बेरोजगार युवाको कथा ‘डिग्री माइला’

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०८०
degree maila

पोखरा । रामबाबु गुरुङ निर्देशित नेपाली फिल्म ‘डिग्री माइला’ प्रदर्शन तयारीमा छ । यही ३० चैतदेखि अलनेपाल रिलिज हुन लागेको फिल्मबाट निर्माण युनिट निकै आशावादी देखिन्छ । त्यसो त रामबाबु गुरुङ ‘कबड्डी’ सिरिजका सफल फिल्मकर्मी हुन् ।

लोकप्रिय अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा अभिनीत यो फिल्मको ट्रेलरका कारण धेरै दर्शक फिल्म हेर्न आतुर छन् । जसमा बेरोजगार युवाको कथा बोलेको पाइन्छ ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कलाकार प्रकाश घिमिरेले पढेलेखेको व्यक्तिको चेतनाको स्तर समेत सिनेमा मार्फत देखाउन खोजिएको बताए । घिमिरेले डिग्री माइला नेपाली समाजको कथाव्यथा भएको बताए । नाटकमा हेरे तापनि दृश्यात्मक रुपमा सिनेमामार्फत अझ फरक पाउने उनको भनाइ छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भूमिकामा पोखरेली घिमिरेलाई देख्न सकिन्छ ।

पोखरेली कलाकार माओत्से गुरुङ डिग्री माइलामा दयाहाङ राईको बुबाको भूमिकामा देखिँदैछन् । उनले डिग्री माइला योग्यता प्राप्त गरेर बेरोजगार भएका युवाको कथा भएको उल्लेख गरे । सिनेमामा चर्चित कलाकारको सशक्त अभिनय भएकाले दर्शक निराश भएर फर्किनु नपर्ने दाबी गरे । पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको बताउँदै उनले फिल्मको सानो बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन नहुने विचार व्यक्त गरे ।

डिग्री माइलामा बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । निर्देशक रामबाबु आफैं देखिनेछन् । विशाल गुरुङ (एलजी), मनिराम पोखरेल, मधु मिजार र सुश्मा गुरुङको लगानी रहेको सिनेमाको कथा रामबाबुले नै लेखेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width