गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

७ वैशाखदेखि सुरु हुने अधिवेशनमा मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०८१
gandaki-parle

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधान १८३(१) बमोजिम यही ७ वैशाख दिउँसो ३ बजेदेखि बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डिराज अर्यालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरी अघिल्लो दिन नै पत्र कार्यालय आएकोमा प्रदेश प्रमुख पोखरा बाहिर भएकोले आजमात्र बैठक आह्वानबारे निर्णय भएको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले मिति तोक्ने अधिकार मुख्यमन्त्रीलाई दिएर अधिवेशन आह्वानको निर्णय मात्रै गरेको थियो । ‘मिति मुख्यमन्त्रीज्यूले प्रदेश प्रमुखसँग सल्लाह गरेर तोक्ने गरी अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरिएको हो,’ सरकारका प्रवक्ता एवं मन्त्री हरिबहादुर चुमानले भने, ‘अरु सबै अधिकार मुख्यमन्त्रीलाई दिइएको छ ।’

मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश नकुर्दै हतारहतार विश्वासको मतको प्रस्ताव राख्ने तयारी गरेका छन् । त्यसपूर्व उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरिसकेका छन् ।

उनको नियुक्ति असंवैधानिक भएको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दिएकोमा सर्वोच्चले १० वैशाखको पेसी तोकेको छ । मुद्दाको किनारा नलाग्दासम्म दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सर्वोच्चको आदेशलाई अधिकारी सरकारले लत्याएर विश्वासको मत लिन लागेपछि कांग्रेस संसदीय दलका नेता पाण्डेले पूरक निवेदनसमेत सर्वोच्चमा दायर गरेको बताइएको छ ।

सभामुखको समेत संख्या गनेर बहुमत (३१ सिट) पुगेको भन्दै एमाले संसदीय दलका नेता अधिकारीले गत २५ चैतमा नेपालको संविधान धारा १६८(२) बमोजिम मुख्यमन्त्रीको दाबी गरेका थिए । तर प्रदेश प्रमुखले कानुनको अपव्याख्या हुने गरी मुख्यमन्त्री नियुक्त गरेको कानुन व्यवसायीको टिप्पणी छ ।

अधिकारी सरकारलाई आफ्नो पार्टी नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङ्गे) १ सहितको सांसदको समर्थन छ । ६० सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सदस्य छन् । मुख्यमन्त्रीमा नियुक्त अधिकारीको यो दोस्रो कार्यकाल हो । उनले गत वर्ष करिब १ सय दिन सरकार चलाएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width