दुःख बिर्सायो पानीले : कालिकाका ३ सय २४ घरमा धारा

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७६
kalika pani 1_Fotor

पोखरा–२८, कालिकास्थानमा लिफ्टिङ गरी संचालनमा ल्याइएको खानेपानी योजनाको स्वामित्व स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिँदै।

ज्योतिषीको उद्गमस्थल। गाउँकै बीचमा प्रसिद्ध कालिका मन्दिर। ब्राह्मण मान्यता अनुसार बिहानै नुहाइधुवाइ र जप पूजापाठ गर्नुपर्ने। तर सधैँ खानेपानीको दुःख। नुहाइधुवाइ गर्न आधा घण्टाको बाटो हिँडेर कुवा धाउनु पर्ने बाध्यता।

प्रसिद्ध ज्योतिषी प्राणनाथ त्रिपाठीको जन्मगाउँ कास्कीको साविक कालिका गाविस कालिकास्थान। जुन ठाउँ ज्योतिषीको उद्गमस्थल मानिन्छ। गाउँमा दिनप्रतिदिन जनसंख्या वृद्धि हुँदै गयो। पानी अभावसँगै विकल्प खोजी गर्न थालियो। गाउँलेलाई पुग्ने गरी पानीको मुहान गाउँभन्दा १५ किमी टाढाको दुरी तत्कालीन सिल्दजुरे गाविसको थाक खोलामा भेटियो।

खानेपानी अभाव साविक कालिका गाविसमा मात्र थिएन, वरपरका माझठाना र राखीमा पनि थियो। तीन वटै गाउँलाई पुग्ने पानी ल्याउन थाकखोला नै रोजियो। २०४३ सालतिर थाकबाट ती गाउँमा पानी ल्याउन सरकारले योजना शुरु गर्यो। योजनासँगै गाउँमा २ वर्षमा पानी आयो तर २०/२५ घर बराबर एक धारा जडान भयो। गाउँलेलाई १/२ गाग्री पानी भर्न त सहज भयो तर नुहाइधुवाइ गर्न भने अभाव नै भयो। कि त सबैले धारामा पानी भरेर गएपछि अर्थात १ घण्टा कुरेर नुहाउनु पर्ने अवस्था बन्यो।

प्रजातन्त्रसँगै राजनीतिक पार्टीको नेतृत्व गर्ने नेता गाउँकै ३/४ जना भए। गाउँलेहरुले वषौदेखि नेतालाई पानीको योजना ल्याउन आग्रह गर्दै आए। बीसौ वर्ष भयो नयाँ योजनाको लागि कुनै बजेट नेताले ल्याउन सकेनन्। गाउँले पानीको खोजीमै रहे। त्यसैक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीले विभिन्न दातृनिकाय सहयोगमा दुर्गम गाउँमा खानेपानी योजना संचालन गर्दै आएको थियो। त्यो पनि साना योजनाहरु। २०७३ सालमा कालिकाको बाटोहुँदै तत्कालीन सैमराङ गाविसको बरालडाँडामा नेपाल रेडक्रस सोसाइटी कास्कीको सहयोग र युनिका फाउण्डेशनको दी नेदरल्याण्डको आर्थिक सहयोगमा निर्मित खानेपानी उद्घाटन गरी फर्कनेक्रममा कालिकावासीले उक्त टोलीलाई बाटोमा नै रोकेर कालिकावासीले भोग्दै आएको खानेपानीको अभावका इतिहास र वर्तमान अवस्थाबारे कथा सुनाए।

पानी अभावले गाउँमा सरसफाइमा कमी, तरकारी खेती तथा गाईभैंसीलाई पानी खुवाउन समस्या, त्यतिबेला खानेपानी उद्घाटन गर्न आएका युनिका फाउण्डेशन दी नेदरल्याण्ड नेपालका कन्ट्री डाइरेक्टर रमेश पौडेललाई सुनाए। गाउँमा पानीको मुहान छ तर गाउँभन्दा २ हजार २ सय ५० मिटरमुनि जामुनेबाट पानी गाउँमा ल्याउन लिफ्टिङ गर्नुपर्ने देखियो। गाउँलेको आग्रहकै कारण उक्त स्थानमा खानेपानी संचालन गर्न फाउण्डेशनले योजना स्वीकृति गर्यो। कालिका–जामुने सोलार लिफ्टिङ खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत परियोजना २०७३ साउनबाट शुरु भई २०७६ साउन ६ गते सम्पन्न भएको छ। युनिका फाउण्डेशनको २ करोड ३२ लाख र स्थानीयको १ करोड ११ लाख गरी कुल ३ करोड ८५ लाख रुपैयाँ लागतमा सो खानेपानी योजना सम्पन्न भएको हो।

तीन वर्षमा सम्पन्न उक्त खानेपानी योजनाको स्वामित्व नेपाल रेडक्रस सोसाइटी कास्कीका निमित्त सभापति कृष्णराज तिमिल्सेनाले सोमवार एक कार्यक्रमबीच कालिका सोलार लिफ्टिङ खानेपानी तथा सफाइ उपभोक्ता समिति अध्यक्ष तेजराज तिमिल्सेनालाई हस्तान्तरण गरेका छन्।

‘एक घर, एक धारा’ अन्तर्गत ३ सय २४ घरमा धारा जडान गरी खानेपानी उपलब्ध गराइएको छ। सो योजनाबाट साविक कालिका गाउँपालिका वडा २, ४ का पुरै घरधुरी र वडा १, ३ र ८ का केही परिवार गरी करिब १ हजार ८ सय जना लाभान्वित भएका छन्।

हाल पोखरा महानगरपालिका–२८, कालिकास्थानमा उक्त योजना संचालन आएपछि सरसफाइ, विद्यार्थीको पढ्ने समय बचत, तरकारी तथा गाईभैंसीलाई पानी खुवाउन सजिलो हुनुको साथै गाउँलेको आर्थिक उपार्जनमा समेत वृद्धि हुने जानकारी पोखरा–२८ का वडाध्यक्ष निर्मल दीयालीले बताए।

मुहानदेखि मूल ट्याङ्कीसम्म पानी लिफ्टिङ गर्न २ स्थानमा मोटर राखिएको छ। एक दिनमा ६५ हजार लिटर पानी तान्न सकिने छ। उक्त योजना हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका निमित्त सभापति कृष्णराज तिमिल्सेनाले खानेपानी योजना संरक्षण र संचालन गर्न स्थानीय उपभोक्ताको जिम्मेवारी रहेको बताए।

उक्त अवसरमा प्रमुख अतिथि वडाध्यक्ष निर्मल दीयाली, रेडक्रस कास्कीका पूर्व सभापति बामदेव ढुंगाना, उपभोक्ता समितिका अध्यक्ष तेजराज तिमिल्सिना, वडा सदस्य अम्बिका बुढाथोकी लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width