कर सप्ताह शुरु

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २, २०७५

पोखरा, १ मंसिर । ‘कर : समृद्व नेपाल र सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ शनिवार सातौं राष्ट्रिय कर दिवस मनाइएको छ ।

कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय पोखराले शनिवारदेखि पोखरामा कर सप्ताह शुरु गरेको छ । कर सप्ताह अन्तर्गत शनिवार पोखरामा बाजागाजासहित प्रभातफेरी निकालिएको थियो ।

पोखरा साभागृहबाट शुरु भएको प्रभातफेरी सृजनाचोक, रत्नचोक हुदै आन्तरिक राजश्व कार्यालय पोखरामा पुगेर समापन भएको थियो । प्रभातफेरीमा राजश्व कार्यालयका कर्मचारी, उद्योगी, व्यवसायी, सुरक्षा निकायलगायतको सहभागिता थियो । प्रभातफेरीमा समृद्व राष्ट्र निर्माण हाम्रो संकल्प, समुन्नत नेपालका लागि कर साझा विकल्प, कर तिरौं, शान्ति र गौरवको अनुभुति गरौं, इमान्दार भई तिरौं कर, संघीय सफलताको पूर्वाधार लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

कर सप्ताह अन्तर्गत मंसिर २, ४ र ५ गते संचारमाध्यमसहित लेखापरिक्षक र व्यवसायीसँग छलफल, अन्तरक्रिया , ३ गते कर्मचारी, व्यवसायी र लेखा परिक्षकबीच व्याटमिन्टन प्रतियोगिता गरिने छ । त्यस्तै, ६ गते अन्तर कलेजस्तरीय कविता प्रतियोगिता र ७ गते कर सप्ताहको समापनसँगै कास्की र स्याङ्जाका एक/एक जना उत्कृष्ठ करदाता र कार्यालयका एक जना उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिने छ ।

प्रभातफेरी शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले करको दायरामा आउँनेलाई सरकारले उचित सेवा, सुविधा दिने बताए । तीनवटै सरकारले करलाई न्यायोचित, व्यवहारिक र सरल बनाउने उनको भनाई छ । उनले धेरै कर लगाएका मुलुकहरुमा सामाजिक सुरक्षा सुदृढ रहेको उल्लेख गरे ।

मुख्य मन्त्री गुरुङले सरकारले दोहोरो, तेहोरो कर लिएको भन्दै अनावश्यक अफवाह फैल्याइएको बताए । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारलाई तिरेको कर आफ्नै लागि हो भनेर बुझ्न र बुझाउन जरुरी भएको उल्लेख गरे ।  उनले जिल्ला प्रशासन कार्यालय कार्यालयबाट नागरिकता लिएर नेपाली नागरिक बनेपनि कर नतिर्नेहरु असल नागरिक बन्न नसक्ने बताए । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले व्यवस्थित कर प्रणालीको विकास हुन नसक्दा आशातित सफलता हासिल हुन नसकेको उल्लेख गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका गण्डकी प्रदेश अध्यक्ष संजिव कोइरालाले पनि बोलेका थिए ।  आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रम कर अधिकृत जीवराज निरौलाले संचालन गरेका थिए ।

तपाइको धारणा व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

किरियापुत्री पनि एसइइमा

चार घर जलेर नष्ट

सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा

प्रमुख समाचार

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआरआई सेवा

थप प्रमुख समाचार

२८ सहजकर्तालाई पुनर्ताजगी प्रशिक्षण

राइनासबाट ५० लाख राजस्व संकलन

फूटसल प्रतियोगिता सम्पन्न