आठौंका विजेतालाई गण्डकी सरकारको सम्मान

आदर्श समाज सम्वाददाता
जेठ १९, २०७६

गण्डकी प्रदेश सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशतर्फबाट पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखराको प्रस्तावमा सरकारले बजेट विनियोजन गर्दै सम्मान गर्ने निर्णय गरेको हो।

आर्चरीसहित १८ स्वर्ण पदक विजेता खेलाडीसहित रजत र कास्य पदक जितेका खेलाडीहरु सम्मानित हुनेछन्। नेपालगञ्जमा भएको प्रतियोगितामा गण्डकीले आर्चरीसहित ३५ खेलमा १८ स्वर्ण, २५ रजत र ५० कास्य पदक जित्दै पाँचौ स्थानमा रहेर नवौं संस्करण गण्डकी प्रदेशमा आयोजना गर्ने जिम्मेवारीसहित खेलाडीहरु फर्किएका थिए।

गण्डकीले व्यक्तिगत तथा टिम गेममा गरी कुल २ सय ३ पदक जितेको थियो। व्यक्तिगत र टिम गेममा गरी स्वर्ण पदक जित्ने खेलाडीको संख्या भने ४० जना छन्। त्यसैगरी रजत पदक जित्ने खेलाडीमा ५७ जना र कास्य पदक जित्ने खेलाडी १ सय ६ जना छन्। उनीहरुलाई नगदसहित सम्मान गर्ने प्रस्तावलाई गण्डकी प्रदेश सरकारले निर्णय गरेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए। व्यक्तिगततर्फ स्वर्ण पदक जित्ने खेलाडीलाई १० हजार प्रदान गरिने छ। रजत पदक जित्नेलाई ७ हजार र कास्य पदक जित्नेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ। टिम गेममा स्वर्ण पदक विजेतालाई ७ हजार, रजतलाई ५ हजार र कास्य पदक जित्ने खेलाडीलाई ३ हजार रुपैयाँबाट सम्मानित गरिनेछ। प्रतियोगितामा टिम गेमतर्फ पुरुष ह्याण्डबलमा गण्डकी प्रदेशले स्वर्ण पदक जितेको थियो। फूल कन्ट्याक्ट कराँतेमा ४ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्दै गण्डकी प्रदेश टिम च्याम्पियन बनेको थियो।

क्षेत्रीय खेलकुद विकास समितिले विजेता खेलाडीलाई नगदसहित समय मिलाएर नगर परिक्रमा गराउने निर्णय गरेको छ। नवौं गण्डकी प्रदेशमै आयोजना गर्ने जिम्मेवारी लिएको गण्डकी खेलकुद परिषद्ले आवश्यक पूर्वाधारको लागि ५१ करोड ३० लाख रुपैयाँको बजेट अनुमानित गरेको छ।

नवौको पूर्वाधारसँगै पोखरामा आगामी मंसिर तेस्रो साता आयोजना हुने साग खेलकुद प्रतियोगिताअन्तर्गत फुटबल, आर्चरीलगायत पूर्वाधार निर्माण चरणमा छन्। आर्चरीलाई ९० लाख रुपैयाँ माग गरिएको छ। १ अर्ब २८ करोडको लागतमा फुटबल मैदानसहित ट्रयाक निर्माणका कार्य भइरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width