निर्माण व्यवसायी संघ कास्कीको पदस्थापन

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८१
Nirman Byabsayi Photo 1

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्की नव निर्वाचित कार्यसमितिको सोमबार पदस्थापन गरिएको छ ।

संघको ३० औं साधारण सभा तथा १६ औं अधिवेशनबाट नव निर्वाचित लिलकाजी गुरुङलाई अध्यक्ष मण्डलका संयोजक अधिवक्ता दीपकराज पौडेलले शपथ ग्रहण गराएका थिए । त्यसलगत्तै अध्यक्ष गुरुङले पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई शपथ ग्रहण गराएपछि पदस्थापन गरिएको थियो ।

अधिवेशनमा लिलकाजी गुरूङले सुवर्ण श्रेष्ठलाई ३० मतले पराजित गरी दोस्रो पटक अध्यक्ष निर्वाचित भएका हुन् । गुरुङले १ सय ९२ मत ल्याउँदा श्रेष्ठले १ सय ६२ मत पाए ।
संघको वरिष्ठ उपाध्यक्ष प्रेम पहारी, उपाध्यक्ष शिरश बास्तोला, सचिव डम्बरराज ढकाल विजयी भए । सहचिव धु्रवबाबु भट्टराई, कोषाध्यक्ष हिरामणि पोखरेल र सहकोषाध्यक्ष किरण गौतम निर्वाचित भए । सदस्यहरू जनक श्रेष्ठ, मिलन सुवेदी, स्वीकार पोखरेल, हरिप्रसाद पहारी, प्रकाश जिसी र हेमप्रसाद गुरुङ छन् ।

४ सय १९ मतदाता रहेकोमा मतदान प्रक्रियामा ३ सय ५९ जनाले मतदान गरेका थिए । २ वर्षे कार्यकाल रहेको समिति १३ सदस्यीय समिति निर्वाचित भएका हुन् । संघको अधिवेशनमा प्रजातान्त्रिक र वामपन्थी गरी २ प्यानलबीच प्रतिस्पर्धा भएको हो । प्रजातान्त्रिक खेमाको नेतृत्व गरेका गुरुङको प्यानलले पदाधिकारीमा १ पदबाहेक सबैमा जित हासिल गरेको हो ।

कार्यक्रममा अध्यक्ष मण्डलका संयोजक शिवशंकर गौचनले नयाँ समितिले संस्थाको शाख जोगाउने गरी काम गर्न आग्रह गरे । ‘नयाँ कार्य समिति चयन गर्नका लागि सबैले सक्दो सहयोग गर्नुभएको थियो,’ उनले भने, ‘अब नवनिर्वाचित कार्यसमितिले संस्थालाई बलियो बनाउने गरी काम गर्नुस् मेरो शुभकामना छ ।’

नवनिर्वाचित अध्यक्ष लिलकाजी गुरुङले संघको संस्थागत र व्यावसायिक हितका लागि दत्तचित्त भएर लाग्ने बताए । उनले अग्रज, समकालीन र अनुज व्यवसायीलाई सँगै लिएर हिँड्ने बताए । निर्माण व्यवसायीको प्रमाणपत्र लिने तर काम गर्न नसकेकाहरूलाई काम गर्ने वातावरण बनाइदिने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा निर्वाचन मण्डलका संयोजक अधिवक्ता दीपकराज पौडेल, संस्थाका पूर्वअध्यक्ष तथा अध्यक्ष मण्डलका सदस्य मुक्तिप्रसाद तिमिल्सिना, शंकरराज बराललगायतले शुभकामना दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width