आश्वासनसहित मतदाता फकाउँदै

आदर्श समाज सम्वाददाता
असाेज १, २०७५
MG_8283

पोखरा, ३१ भदौ। पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औं महाधिवेशन मिति नजिकिँदै जाँदा उम्मेदवारले विभिन्न आश्वासन सहित मतदातासमक्ष भोट मागिरहेका छन् । संघमा रवीन्द्रबहादुर प्रजु (रविन्सन) को प्यानल र दामु अधिकारीको प्यानलले आगामी महाधिवेशनमा आफूहरुलाई मतदान गर्न आग्रह गर्दै घरदैलो गरिरहेका हुन् ।

यसैक्रममा रवीन्द्रबहादुर प्रजूको प्यानलले पोखराको ट्राफिक व्यवस्थापन आफ्नो प्राथमिकता रहेको जनाएको छ । सो प्यानलले पार्किङ र ट्राफिक व्यवस्थापनले गर्दा बजार क्षेत्रका व्यवसायीको व्यवसायमा असर परेको भन्दै ट्राफिक कार्यालयसँग समन्वय गर्दै ट्राफिक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको हो।

जाल्पारोड, नदीपुर, चाउथे, छिनेडाँडा लगायत क्षेत्रका मतदातासँग कुरा गर्दै  अध्यक्ष पदका उम्मेदवार र प्रजूले भने, ‘ट्राफिक व्यवस्थापन पोखराको ठूलो समस्या हुँदै गएको छ। यसलाई व्यवस्थापन गर्ने काममा पनि मैले नेतृत्व लिनेछु।’

संघलाई प्रविधिमैत्री बनाएर उद्योगी व्यवसायीले प्राप्त गर्न सक्ने सुविधालाई आफ्नो घर र व्यवसायमै बसेर प्राप्त गर्ने वातावरण बनाउने पनि सो प्यानलले जनाएको छ।

प्रजूले भने, ‘उद्योगी व्यवसायीको डाटालाई सफ्टवयरमा राखेर प्रत्येक उद्योगी व्यावसायीको बारेमा र तिनका उत्पादन एवं व्यवसायका बारेमा सूचना प्राप्त गर्न सकिने गरी संयन्त्र निर्माण गर्नेछांै।’

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार नारायण कोइरालाले संघमा हटलाइन टेलिफोन सेवा र टोल प्रिm नम्बर राखेर यसै मार्फत उद्योगी व्यवसायीको सूचना प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाउने आफ्नो प्यानलको घोषित कार्यक्रम रहेको बताए।

उद्योग तर्फको उपाध्यक्ष पदका उम्मेदवार विन्दु कोइराला सुवेदीले व्यवसायी र संघको सम्बन्धलाई अझै मजबुत बनाउने लक्ष्य रहेको जानकारी दिइन्।

महासचिव पदका उम्मेदवार अर्जुन पोखरेलले मतदातासँग सरकारले नीति घोषणा गरेपछि त्यसको विरुद्ध आन्दोलन गर्ने होइन नीति बन्नुभन्दा अगावै जानकारी राखेर व्यवसायी मैत्री नीतिका लागि बहस, पैरवी गर्ने बचन दिए ।

कोषाध्यक्ष पदका उम्मेदवार सुरेन्द्र विजुक्छे, उपमहासचिव पदका उम्मेदवार चीनुकुमारी गुरुङले आफ्नो प्यानलले घोषणा गरेको प्रतिबद्धताका सम्पूर्ण बुँदा कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने वचन दिएका छन्।

यसैगरी, नयाँ नेतृत्वका लागि प्यानल नै घोषणा गरेको समावेशी व्यवसायी समूहले पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने लक्ष्य रहेको बताएको छ।

घरदैलोका क्रममा आइतवार गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकता पर्यटन भएकाले यसलाई उद्योगको रुपमा विकास गरेर लक्ष्य हासिल गर्न सकिने भन्दै त्यसको नेतृत्व आफूहरुले गर्ने बताएको हो। विजयपुरबाट शुरु गरेको घरदैलो चाउथे, औद्योगिक क्षेत्र, लेकसाईडको हल्लनचोक, वाराहीचोक, जरेवर लगायत क्षेत्रमा गरिएको थियो।

समावेशी व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार दामु अधिकारीले भने, ‘हाम्रो गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार भनेको पर्यटन नै हो, गण्डकी प्रदेश सरकारले पनि यसैलाई पहिलो प्राथमिकतामा राखेको छ, तर यसलाई उद्योगको रुपमा विकास गर्न सकेमात्र लक्ष्य हासिल गर्न सकिन्छ, हामी पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने पक्षमा छौं, हामी विजयी भयौं भने यसको नेतृत्व गर्नेछौं ।’ उनले करका कारण व्यवसायी आतंकित भएको बताउँदै व्यवसायीमैत्री कर लागू गर्नका लागि पनि आफ्नो समूहले दबाब दिने र त्यसो गर्दा पनि सुनुवाइ नभए आन्दोलनको नेतृत्व गर्न पनि पछि नपर्ने प्रतिबद्धता जनाए।

महासचिवका उम्मेदवार किसान सुनारले पोखरामा पार्किङको पनि समस्या भएको बताउँदै त्यसको समाधानका लागि समावेशी व्यवसायी समूहले विजयी भएपछि काम गर्ने बताए।

समावेशी समूहको प्यानलको अध्यक्षमा अधिकारी, वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उपमहासचिवमा सीता बराल उम्मेदवार छन्। त्यस्तै सदस्यतर्फ नारायण पौडेल, डिबि भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल रहेका छन्। पोखराकै जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन असोज ५ र ६ गते हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width