बेलायतबाट ‘कैदीको पत्र’ छायांकन

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७६
Kaidiko Patra, Film

पोखरा । नेपाली चलचित्र ‘कैदीको पत्र’ निर्माणको क्रममा छ ।

साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ को कथामा आधारित चलचित्र बन्न लागेको हो । स्व. मानन्धरको उक्त कथामा आधारित चलचित्रको २६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा छायांकन गरिरहेका छन् । साहित्यकार सनमकुमार बैरागले चलचित्र ‘कैदीको पत्र’ निर्माण गरेका हुन् ।

बैरागले आफैले नै ‘कैदीको पत्र’को निर्देशन गरेका छन् । चलचित्रको पटकथा, सम्वाद र गीत पनि बैराग स्वयंले लेखेका हुन् । अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटिस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको बिषम परिस्थितिको बिषयमा कथा रहेको चलचित्रको एउटा गीतको छायांकन समेत गरिएको छ । गीतको छायांकनका क्रममा बेलायतका राजदूत साहित्यकार दुवसु क्षेत्री समेत सहभागी भएर फिल्म युनिटलाई हौसला बढाएका थिए ।

चलचित्रमा म्याडिसन लाजारस, कुनाल बिश्व, सलिना थापामगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेका छन् ।

रामेश्वर कार्कीले चलचित्रको छायांकन गरेका छन् । कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । सम्राट बस्नेतको द्धन्द निर्देशन रहेको चलचित्रमा सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यले संयुक्त संगीत भरेका छन् । चलचित्रको मुख्य सहायक निर्देशकमा रामशरण कोइराला र सहायक निर्देशकमा सुस्मिता थापा छन् ।

कलिना–रुबिन श्रेष्ठ, हिराल आमीन जोशी र दिल घले चलचित्रका निर्माता रहेका छन् । चलचित्र सुटिङका लागि केही साताअघि प्राबिधिकको एक टोली काठमाडौबाट बेलायत उडेको थियो ।

हालसम्म स्कटल्याण्डको क्रिफ, आवर फेल्दी, केनमोर, किलिङ, ग्लास्को, ओवन लगायतका स्थानमा छायांकन गरिएको छ । चलचित्रको हालसम्म ५० प्रतिशत छायांकन सकिएको फिल्म युनिटले जानकारी दिएको छ । ‘कैदीको पत्र’को छायांकन सकिन अझै दुई साता बढि समय लाग्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width