पोखरा जेसिजको स्वर्ण जयन्तीमा वर्षैभरि कार्यक्रम

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०८०
Pokhara jaycees

पोखरा । आजभन्दा ५० वर्षअघि पोखराका युवाले स्थापना गरेको पोखरा जेसिजले यस वर्ष स्वर्ण जयन्ती मनाउँदैछ । ११ अप्रिल, १९७५ अर्थात् २०३१ चैत ३० मा स्थापना भएको पोखरा जेसिजले स्वर्ण जयन्ती अवसरमा वर्षैभरि विविध कार्यक्रम गरेर मनाउने भएको हो ।

पोखरामा सोमबार पत्रकार सम्मेलनमा स्वर्ण जयन्ती मूल संयोजक सुवास सिग्देलले युवाको नेतृत्व विकाससँगै सामाजिक क्रियाकलापमा पोखरा जेसिज क्रियाशील रहेको बताए । सन् २००५ का अध्यक्षसमेत रहेका उनले वर्षभरि हुने कार्यक्रमको फेहरिस्त सुनाए ।

पहिलो दिन यही ११ अप्रिल (२९ चैत) मा स्वर्ण जयन्तीको उद्घाटन समारोह हुनेछ । पोखरा रानीपौवास्थित जेसिज कार्यालयदेखि सुरु हुने र्‍याली रञ्जित इभेन्ट्स पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ । सो अवसरमा संस्थापकहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान लगायत कार्यक्रम गरिनेछ । यस्तै, सोही दिन स्वर्ण जयन्ती स्तम्भ र झण्डोत्तलन हुनेछ ।

यस्तै, वर्षभरिमा अनुकूल समयमा जेसिआई नेपाल बिजनेस एकाडेमी, जेसिआई पोखरा एकेडेमी स्थापना, चौतारी निर्माण, प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता, बृहत्तर पोखरा सरसफाइ अभियान, गाला डिनर, पिएनपी÷सेनेट मिट, मणिज्योति आधारभूत विद्यालय स्तरोन्नति, प्रकाशन, प्रवद्र्धन र सञ्चार लगायतको कार्यक्रम गर्ने तालिका समेटिएको छ । कार्यक्रमका लागि विभिन्न व्यक्तिलाई संयोजक, सल्लाहकार एवं सदस्य चयन गरिएको छ ।

विश्वमा सन् १९१५ अक्टोबर १३ मा गिसेनवियर र अन्य २२ युवा मिलेर वङ मेन्स प्रोगेसिभ सिभिक एसोसिएसन नामको संस्थापना भएको थियो । सोही दिनलाई विविवत् जेसिज संस्था स्थापनाको दिवसको रुपमा मनाइन थालिएको पाइन्छ ।

२०३१ फागुन ३ मा होटल याकमा जम्मा भएका २१ जना युवाको सामाजिक संस्था स्थापना गर्ने सोच अनुरुप केशवलाल श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो । पोखरा जेसिजको नाम विकलप्रसाद शेरचनले जुराएका थिए । पोखरामा पहिलो पल्ट रक्तदान कार्यक्रमको सुरुआत पोखरा जेसिजले नै गरेको श्रेय छ । सराङकोटमा सूर्यदर्शन टावर निर्माण गरेको जेसिजले पोखरा सभागृह, महेन्द्रपुल निर्माणमा पनि सहयोग गरेको पोखरा जेसिजले जनाएको छ । बेलाबेलामा स्वास्थ्य शिविर, युवालाई नेतृत्व तथा व्यक्तित्व विकासका तालिम, व्यवसाय प्रवद्र्धनका कार्य, जनप्रतिनिधिबीच ककस कार्यक्रम गर्दै आएको जनाएको छ । आजभन्दा ३० वर्षअघि पोखरा जेसिजले मिस पोखरा आयोजना गरेको थियो । यद्यपि उक्त व्युटि पेजेन्ट बेलाबेलामा रोकिन पुगेकोमा यो वर्षदेखि निरन्तरता दिने पोखरा जेसिज वर्ष–२०२४ का अध्यक्ष देवराज शर्माले बताए । पत्रकार सम्मेलनमा मीनाकुमारी थापाले जेसिजको आस्थापाठ वाचन गरेकी थिइन् भने स्वागत कार्यक्रम संयोजक शिव सुवेदी र सञ्चालन महासचिव तिलक लामिछानेले गरे ।

हाल विश्वमा १ सय २० राष्ट्रभन्दा बढीमा जेसिज क्रियाशील छ । जेसिजअन्तर्गत विश्वलाई ४ क्षेत्रमा विभाजित गरिएकोमा क्षेत्र ‘ए’ मा अफ्रिकाका राष्ट्रहरु पर्दछन् । ‘बि’मा एसिया, अष्ट्रेलिया र प्यासिफिक राष्ट्रहरु पर्दछन् । क्षेत्र ‘सि’ मा उत्तरी अमेरिकी राष्ट्र, दक्षिण अमेरिका र मध्य अमेरिकी राष्ट्र तथा ‘डि’ मा यूरोप राष्ट्र पर्दछन् । अन्तर्राष्ट्रिय जेसिज उपाध्यक्षमा पोखराका हरिकृष्ण बास्तोला निर्वाचित भएकोमा पछिल्लो पुस्तामा राजु केसी निर्वाचित भएका थिए । नेपाल जेसिजको नेतृत्वमा पोखराले हालसम्म हरिकृष्ण बास्तोला, विकलप्रसाद शेरचन, राजु केसी र रवीन्द्र गुरुङलाई पाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width