वन खुला गरिएपछि बजार टुसामय, प्रति गोटा १० पैसा कर

Suraj Hazare Dahal
श्रावण ११, २०७६
tusa

असारमा केही मात्रामा पोखरा भित्रिएका लेकाली जंगलका टुसा तथा निगुरोहरु साउन लागेपछि धमाधम पोखरा ल्याइन थालिएका छन् । असारमा बोक्रा नछिलिएको टुसालाई रु १५० प्रति मुठा पर्दथ्यो भने साउनमा बोक्रा छिलिएको टुसा प्रति मुठा रु ८० मा बिक्री भइरहेको छ । यस्तै ८० रुपैयाँ प्रति मुठामा बिक्री भइरहेको निगुरो अहिले रु ५० मा झरेको छ । हरियो भन्दा मिठो मानिने कालो निगुरोको सिजन सकिएकोले आउन छोडेको छ चिप्लेढुंगा छेउमै टुसा व्यापार गर्ने लिला गुरुङका अनुसार लेकाली तरकारीहरु भुर्जुङ खोला र त्यो भन्दा माथिको तातो पानीबाट आउने गर्छ । एक्यापले टुसा संकलन गर्न वन खोलेपछि साउनको अन्त्यतिर बजारमा टुसा अत्यधिक आउँदा यसको मूल्य रु ५० सम्म झर्ने गर्दछ ।
जेठदेखि फाटफुट बजारमा देखिने टुसा कात्तिकसम्म नै बजारमा आउने गर्छ विशेष गरि यसलाई धेरैले आलुसँग पकाएर खान्छन् भने कुखुराको मासुसँग पकाएर खाँदा यो अझ मिठो हुने गर्छ । मालुंगे जातको निगालोको टुसालाई सबैभन्दा मिठो मानिन्छ । गण्डकी प्रदेशको कास्की, लम्जुङ, म्याग्दी जिल्लाहरुमा टुसा टिप्ने गरिन्छ । निगालोको कलिला मुनालाई नै टुसा भन्ने गरिन्छ । टुसा हुर्किएर छिप्पिए पछि भने त्यसबट डोको, डालो तथा नाम्लो बुन्ने गरिन्छ । खाना तथा हस्तकलामा प्रयोग हुने मालुंगे जातको निगालोबाट बहु प्रतिफल लिन सकिन्छ ।
बजारमा विषादी हालिएको आयातित तरकारी सम्बन्धि समाचार पढिरहेकाहरुलाई लेकाली र माथिल्लो पहाडी भेगका जंगलबाट आउने रैथाने तरकारीले केही राहत दिएको छ । एक्याप सम्पर्क कार्यालयकी रेन्जर सुधा पराजुली ढुंगानाले दिएको जानकारी अनुसार साउन ६ गते बाट भदौ १५ गतेसम्मको लागि टुसा संकलन र बिक्री खुला गरिएको छ । टेण्डर पाएकाहरुले बजारमा टुसाहरु व्यापारी समक्ष पुर्याउने गर्छन् । हरेक एक पिस टुसाबटा १० पैसा राजस्व उठाउने गरिन्छ । टुसा संकलन गर्न खुला गरिएको बाहेक अन्य बेला संकलन गरिएमा बिगोको दोब्बर जरिवाना वा १ वर्ष कैदको कानूनी व्यवस्था रहेको उनले बताइन् ।
साउन महिनामा धेरै माछामासु नखाने भएकोले टुसाको माग बजारमा उच्च रहेको छ । निःशुल्क प्राकृति वातावरणमा आर्फै उम्रिने टुसा, निगुरो तथा कुरिलोहरुमा क्याल्सियम तथा आइरन हुने हुँदा यिनीहरु स्वास्थ्यबद्र्धक पनि हुन्छन् । मानिसको मात्र नभएर टुसा भालु तथा हाब्रे (रेड पाण्डा) को पनि मुख्य आहार हो । पोखरा आउने टुसा यहाँ मात्र नभई राजधानी काठमाण्डौसम्म पनि पुग्छ । पोखरेलीहरुले बाहिरका आफन्तलाई भेट्न जाँदा कोशेलीको रुपमा टुसा नै लाने गर्छन् । अलि महंगो हुने भएकोले होटल तथा रेष्टुरेण्टमा भने टुसा पाक्दैन बरु त्यहाँ तामाको परिकार भने पाइन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width