आलु किन्नेको घुइँचो

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०८०
potato

पोखरा । हेमजामा जारी १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा बुधबारसम्म करिब २० हजारले महोत्सव अवलोकन गरेका छन् । ९ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिना बताउँछन् । तीमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाइ छ । यसरी बुधबार साँझसम्म आलुको कारोबार ९ लाखभन्दा बढीको भएको छ ।

हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि मिठो हुने भएकाले अधिकांश उपभोक्तको रोजाइमा पर्दै आएको बुधबार महोत्सवस्थलमा आलु खरिद गर्दै गरेकी पर्वत मोदी गाउँपालिकाकी इन्दिरा शर्माले बताइन् ।

आलु खरिद गर्नका लागि कास्कीका विभिन्न भागसहित छिमेकी जिल्लाबाट मानिस आएका छन् ।

महोत्सवस्थल विष्णुपादुका खेल मैदानमा आयोजकलाई आलु बिक्री गर्न भ्याइनभ्याइ छ ।

महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको चौथो दिन बुधवार मात्रै ५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ ।

महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम समेत भएको छ । बुधबार कलाकार सम्झना लामिछाने मगर, जीवन दाहाल, पार्वती जिसी, शिवहरि ढुंगाना, रामजी पौडेल, मधु थापा मगर, यम नेपाली, यलिना रायमाझी तथा ओएआउट व्यान्डका प्रस्तुतिहरु रहे ।

बिहीवार प्रकाश दुतराज, जीवन दाहाल, तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरि ढुंगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा (पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारको प्रस्तुति रहनेछन् ।

रत्यौली गीत प्रतियोगिता पनि जारी छ । रत्यौलीतर्फ बुधबार देवीस्थान आमा समूह र कमलजौसी आमा समूहले प्रस्तुति राखे ।

बिहीबार प्रदेशस्तरीय कृषि प्रविधि प्रदर्शनी तथा मेला अन्तर्गत माटो तथा बाली संरक्षण विषयक विज्ञसँग अन्तरक्रिया कार्यक्रम पनि हुनेछ । विष्णुपादुका क्लबको आयोजनामा भएको महोत्सव ५ वैशाखसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width