सुझाव माग्दै पोउवा संघ

आदर्श समाज सम्वाददाता
असार २१, २०७६
20190706_084924

पोखरा,२१ असार । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्योगी÷व्यवसायीको हितमा काम गर्नु आफू र आफ्नो टीमको प्राथमिकता रहेको प्रष्ट पारेका छन् ।

उनले व्यवसायी मैत्री वातावरण निर्माणको लागि पैरवी, व्यवसायीहरुलाई आवश्यक पर्ने तालिम÷गोष्ठी र सेमिनारको आयोजनालाई संघले विशेष जोड दिएको पनि बताएका छन् ।
संघका सदस्यहरुबीच भाइचारा अभिवृद्धि तथा व्यवसायीहरुका समस्या पहिचान गर्ने अभियानअन्तर्गत शनिबार पोखराको बुद्धचोक क्षेत्रमा आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले व्यवसायीहरुको हक हित संरक्षण गर्न खोलिएको संस्थाले समग्र पोखराको विकास दिएको योगदानको स्मरण गर्न सरोकारवालाहरुलाई आग्रह पनि गरे ।

‘हिजो हामीले बालमन्दिर, पृथ्वीनारायण क्याम्पसदेखि पोखरा विश्वविद्यालय बनाउन नेतृत्वदायी भूमिका निभायौँ’, उनले भने,‘ पोखराको महेन्द्रपुलदेखि यहाँको सभागृह निर्माणमा पनि हाम्रो लगानी छ, त्यहाँ गएर हेर्दा सबै कुरा प्रष्ट हुन्छ ।’ उनले आफूहरु विकासको साझेदार बन्न चाहेको र यसका लागि सबै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताए ।

उनले उद्योगी÷व्यवसायीहरुका नाममा पछिल्लो समय बजारमा देखा परेका केही संस्थाहरुको हैसियत के भन्ने सदस्यहरुको जिज्ञासा शान्त पार्दै भने,‘ती संस्थाहरु पद चाहिने व्यक्तिले खोलेका हुन्, हिजो यहाँ ( पोखरा उद्योग वाणिज्य संघमा ) चुनावमा हारेपछि खोलिएका संस्थाहरुबारे म धेरै भन्न चाहन्नँ ।’

कार्यक्रममा बोल्दै संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले उद्योगी÷व्यवसायीहरुको हितको लागि संघले सक्दो काम गर्दै आएको र सदस्यहरुको सुझावकै आधारमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

महासचिव अर्जुन पोखरेलले अहिले केन्द्रदेखि तल्लो निकायसम्म नै व्यवसाय गर्दा थप समस्या देखिएको र व्यवसायिक वातावरण खल्लबलिएको अवस्थामा व्यवसायिक एकता झनै अपरिहार्य रहेको बताए । कार्यक्रममा बोल्दै संघका पूर्वउपाध्यक्ष गोकर्ण काकीले व्यवसायी मैत्री घरभाडा ऐन आएमा आफूहरुलाई केही राहत मिल्ने बताए ।

संघकी साधारण सदस्य देउती नेपालीले यतिबेला सिंगो पोखरासँगै अमसिंहचोक क्षेत्रमा पनि पार्किङको समस्या परेको बताउँदै सो समस्या समाधानको लागि ध्यान दिन पोखरा उद्योग वाणिज्य संघसँग आग्रह पनि गरिन् ।

संघका अर्का सदस्य तथा युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेलले पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई भैपरिआउँदा आर्थिक सहयोग गर्न व्यवसायी भलाई कोष खडा गरेकोमा खुसी व्यक्त गरे । उनले उद्योग वाणिज्य संघ नित्तान्त उद्योगी÷व्ययवसायीको हितमा कमाम गर्ने संस्था बन्नुपर्नेमा जोड दिए । समाजसेवी तथा संघका साधारण सदस्य निरज थापाले अब पोखराका विभिन्न भागहरुलाई बर्गिकरण गर्दै कुनै एक क्षेत्रलाई एउटै खालको सामान पाउने क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

यसैगरी साधारण सदस्य नारायण श्रेष्ठले एउटै व्यवसाय धेरै ठाउँमा दर्ता गर्नुपर्ने बाध्यताबाट मुक्ति चाहिएको बताए । अर्का सदस्य किरणप्रसाद भट्टचनले मदिरा व्यवसाय गर्दा पहिला छुट्टै दर्ता र पछि मूल्यअभिवृद्धि करमा जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको उदाहरण दिँदै कर तिर्नेहरुलाई सजिलो व्यवस्था गर्नुको सट्टा राज्यले पुच्छर निमोठ्ने काम गरेको गुनासो गरे ।

व्यवसायी नविन श्रेष्ठले सरकारी निकायमा दर्ता नै नगर्ने र अवैध रुपले व्यवसाय गर्नेहरुले गर्दा स्वच्छ व्यवसाय गर्नेहरुलाई मर्का परेको बताए । व्यवसायी पूर्ण श्रेष्ठले पोखरा उद्योग वाणिज्य संघलाई विभिन्न तथ्याङ्कहरुको भण्डारणमा दक्षता हाँसिल गर्न आग्रह गरे । व्यवसायी खेमनारायण बरालले घरभाडा समस्या समाधानकामे लागि संघले पहल गर्नुपर्नेमा जोड दिए ।

अर्का व्यवसायी नरेन्द्र बरालले करका परिवर्तिन प्रावधानबारे व्यवसायीहरुलाई तालीम आवश्यक भएकाले सोको व्यवस्थाको लागि संघसँग आग्रह गरे । संघका कार्यसमिति सदस्य तथा समस्या पहिचान अभियानका संयोजक रामेश्वर अधिकारीले व्यवसायीहरुको उपस्थितिले आफूहरु हर्षित भएको धारणा राखे ।

कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै भाँडा व्यवसायी संघका अध्यक्ष तथा संघका साधारण सदस्य बलराम तिमिल्सिनाले घरघरमै पुगेर समस्या पहिचानको अभियान थालेकोमा संघलाई हार्दिक धन्यवाद ज्ञापन गरे । पोखरा उद्योग वाणिज्य संघले हालसम्म पोखराका तीन ठाउँमा पुगेर व्यवसायीहरुको समस्याबारे सुझाव संकलन गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width