनेर उनले अक्षयकोष स्थापना गरेको बताए।

आइतवार समाजले आयोजना गरेको जन्मोत्सव समारोहका बीच उनले खिम गुरुङ प्हाएआली स्वास्थ्य उपचार अक्षयकोषका लागि छ लाख रुपैयाँ प्रदान गरेका हुन्। रकम हस्तान्तरण गर्दै गुरुङले भने– ‘सबै र सबै क्षेत्रका लागि सहयोग गरे, अब कोही बिरामी हुँदा, उपचारमा खर्च नपाएर पीडित भनेका नेपाली आमाका सपुतलाई मेरो अलिकति पसिनाको कमाइले भए पनि राहत पुग्ला भनेर कोष स्थापना गरेको हुँ। ’

यसरी २०५१ सालदेखि गायन, अभियन र समाजसेवाका क्षेत्रमा क्रियाशील गुरुङ स्वाभिमानी छन्। स्टेज चढ्नका लागि भेटी नचढाउने, मञ्चमा आफ्ना गीत गाउनका लागि चाकडी नगर्ने, पार्टीको झण्डा नउचाल्ने भएकै कारण उनका गीत जति चर्चा हुनुपर्ने थियो त्यो हुन सकेन।

वास्तवमा भन्ने हो भने, उनको प्रतिभाको प्रोत्साहनका लागि भनेर उभिनेहरुमै स्वार्थको सहानुभूति डुङडुङगी गनाउन थाल्नु दुःखद कुरा हो। काम थोरै, हल्ला धेरै गर्नेहरूको जमातले इमान्दार, लगनशील र मेहनेत गनेर्को आँसु र पसिना माटोमा मिले पनि गुरुङ निरन्तर गर्विलो इतिहास कायम गर्न दत्तचित्त भएर लागेका छन्। यो नै उनको सवल पक्ष हो। यस्ता समाजसेवी भावनाका व्यक्तिको शताब्दी वार्षिकोत्सव मनाउन पाइयोस् लाख–लाख शुभकामना।

Related News

सम्बन्धित समाचार

hero news full width