कांग्रेस नेता देवदत्तको निधन

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०८१
devdutta koirala 1

पोखरा । नेपाली कांग्रेसका नेता देवदत्त कोइरालाको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।

लामो समयदेखि बिरामी उनको पोखरासहित विभिन्न अस्पतालमा उपचार हुँदै आएकोमा गत ६ वैशाखदेखि पोखरा ५, मालेपाटनस्थित आफ्नै घरमा आराम गरिरहेका थिए ।

नेपाल प्रजातन्त्र सेनानी, संघ कास्कीका सचिव उनको जन्म २००४ मंसिर ४ मा धनन्जय कोइराला र बसन्धरा कोइरालाको पाँचौं सन्तानमध्ये चौंथो सुपुत्रका रुपमा भएको हो । उनी राजनीतिक र सामाजिक व्यक्तित्व थिए । उनले पार्टीका विभिन्न तहमा रही नेपाली कांग्रेसको संगठन निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका थिए । उनका श्रीमती, १ छोरा र ५ छोरी छन् । उनको शुक्रबार सेती नदी तुल्सीघाटमा अन्त्येष्टि भयो । पार्थीव शरीरमा कांग्रेस पूर्व महामन्त्री एवं पूर्व सभापति तारानाथ रानाभाटले पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिए ।

यसैबीच, कांग्रेस कास्कीले शोक विज्ञप्ति जारी गरी उनको निधनप्रति दुख व्यक्त गरेको छ । पार्टीका जिल्ला सभापति किशोरदत्त बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सिद्धान्तप्रति निष्ठावान् कर्मशील निडर र प्रष्टवादी नेता देवदत्त कोइरालाको निधनले कांग्रेस कास्कीको संगठनमा गम्भीर क्षति पुगेको छ । उहाँको निधनप्रति गहिरो दुख व्यक्त गर्दछौं ।’

प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहभागी हुँदा उनी पटक–पटक जेलजीवन, प्रहरी हिरासत र राजनीतिक बन्दी बनेका थिए । २०१९ सालदेखि वाराही माविमा प्रजातान्त्रिक विद्यार्र्थी संघका सभापति भै आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका उनी नारायणसिंह काण्डमा विद्यार्थी आन्दोलनको अगुवाइ गरेका थिए । कोइरालाले जीवनभर निष्ठा, त्याग र बलिदानको अनुशरण गरेको नजिकबाट चिन्नेहरु स्मरण गर्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै